Comments Add Comment

प्रदेश ५ का जिल्ला कमिटी एकीकरणमा माधव नेपाल पक्षको असन्तुष्टि

सिन्धुपाल्चोकमा ओली पक्षलाई निमिट्यान्न पारिएको आरोप

१ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटी चयनका क्रममा तत्कालीन एमालेभित्रको गुटबन्दीले विवाद उत्पन्न भएको छ । प्रदेश ५ का १२ मध्ये ७ जिल्लाको नेतृत्व तत्कालीन एमालेले र ५ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाउने सहमति भएको थियो ।

सहमतिअनुसार तत्कालीन एमालेको तर्फबाट जिल्ला अध्यक्ष चयन भएका दाङ, अर्घाखाँचीमा माधव नेपाल पक्षले असहमति जनाएको छ । त्यस्तै बाँकेमा पनि पूर्वएमालेभित्रै विवाद भएको छ ।

प्रदेश ५ को कार्यदलले बिहीबार महासचिव बिष्णु पौडेललाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रदेश अध्यक्षमा पूर्वएमालेका दलबहादुर राना र पूर्वमाओवादीका गणेशमान पुनमध्ये एकलाई बनाउन सिफारिस गरिएको छ ।

पूर्वएमालेले पाएका जिल्ला अध्यक्ष चयनमा मापदण्ड नबनाइएको र यसअघिको गुटका आधारमा व्यवहार गरिएको भन्दै माधव नेपाल पक्षका नेताहरुले असहमति जनाएका छन् । उनीहरुले स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री शंकर पोखरेलले पुर्वाग्रह साँधेको आरोप लगाएका छन् ।

दाङको अध्यक्ष पूर्व एमालेले पाउने भएपछि टीकाराम खड्का साबिककै अध्यक्ष भएकाले उनैले पाउनुपर्ने दावी नेपाल पक्षको छ । सोही मान्यताअनुसार प्युठानमा तुलसीराम शर्मा अध्यक्षमा निरन्तर भएका छन् ।

तर, दाङमा भने खड्का नेपाल पक्षका भएकाले उनलाई अन्याय गरेर शिव आचार्यलाई अध्यक्ष प्रस्तावित गरिएको आरोप नेपाल पक्षको छ । आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाइ हुन् । नेपाल पक्षले खड्कालाई नै अध्यक्ष बनाउनुपर्ने माग गरेको छ ।

त्यस्तै अर्घाखाँचीमा पनि उपाध्यक्ष जीवराज कोइराला र सचिव रामवहादुर चौहानलाई पाखा लगाएर पिताम्बर भुसाललाई अध्यक्ष प्रस्तावित गरिएको भन्दै नेपाल पक्षले बिरोध जनाएको छ । अर्घाखाँचीको अध्यक्ष पूर्व एमालेले पाए पनि हालका अध्यक्ष चेतनारायण आचार्य प्रदेशसभा सदस्य भएकाले पार्टीको मापदण्ड अनुसार सांसदहरु जिल्ला अध्यक्ष बन्न पाउँदैनन् ।

उता बाँकेको अध्यक्ष पूर्वम माओवादीले पाएपछि सचिव पूर्व एमालेले पायो । सचिवको दाबेदार हालका उपाध्यक्ष निरक गुरुङ र रत्न खत्री थिए । उनीहरु नेपाल पक्षका भएकै कारण कमिटी बाहिरबाट गोपाल गिरीलाई सचिव प्रस्तावित गरिएको भन्दै बिरोध भएको छ ।

असन्तुष्ट पक्षले पार्टी हेडक्वार्टरमा असहमति दर्ज गरेको छ । कार्यदल सदस्य तथा नेकपा नेता दलवहादुर रानाले भने बिधि र प्रक्रिया अनुसार जिल्ला कमिटीहरुको सिफारिसमै नाम तय भएको बताए । उनले यसमा मुख्यमन्त्री पोखरेलको अतिरिक्त चासो नरहेको दावी गरे ।

यसैबीच सिन्धुपाल्चोकमा पनि पूर्व एमाले समूहमै चरम विवाद भएपछि जिल्ला कमिटी सदस्यहरु चयन विवादमा परेको छ । सिन्धुमा भने माधव नेपाल पक्षले केपी ओली पक्षलाई पेलेको गुनासो केन्द्रमा आएको छ ।

जिल्ला इन्चार्ज शेरबहादुर तामाङ र अध्यक्ष झम्क नेपाल मिलेर पूर्व एमालेबाट जिल्ला कमिटीमा रहने सदस्यहरुको नाम छनौट गर्दा ओली पक्षलाई निमिट्यान्न पारेको आरोप छ । झम्क नेपाललाई अध्यक्ष बनाउन सजिलो हुने गरी उनका प्रतिस्पर्धीहरुलाई जिल्ला कमिटीमै समावेश नगरेको अशन्तुष्ट पक्षले जनाएको छ ।

सिन्धुपाल्चोकको अध्यक्ष पूर्वएमालेले पाउने भएपछि झम्क नेपाल,बालकृष्ण देउजा लगायतका नेता दाबेदार थिए । जिल्ला सदस्यहरुको ७३ जनाको नाम तय गर्न शेरबहादुर तामाङ, शरेस नेपाल, हस्त पण्डित र झम्क नेपाललाई जिम्मा दिइएकोमा सरेश र हस्तलाई थाहा नदिई एकलौटी नाम सिफारिस गरिएको असन्तुष्ट नेताहरुको विज्ञप्तिमा उल्लेख छ ।

असन्तुष्ट पक्षले एकलौटी गरिएको सिफारिस स्वीकार नगर्ने भन्दै केन्द्रमा उजुरी दिएका छन् । जिल्लाका ओली पक्षीय बरिष्ठ नेताहरु हस्त पण्डि, होमनारायण श्रेष्ठ, बालकृष्ण देउजा, शशीनाथ आचार्यै, अशोक चौलागाई चरीवहादुर तामाङ, ईश्वर तिमल्सिना र माधवप्रसाद आचार्यले संयुक्त विज्ञप्ति जारी गरि सिफारिस अमान्य भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment