Comments Add Comment

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र शिक्षाध्यक्षबीचको लफडा उत्कर्षमा


२५ साउन, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. रतिन्द्रनाथ श्रेष्ठ तथा उपकुलपति प्रा. डा. संगीता भण्डारीबीचको विवाद सतह पोखिएको छ । रतिन्द्रले राजीनामा दिएको बताए पनि भण्डारीले यसबारे जानकारी नआएको र उनलाई हाजिर हुन सार्वजनिक सूचना निकालिएको बताएकी छिन् ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. रतिन्द्रनाथ श्रेष्ठले प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारीमाथि अनियमिताको आरोप लगाएपछि उनीहरुबीचको विवाद उत्कर्षमा पुगेको हो ।

स्रोतहरुका अनुसार रतिन्द्र पूर्वमाओवादी एवं हाल नेकपा निकट हुन् भने डा. भण्डारी कांग्रेस निकट हुन् ।

रतिन्द्र्रले प्रतिष्ठानका उपकुलपति डा. भण्डारीमाथि शिक्षक तथा कर्मचारी सेवा नियमावली सिनेटबाट पास नहुँदै कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाएको, स्वास्थ्य मन्त्रालयको स्वीकृति पत्र नलिई अस्पताल हस्तान्तरणका लागि दवाब दिएको, अस्पतालको भौतिक पूर्वाधारहरु तयारीविना नै महंगा–महंगा मेडिकल उपकरणहरु खरिदका लागि बोलपत्र आवहान गरेको जस्ता आरोप लगाउँदै आएका छन् ।

त्यस्तै, जग्गाको स्वामित्व हस्तान्तरण प्रक्रिया सुरु नहुँदै भवन निर्माणार्थ डीपीआरको लागि कन्सल्टेन्ट नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको, डीपीआरका लागि स्पेसिफिकेसन तयार पार्न नियुक्ति गरेका कन्सल्टेन्टलाई नै डीपीआर टेन्डरका लागि समावेश गराई प्रक्रिया अघि बढाएको आरोप लगाउँदै उपकुलपति भण्डारीलाई पदबाट बर्खास्त गर्नुपर्ने मागसहित प्रतिष्ठानका सहकुलपति तथा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसमक्ष रतिन्द्रले उजुरीसमेत गरेका छन् । उनले यसको बोर्धाथ प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीलाई समेत पठाएका छन् ।

मन्त्रिपरिषदले गत निर्वाचनका बेला तत्कालीन देउवा सरकारबाट गरिएका नियुक्तिहरु खारेज गर्ने निर्णयहरु गरे पनि डा. भण्डारीले दैनिक काम कारवाही गरिरहेको रतिन्द्र पक्षको आरोप छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बीचको झगडा चर्किदै जाँदा पदमुक्त भएको तीन हप्ता बितिसक्दा पनि प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीलाई दैनिक कार्य सञ्चालन गरेको आरोप लाग्दै आएको छ । तर, भण्डारीले सम्बन्धित कार्यालयबाट पत्र नपाएकै कारण आफू प्रतिष्ठानको दैनिक कार्यमा संलग्न हुँदै आएको बताएकी छिन् ।

‘सरकारले ब्यांकेट निर्णय गरेपछि पनि चिठ्ठी थमाएको छैन । र, पत्र नथमाएको दिनसम्म हामी यहीँको कर्मचारी हुने भएकाले यहाँको नियमित कार्य गर्नु हाम्रो दायित्वभित्र पर्छ’, प्रतिष्ठानकी उपकुलपति भण्डारीले भनिन् ।

 

 

गत २० असार गते बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सिलसिलामा निर्वाचन आयोगबाट आचारसंहिता लागू भएको मिति १४ भदौ ०७४ देखि २ फागुनसम्मको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । डा. भण्डारीका अनुसार मन्त्रिपरिषदको बैठकले उनलाई २६ मंसिर ०७४ गते उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उता प्रथम सिनेट बैठकको निर्णय तथा तात्कालीन मन्त्रीको निर्देशनअनुसार नै अस्पतालको हस्तान्तर प्रक्रिया सुरु गरेको जनाउँदै प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले यसमा कतैबाट पनि अनियमितता नभएको दाबी गर्दै आइरहेकी छिन् ।

विना भौतिक पूर्वाधार महंगा मेडिकल उपकरणहरु खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको विषयमा शिक्षाध्यक्ष रतिन्द्रकै अध्यक्षतामा बसेको बैठकले उनकै हस्ताक्षरमा नै सय बेडको अस्पतालका लागि चाहिने उपकरणको लिस्ट नै बनाएको डा. भण्डारीको तर्क छ ।

भण्डारी भन्छिन्, ‘त्यसबेला अस्पताललाई के के उपकरण चाहिन्छ भनेर डाक्टरहरुसित बसेको छलफलमा उहाँ (रतिन्द्र) स्वयं पनि उपस्थित हुनुहुन्थ्यो । उहाँहरुले बुझाएको लिस्टकै आधारमा खरीद प्रक्रिया अगाडि बढाएको अवस्थामा उहाँले त्यस्ता आरोप लगाउनु तर्कसंकत छैन ।’

स्रोतका अनुसार प्रतिष्ठानको शिक्षाध्यक्ष हुदाँदेखि डा. रतिन्द्र आईओएमको निर्देशक वा डीन पदका दाबेदार थिए । यसका लागि उनका बाधक थिए आईओएमका डीन डा. जगदीश अग्रवाल ।

अहिले उनी प्रतिष्ठानकी उपकुलपति डा. भण्डारीलाई पन्छाएर आफू उपकुलपति हुने दाउमा भण्डारी निकट सूत्रको आरोप छ । स्रोतका अनुसार यसका लागि उनले गत असार २४ गते स्वास्थ्य मन्त्रालयमा पुगेर राजीनामा पत्र बुझाएको बताएका छन् । तर, भण्डारीका अनुसार यसबारे प्रतिष्ठान न त मौखिक जानकारी दिइएको छ, न त लिखितरुपमा नै प्रतिष्ठान सामु निवेदन नै दर्ता गराएका छन् । उनले प्रतिष्ठानबाट विदाको पनि स्वीकृति नलिएको भन्दै प्रतिष्ठानले उनलाई उपस्थित हुन सूचना निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment