Comments Add Comment

दाहाल यज्ञनिधि: डायलासिस जीवनको दुःखद अन्त्य

२५ साउन, काठमाडौं । शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका थिए ।

मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिसका २३ वर्ष बिताएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधि मस्तिष्काघातका कारण अस्पतालको सघन उपचार कक्षमा अचेत अवस्थामा थिए ।

मस्तिष्कको शल्यक्रिया गर्ने या नगर्ने, गरेर उनको जीवन बच्न सक्ने-नसक्ने वा शल्यक्रिया गर्दा नियमित डायलासिसलाई असर पर्ने त होइन भन्ने जिज्ञासा परिवारका सदस्य र चिकित्सकहरुबीच छलफल चलिरहेको थियो । बिरामीलाई भेट्नका लागि उहाँका श्रीमती र परिवारका सदस्यलाई पनि दिइएको थिएन ।

उनको समग्र अवस्था हेरेर श्रीमती सुधा दाहाल र चिकित्सक डा वसन्त पन्त सहितको टोलीले मस्तिष्कको शल्यक्रिया नगरी नियमित डायलासिससहित अब्जर्भेसनमा राख्न धापाखेलको सुमेरु अस्पतालमा ‘रेफर’ गर्ने निर्णय गरेको थियो । अन्ततः साँझ दाहाललाई बचाउन नसक्ने घोषणा चिकित्सकले गरिदिए ।

पछिल्लो समय रेडियो अन्नपूर्णमा हरेक शनिबार प्रसारित हुने ‘जदाै’ कार्यक्रमको सञ्चालक रहेका यज्ञनिधिलाई साहित्य र पत्रकारिताका खरो स्वभावका देशभक्त र राष्ट्रवादी स्रष्टाका रुपमा लिइन्छ । झर्राेवादी शैलीका दाहालले लामो समय दरबार हाई स्कूलमा नेपाली विषयको शिक्षण पनि गरेका थिए ।

“कार्यक्रम सञ्चालनबापत मासिक तलब लिएर पत्रकार र कर्मचारीलाई चिया ख्वाउनुहुन्थ्यो । उहाँ यसपल्टको शनिबारको कार्यक्रम सञ्चालनको तयारीमा हुनुहुन्थ्यो तर अचानक हामीले उहाँलाई गुमाएका छौँ,” रेडियोका स्टेशन म्यानेजर एवं साहित्यकार ठाकुर बेल्वासेले भने । मृत्युलाई पटक पटक नजिकबाट नियाँले पनि बाँच्नुको कलाबारे बोल्नु पर्दा थकित नहुने दाहाललाई युवा पुस्ताका स्रष्टा र सञ्चारकर्मीले पनि उद्घोषणकला र साहित्य सिर्जनाबारे सम्मानका साथ लिने गरेका छन् ।

साहित्यकार रेडियोकर्मी यज्ञनिधिको भौतिक शरीर नरहेसँगै उनले रेडियो तरङ्गमा छाडेर गएका साहित्यिक वाणीहरु अमर भएका छन् ।

खोटाङको धारापानीमा २०१० साल साउन ८ गते जन्मेका दाहाल २०३० सालमा साहित्यमा लागेका उनी २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बने । २०५७ फागुन १० मा मिर्गाैला प्रत्यारोपणका कारण साहित्यिक कार्यक्रमको यात्रामा अल्पविराम लागेको थियो ।

पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक भएर, लोक जनजीवनका साहित्य, संस्कार, स्वर र शैलीलाई टिप्दै ‘जदौँ स्रोता, जदाै, खुल्यो साहित्य संसारको दैलो’ भन्ने यज्ञनिधिलाई गाउँ गाउँका बूढापाकाले समेत सम्झन्थे । पछिल्लो दशकका उहाँलाई अभिनन्दन गर्न गठित आयोजक समितिको ग्रन्थ, साहित्यकार रमेश शुभेच्छुको सम्पादनमा प्रकाशित ‘जदाै’ कृति भयो भने पछि ‘जदौँ’ साझा प्रकाशनले उनको निबन्ध प्रकाशन गरेको छ ।

बोलीमा मिठास अनि भाषामा लयात्मकता र झर्राेपना अनि गणतान्त्रिक विचारले परिस्कृत यज्ञनिधिले लोकतान्त्रिक साहित्यिक आन्दोलनका समयमा आफ्नो अनामनगरस्थितको निवासलाई गणतन्त्र काव्यटार घोषणा गरेको विशेष स्मरणीय मानिन्छ । नाम नभएको नगरका रुपमा अनामनगरको नाम पनि दाहालले राखेका थिए ।

नागार्जुन साहित्यिक प्रतिष्ठानका सल्लाहकार हुँदै लोकतान्त्रिक साहित्यकार सङ्घ र पछि लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चलाई अस्तित्वमा ल्याई सक्रिय गराउन उहाँले जनताको सत्ता र लोकजीवनको सधैँ वकालत गरे । “दासता र रैतीबाट मानिसलाई नागरिक बनाउनुपर्छ भन्ने त्यसबेला देखिकै मेरो अभियान हो । शरीरले साथ दिएको भए अहिले पनि त्यसलाई निरन्तरता नै दिने थिएँ,” उने भन्ने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment