+
+

गरिबी घटाउने चिनियाँ अस्त्रः जग्गा सरकारको, घर व्यक्तिको

बेइजिङ घुम्दा देखिएको चिनियाँ समृद्धि

विनोद घिमिरे विनोद घिमिरे
२०७५ साउन २१ गते १२:२३
चीनको क्वीचो प्रान्तमा पर्ने लुइपान्सी सिटी ।

२१ साउन, काठमाडौं । चिनियाँ नेता देङ सियाओ पिङले भनेका थिए- बिरालो कालो होस् वा सेतो, उसले मुसा मार्न सक्नुपर्छ । मुसा मार्न सक्छ भने उसको रङमाथि बहस गर्नु जरुरी छैन ।

उनको अभिव्यक्तिको आशय विकास र समृद्धिका लागि आवश्यक आर्थिक मुनाफातर्फ थियो, समाजवादको मूल उद्देश्य आर्थिक-सामाजिक परिवर्तन थियो ।

माओले महान क्रान्तिमार्फत् आधुनिक चीनको जग बसाले, सियाओ पिङले आर्थिक विकासमार्फत भिमकाय चीनलाई समृद्धिमा लैजाने सपनाको खेस्रा तयार पारे भने हालका चिनियाँ राष्ट्रपति सी जिन फिङले समृद्धिको सपना साकार पार्दैछन् ।

माओपछिकै सर्वशक्तिमान नेताको दर्जा पाएका सीले समाजवादलाई अझ शक्ति प्रदान गर्नका लागि सी जिन फिङ विचारधारा स्थापित मात्र गराएनन् उनले आफ्नो विचारलाई चीनको संविधानमा लिपिबद्ध पनि गराए । र, पछिल्लो ५ वर्षयता चीनलाई नयाँ युगमा हिँडाइरहेका छन् । त्यसका लागि उनले अहिले मुख्य जोड गरिबी निवारणलाई दिएको आभाष प्रशस्त पाइन्छन् ।

राष्ट्रपति सी नेतृत्वको वर्तमान सरकारले सन् २०२० भित्र गरिबी निवारण गर्ने लक्ष्य लिएको छ । त्यसका लागि चिनियाँ कम्युनिस्ट पार्टी र सो पार्टीबाट सञ्चालित सरकारले आक्रामक कार्यक्रमहरु अघि बढाएको छ ।

तथ्यांक अनुसार चिनियाँ महान क्रान्ति ताका सो मुलुकको गरिबी झण्डै ८० करोड थियो । खुला अर्थनीति अबलम्बन गरेसँगै सन् २०१३ सम्म चीनको गरिबी ७ करोडको हाराहारीमा झरेको त्यहाँका सरकारी अधिकारीहरु बताउँछन् ।

तर, सी नेतृत्वको सरकारको आक्रामक कार्यक्रमकै नतिजा हुनसक्छ हाल चीनमा गरिबीको रेखामुनिको जनसंख्या ३ करोडको हाराहारीमा छ । सो जनसंख्या १ अर्ब ४० करोड जनसंख्या भएको चीनका लागि न्युन भएपनि सिंगो नेपाल वा बेइजिङ महानगरमा बस्ने सम्पूर्ण जनसंख्या बराबरको हो ।

सहकारी

चीनको गरिबी निवारणमा सहकारीले मुख्य योगदान गरेको छ । प्राय सबै गाउँमा सहकारी छन् । सहकारीमा हरेक व्यक्ति सदस्य छन् । चिनियाँ कम्युनिष्ट पार्टीको गाउँ समितिले तोकेको रकम उनीहरुले कोषमा जम्मा गर्छन् । त्यो रकम कुनै निश्चित क्षेत्रमा लगानी गरिन्छ । र, त्यसको प्रतिफल समानुपातिक रुपमा बाँडेर लिन्छन् ।

रोचक त के भने कसैसँग नगद नहुनसक्छ । तर नगद नभएकाहरुले पनि सेयर प्राप्त गर्ने आधार तय गरिएको छ ।

यसको एउटा राम्रो उदाहरण चीनको क्वीचो प्रान्तस्थित न्युजिआवो गाउँमा देख्न सकिन्छ । यहाँ आदिवासी पियु जातिको बसोबास छ । यहाँ तीन हजार ६ सय जनसंख्यामध्ये एक सय परिवार गरिब थिए । उनीहरु धनदौलतमा गरिब भए पनि परम्परागत सँस्कृतिमा धनि । त्यसैले यो गाउँलाई चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०१४ मा पर्यटकीय गाउँ बनायो र गरिबीको रेखाबाट माथि उठायो ।

परम्परागत पहिरनमा सजिएर पर्यटकहरुलाई स्वागत गर्दै पियु जातिका महिला तथा किशोरीहरु ।

उनीहरु पर्यटकहरुलाई आफ्नो मौलिक परम्परामा आधारित नाचगान देखाउँछन् । उनीहरुसँग पैसा नभएर के भयो र, नाच्ने गाउनेे कला छ । त्यही कला नै सहकारीको शेयर हो । सहकारी संस्थाले उनीहरुलाई पनि शेयर सदस्य बनाएको छ । उनीहरुको काम भनेको पर्यटकहरु गाउँ घुम्न आउँदा आफ्ना परम्परागत नाचगान र मौलिक पहिरनको प्रदर्शनमार्फत स्वागत गर्नु हो ।

उनीहरुले गाउँमा आफ्नै संग्रहालय पनि स्थापना गरेका छन् । संग्रहालयमा पियु जातिको लिपी, पहिरन, दैनिक जीवनमा प्रयोग हुने सामान, कृषि कर्ममा प्रयोग हुने औजारलगायतका सामाग्री अवलोकन गर्न पाइन्छ ।

संग्रहालय अवलोकन गर्दा नेपालका थारु समुदायको झझल्को आउँछ । माटोको चारमुखे ठूलो चूल्हो, काठको हलो, हेंगा (लिँडुल्को), ढकीया, छिटुवा, रंगीचंगी पोशाक आदि संग्रहालयमा छन् । संग्रहालय अवलोकन गरेर प्राप्त हुने शुल्क, परम्परागत नाच देखाए वापत पाउने रकम नै पूँजीको एउटा स्रोत हो ।

पार्टी कमिटीले गाउँमा स्वास्थ्य, शिक्षा, मनोरन्जनात्मक स्थल जस्ता आधारभूत आवश्यकताको निर्माण गरेको छ । त्यसबाहेक सहकारीले पसल र रेष्टुरेन्ट खोलेको छ र स्थानीयले रोजगारी पनि पाएका छन् ।

पर्यटन

चीनका गरिब जनताको जीवनस्तर उकास्न पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ । विकास निर्माणका काम पनि पर्यटक लक्षित छन् ।

नेपालका बिभिन्न जिल्लाहरुमा तातोपानीका कुण्ड भएजस्तै चीनको क्वीचो प्रान्त अन्तर्गत सुइछेङ्ग काउन्टीस्थित बाइचे गाउँमा तातोपानीको मुहान छ ।  त्यसको संरक्षण गर्दै भव्य होटल निर्माण गरिएको छ । मानिसहरु तोकिएको शुल्क तिरेर होटलभित्र स्विमिङ पुल जस्तो देखिने तातोपानीमा स्नान गर्छन् । तातोपानीमा स्नान गर्दा रोगव्याध निको हुने चिनियाँहरुको पनि जनविश्वास रहेछ । त्यसैले स्थानीय मात्रै होइन पर्यटकहरुको लागि पनि यो आकर्षक गन्तव्य बनेको छ । यसको भव्यता हेर्दा लाग्छ कुनै तारे होटल हो ।

होटल वरपर सुन्दर मनोरञ्जन पार्क छ अनि सरकारले नै बनाइदिएको व्यवस्थित बस्ती । कृषियोग्य जमिन पनि छ । यो पूरै क्षेत्र ३० हजार वर्ग मिटरसम्म फैलिएको छ । पार्कमात्र १९ हजार वर्गमिटरमा फैलिएको त्यहाँ खटिएकी एक पथप्रदर्शकले जानकारी दिइन् ।

कसैले पार्कमा, कसैले त्यही तातोपानी व्यावसायिक होटलमा रोजगारी पाएका छन् । कसैले आफ्नै पसल खोलेर व्यापार व्यवसाय गरेका छन् । तातोपानी होटेल, पार्क, बस्तीहरुमा घुमाउनका लागि इलेक्ट्रिक भ्यानको व्यवस्था छ । धेरैजसो भ्यान स्थानीय किशोरीहरुले चलाउँछन् ।

पहाडको फेँदमा अवस्थित यो बाइचे गाउँमा बस्ती बसाउनका लागि सरकारले सुरुमा ४० करोड चिनियाँ युआन खर्च गरेको थियो । पहिले यो क्षेत्रमा बस्ती थिएन । सन् २०१५ मा सरकारले नयाँ बस्ती बसालेको हो । फाट्टफुट्ट रहेका पुराना घरहरु पनि पुनर्निर्माण गरेर सरकारले उनीहरुलाई नै दिएको छ । चिल्ला, फराकिला र सफा सडक, सुन्दर पार्क, एकनासका घरहरु, जताततै हरियालीले सबैको मन लोभ्याउँछ ।

बाइचे गाउँ

गाउँ कमिटीको कार्यालय परिसरभित्र राखिएको शब्दचित्र सहितको साइन बोर्डबाट पहिले र अहिलेको बस्तीबारे विस्तृत जानकारी लिन सकिन्छ । बोर्डमा लेखिए अनुसार यो पर्यटकीय क्षेत्रमा २ अर्ब लगानी गर्ने लक्ष्य छ । सन् २०१८ सम्म १ अर्ब १० करोड लगानी भइसकेको छ ।

स्थानीय कर्मचारी मिस्टर लिउ भन्छन्, ‘पहिले यहाँका युवायुवती काम खोज्दै बाहिर जान्थे । घरमा बुढा बुवाआमा, हजुरबा हजुरआमा मात्रै हुन्थे । उनीहरुले दुःख पाउँथे । पार्टीले गाउँमा लगानी गरिदिएर विकास भएपछि यहीँ रोजगारीको सिर्जना भएको छ । अब युवायुवती काम खोज्न बाहिर जानु पर्दैन । उनीहरु आफ्नै परिवारसँग बसेका छन् ।’

सो गाउँ कमिटीका ९ जना सदस्यहरु मिलेर १० लाख चिनियाँ युआनको लगानीमा एउटा कम्पनी खोलेका थिए र त्यही कम्पनीले पर्यटकीय क्षेत्रमा सरसफाइ गर्ने, रुख रोप्ने, पूर्वाधार निर्माण गर्ने र मर्मतसम्भार गर्ने काम गरेको थियो । यो काममा स्थानीय मानिसहरु नै प्रयोग गरियो र उनीहरुले राम्रो पारिश्रमिक पनि पाए ।

यो कम्पनीमा हाल गाउँको सामूहिक पुँजी ३० लाख चिनियाँ युआन छ जुन जिल्लाकै अग्रणी संस्था हो ।

अहिले पर्यटकीय क्षेत्र बने पनि पुरानो परिचय कृषि पेशा यहाँका जनताले छाडेका छैनन् । यहाँका केही मानिसहरुले अझै पनि माहुरी पालन र चेरी उत्पादन लगायतका काम गर्छन् । करिब १२ हजार जनसंख्या भएको बाइचे गाउँमा सरकारी कार्यक्रमबाट मात्रै १ हजार ४ सय ६३ जना गरिबीको रेखामुनिबाट माथि उठिसकेका छन् ।

मनोरञ्जन पार्कमा कार्यरत ५४ वर्षीय याङ

बाइचे गाउँको मनोरञ्जन पार्कमा कार्यरत धेरै मजदुरहरुमध्ये एक हुन् याङ । ५४ वर्षीय याङ भन्छन्, ‘दैनिक आठ घण्टा काम गर्दा ९० युआन (१४ सयभन्दा बढी नेपाली रुपैयाँ) कमाउँछु । मेरो पाँच जनाको परिवार छ । श्रीमतीलाई आँखाको समस्या छ । यहाँको कमाइ अपुग छ । त्यही भएर मेरो जग्गा एउटा कम्पनीमा शेयरको रुपमा लगानी गरेको छु । छोराछोरीलाई सरकारले पढाइदिएको छ । उपचार पनि सरकारले नै गरिदिन्छ । घर बनाउन पार्टीले १० हजार युआन दियो । पहिलेको तुलनामा मेरो जीवनस्तर धेरै माथि उठेको छ ।’

जग्गा सरकारको, घर व्यक्तिको

क्वीचो प्रान्त अन्तर्गत कुईछेङ काउन्टीको युसे फरेस्ट पार्क पनि मानव निर्मित हो । यहाँ एउटा भब्य होटल छ । होटलको मुख्य गेटभित्र प्रवेश गर्नासाथ चिनियाँ मन्त्रीहरु भुरुङ नचाएर रमाइलो गरेको ठूलो तस्वीर राखिएको छ ।

होटल छेउँछाउँमा रहेका पहाडका हरिया थुम्काहरु हेर्दा नेपालको खप्तड क्षेत्रको झल्को आउँछ । होटल वरपरका बाँसका झ्याङ, छ्वालीले छाएका तथा काष्ठकलाले सजिएका पुराना घर, ढुंगाले छापेको बाटो हेर्दा तनहुँको बन्दीपुर पुगेजस्तै लाग्छ ।

हरेक घरमा केही न केही पसल व्यवसाय छ । कसैले फास्टफुड, कसैले चिनियाँ मौलिक पहिरन त कसैले फट्याङ्ग्राको परिकार बेच्न राखेका छन् ।

त्यो बस्तीलाई छिचोलेर अगाडि बढ्दा हाईपिङ यी जातीको बस्ती छ । परम्परागत पहिरनमा सजिएका किशोरी, बुढाबुढीहरुले समेत पर्यटकहरुको ध्यान तान्छन् । गाउँभन्दा माथि अग्लो स्थानमा हाईपिङ यी जातीको पूर्खाको ठूलो मूर्ति राखिएको छ ।

समाजवादको नमूना ‘छ्याङ्खु यीजा’ गाउँ

त्यो मूर्तिभन्दा तल सुन्दर बस्ती छ । यो समाजवादको नमूना ‘छ्याङ्खु यीजा’ गाउँ हो । यसको अर्थ हो हजारौं बस्न सक्ने यी जाती । गरिबी निवारण कार्यक्रम अन्तरगत यी जातीका ६ हजार परिवारका लागि यहाँ बस्ती बसाइँदैछ । तर, अहिले ६ सय परिवार बस्दै आएका छन् ।

यो एउटा सानो शहर जस्तै छ । यहाँ सुपरमार्केट, साना पसलदेखि शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, सेवा केन्द्र लगायतका सबै आधारभूत सुविधा छ । यहाँ नजिकै ठूलो हाईवे छ । रेल-वे निर्माणकोे काम पनि चलिरहेको छ । जग्गा सरकारको हुने भएकाले सडक वा कुनै भौतिक संरचनाले ओगट्ने क्षेत्रको मुआब्जा दिनुपर्ने झन्झट छैन ।

यो गाउँ क्वीचो प्रान्तको राजधानी क्वीयाङभन्दा २ सय किलोमिटर टाढा पर्दछ । यहाँ विभिन्न विकट क्षेत्रका गरिब परिवारलाई स्थानान्तरण गरिएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको यो गाउँका बासिन्दाले आधारभुत शिक्षा निःशुल्क पाउँछन् भने उच्च शिक्षा हासिल गर्नका लागि सरकारले बिना व्याज ऋण दिन्छ । हरेक नागरिकको स्वास्थ्य बीमा गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी बिदेश विभागकी सदस्य यु आले दिएको जानकारी अनुसार यो समाजवादी नमूना गाउँमा सरकारले २० करोड युआन लगानी गरेको छ ।

यहाँका वासिन्दालाई सरकारले प्राविधिक तालिम दिएको छ । सिपमुलक तालिम लिएकाहरु आत्मनिर्भर छन् । उनीहरु कम्तिमा मासिक सात हजार युआनसम्म कमाउँछन् ।

सरकारले परिवारको संख्याको हिसाबले घर निर्माण गरिदिएको छ । जग्गा सरकारको स्वामित्वमा हुन्छ तर घर भने व्यक्तिको नाममा । समाजवादको नमूना गाउँको २०१ नम्बर घरमा बस्छिन् काओ सु साङ । उनी पहिले क्लिनरको काम गर्थिन् । अहिले दुई तले घरको धनी बनेकी छन् । बैठक कोठामा चिनियाँ राष्ट्रपति सी जिन फिङसहितका नेताहरुको सामूहिक फोटो झुण्डाएकी उनले त्यसको छेउँमा आफ्नो पुरानो घर र अहिले बस्दै आएको नयाँ घरको फोटो पनि राखेकी छन् ।

उनी भन्छिन्, ‘माथिल्लो तलामा मेरो परिवार छ । भुइँ तलामा पसल छ । श्रीमानले पसल चलाउँछन् । त्यहाँबाट दैनिक ५-६ सय युआन कमाइ हुन्छ । अहिले हामीलाई जीवन जिउन सहज भएको छ ।’

काओ सु साङ

मनग्य लगानी र प्रतिफल

चिनियाँ नयाँ युगको झल्को हरेक गाउँ, गल्ली र शहरी क्षेत्रमा पनि देख्न र अनुभूत गर्न सकिन्छ । लुइझी विशेष क्षेत्रमा यस्तै एउटा सानो याङचिआयो शहर छ । यहाँ पुरानो बसोबास भएको एउटा सुन्दर गाउँ छ । पहिले यहाँ धेरै गरिबी थियो ।

सन् २०१४ मा यहाँ पर्यटकीय गाउँ निर्माण सुरु भयो र सन् २०१५ मै त्यो काम सम्पन्न भयो । यो पर्यटकीय गाउँको आधारभूत संरचना जस्तै बाटो, पुल, पार्क, घरहरु बनाउनका लागि चिनियाँ सरकारले पहिलो चरणमा ८० करोड चिनियाँ युआन लगानी गर्यो । पछि स्थानीय पार्टी कमिटीले निजी कम्पनीलाई भित्रायो । ताइवानको एक कम्पनीले अहिले यहाँ चाउचाउ कम्पनी खोलेको छ । पार्टी कमिटी र गाउँ कमिटीसँग सम्झौता गरेर त्यो उद्योगले काम गर्दै आएको छ ।

चाउचाउ उद्योगलाई आवश्यक पर्ने गहुँ यहाँकै किसानले उत्पादन गर्दछन् । जति धेरै उत्पादन गरे पनि खेर जाँदैन । सबै उद्योगले नै किन्छ । आफ्नो उत्पादन बिक्दैन कि भनेर कुनै किसानले चिन्ता लिनु पर्दैन । मानिसहरु गहुँ बेचेरै पैसा कमाइरहेका छन् । उनीहरुले कम्पनीमा काम पनि पाएका छन् । केहीले आफ्नो जग्गा कम्पनीलाई भाडामा दिएका छन् ।

करिब ६५ वर्ष पुगेका वाङ योङ साङ स्थानीय कवि हुन् । उनी विगत र वर्तमान तुलना गर्दै भन्छन्, ‘यहाँ पहिले नुनको मात्र व्यापार हुन्थ्यो । मानिसहरु सानासाना पसलहरु राखेर बस्थे । अहिले उनीहरु त्यो व्यवसाय छोडेर पर्यटन व्यवसाय रोजेका छन् । पर्यटकीय गाउँ निर्माण भएपछि गाउँको मुहार नै फेरिएको छ । यहाँ दैनिक ३-४ हजार पर्यटकहरु घुम्न आउँछन् । गाडी चलाएर परिवारका सदस्यहरुसहित रात विताउन आउँछन् । यहाँ १० भन्दा बढी होटल र रेष्टुरेन्टहरु छन् ।’

सन् २०१४ अघिसम्म यो गाउँमा ७० घर परिवार गरिब थिए । अहिले त्यो घटेर १० जना परिवारमा सीमित छ । हाल गरिब भनिएकाहरु शारीरिक रुपमा अशक्त र बिरामीहरु हुन् । उनीहरु काम गर्न सक्दैनन् । त्यसैले उनीहरुलाई मद्दत गर्न सरकारले हरेक महिना पैसा दिन्छ ।

यहाँका वृद्धहरु घरमै बसीबसी सानोतिनो काम गर्छन् । केहीले सिन्के चाउचाउ बनाएका छन् । तिनै मध्येका एक जनाले आफ्नो घरको पिँढीमा आफूले बनाएको सिन्के चाउचाउ बेच्न बसेका छन् । गाउँ घुम्न आउने पर्यटकहरु उनका ग्राहक हुन् ।

पहिले चिनियाँ रेड आर्मीमा कार्यरत रहेको बताउने एक वृद्ध । आजभोलि उनले सिन्के चाउचाउ बनाएर बेच्ने गरेका छन् ।

घरमा पसल थापेर बसेका करिब ६० वर्षीय एक वृद्धले भने, ‘यो पसल खोलेपछि हरेक महिना ३ हजार कमाएको छु । केही काम नगरी बस्न मन लाग्दैन । त्यहि भएर चाउचाउ बनाउने काम गर्छु ।’

उनले पहिले आफू चिनियाँ ‘रेड आर्मी’मा कार्यरत भएको पनि बताए ।

पहिले पहिले चिनियाँ सरकारले गरिब घर परिवारलाई पैसा बाँड्थ्यो । पैसा छउन्जेल परिवारमा रमझम, पैसा सकिएपछि फेरि उस्तै गरिब । यो नियतिपछि पैसा बाँड्ने होइन, पैसा कमाउन सिकाउन थालियो । चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु र सरकारी कर्मचारीहरु सिपमुलक तालिम दिन र प्राविधिक सहयोग गर्न परिचालित छन् ।

जनतासँगै बस र सेवा गर 

धनीले गरिबलाई र सम्पन्न क्षेत्रले विपन्न क्षेत्रलाई सहयोग गर्ने चीन सरकारको अनिवार्य नीति छ । यसअनुसार पार्टीका नेताहरुले गरिब घर परिवारलाई आर्थिक र भौतिक सहयोग गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका हरेक सदस्यले तीन जना गरिबको जिम्मा लिनुपर्छ र सहयोग गर्नुपर्छ । हरेक महिना चार पटक स्थानीय पार्टी सदस्यहरुलाई भेटेर उनीहरुको आवश्यकता के हो, दैनिक जीवनमा के कस्ता समस्या आइपरेका छन् भनेर सोधपुछ गर्नुपर्छ । त्यसको रिपोर्ट माथिल्लो कमिटीलाई बुझाउने र माथिबाट आएको सहयोग लक्षित वर्गसम्म पुर्याउने नियम बनाइएको छ । डाक्टर, इन्जिनियर लगायत उच्च वर्गकाले पनि गरिब परिवारको जिम्मा लिएका छन् ।

नेताहरुको सहयोगमा गरिबीको रेखाबाट माथि उठेकी वाईबा

क्वीचो प्रान्तको लाङ्शाओ गाउँका हरेक गरिब घर परिवारमा चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुको सहयोग छ । घरको भित्तामा एउटा बोर्ड राखिएको छ । बोर्डमा घरमुलिको फोटोसहित परिवारका सदस्यहरुको नामावली छ । गरिब हुनुको कारण पनि उल्लेख छ । साथै त्यो परिवारलाई सहयोग गरेका नेताहरुको फोटोसहितको सूची छ । त्यसमा कुन-कुन नेताले, कहिले, के-के सहयोग गरे भन्ने कुरा स्पष्ट रुपमा लेखिएको छ ।

नेताहरुको सहयोग पाएर गरिबीको रेखाबाट माथि उठेकी वाईबाले भन्छिन्, ‘मसँग पहिले एककोठे सानो झुप्रो बाहेक केही थिएन । अहिले सरकारले बनाइदिएको तीनतले घर छ । गाउँमा सरसफाइको काम गर्छु, त्यसबाफत मासिक एक हजार युआन पाउँछु । श्रीमानले पनि १-२ हजार कमाउँछन् ।’

उनको घरभित्र सोफा, दराज, टेलिभिजन, राइस कुकुर, इलेक्ट्रिक चुल्हो लगायतका दैनिक जीवन चलाउन आवश्यक पर्ने सबै सामानहरु छन् । तीन तले घरको धनी बने पनि उनले गाउँ टोल सफाइको काम छोडेकी छैनन् ।

उनी गरिब हुनुको कारणमा एक छोरा र दुई छोरीको पढाईमा बढी खर्च लागेकोले भन्ने वाक्यांश घरको भित्तामा राखिएको बोर्डमा उल्लेख गरिएको छ । ‘विश्वविद्यालय तह पढ्नलाई १०-२० हजार युआन चाहिन्छ । त्यसैले हाम्रो समस्या समाधानको लागि सरकारले ६-७ हजार युआन दिएको छ । बिना व्याज ऋण दिएको छ । त्यो ऋण भने उनीहरुले पढेर जागिर खाइसकेपछि तिर्नुपर्छ,’ उनले भनिन् ।

चिनियाँ जनयुद्धमा मारिएका सेनाहरुको संख्याभन्दा बढी संख्यामा भ्रष्टाचारमा संलग्न सेनाका उच्च अधिकारीहरु कारवाहीमा परेका छन् । धेरैजसोलाई मृत्युदण्ड नै दिइएको छ

कडा कानुन र त्यसको कार्यान्वयन

समाजवादको मुख्य चुनौति गरिबी हो । त्यसैले भौतिक पूर्वाधारको विकास मार्फत् गरिबी निवारण गर्नेतर्फ चीन सरकार वास्तवै गम्भीर रुपमा लागेको देखिन्छ । गरिबी निवारण कार्यक्रम सँगसँगै कडा कानुनहरु पनि निर्माण गरेर कार्यान्वयन गरिएको छ । त्यसक्रममा ‘बाघ पनि मार्नुपर्छ, लामखुट्टे पनि मार्नुपर्छ’ भन्ने चिनियाँ उखान अनुसार काम भइरहेको छ । त्यो भनेको के हो भने तल्लो तहका नेता-कार्यकर्तालाई मात्रै कारवाही होइन, उच्चस्तरका नेताहरुलाई पनि कारवाही गरिएको छ । कतिलाई त मृत्युदण्ड नै दिइएको छ ।

मन्त्रीस्तरीय १५९ जना नेताहरु कारवाहीमा परेका छन् । मन्त्रीभन्दा तलका २ हजार ८ सय जना कारवाहीमा परेका छन् ।

सी नेतृत्वमा आउनुभन्दा अगाडिसम्म चीनमा भ्रष्टाचारको अवस्था निकै गम्भीर भएको अधिकारीहरु बताउँछन् । चिनियाँ सेनामा पनि भ्रष्टाचार थियो र छ । अरु देशमा सेनालाई कारवाही गर्ने आँट गरिँदैन । भ्रष्टाचार भएको थाहा हुँदाहुँदै पनि चुप लागेर बस्ने गरिन्छ तर चीनमा सेनाका जनरलहरुसमेत कारवाहीमा परेका छन् । ‘चिनियाँ जनयुद्धमा मारिएका सेनाहरुको संख्याभन्दा बढी संख्यामा भ्रष्टाचारमा संलग्न सेनाका उच्च अधिकारीहरु कारवाहीमा परेका छन् । धेरैजसोलाई मृत्युदण्ड नै दिइएको छ,’ चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग अन्तर्गत नेपाल, भारत र भुटानलाई हेर्ने युनिटका उपप्रमुख साओ लियाङ भन्छन् ।

उनी अगाडि भन्छन्- चीनलाई विश्वका कुनै देशसँग प्रतिस्पर्धा गर्नुछैन, कसैलाई लिड गर्नुछैन । हामीलाई त केबल चिनियाँ जनतालाई कसरी धनी बनाउने भन्ने चिन्ता छ ।

चीनको विकास, प्रविधि, अनुशासन, समयको पालना र गरिबी निवारणका लागि उनीहरुको लडाइँ हेर्दा लाग्छ चीनले साच्चै नै चमत्कार गरेको छ । त्यो चमत्कार उसले शालिन ढंगले गरेको छ । अब पालो बाहिरी संसारको, जसले त्यो शालिन चमत्कार हेर्नेछ ।

(बेइजिङबाट फर्केर)

लेखकको बारेमा
विनोद घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?