Comments Add Comment

रुपन्देहीमा अन्तरपालिका यातायातः करोड मूल्यका ४८ बस गुडाइने

सांकेतिक तस्वीर

२ भदौ, बुटवल । रुपन्देहीमा अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ । रुपन्देहीका ९ वटा स्थानीय तहका जनतालाई स्तरीय यातायात सेवा दिने उद्देश्यले यस्तो अवधारणा ल्याइएको हो ।

अन्तरपालिका यातायातले रुपन्देहीका बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, कञ्चनगाउँपालिका, गैडहवा गाउँपालिका, सियारी गाउँपालिका, मायादेवी गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकालाई जोड्ने छ ।

नौवटा स्थानीय तहलाई रिङरोडले जस्तै गरी जोड्ने सडकको लम्बाई ८० किलोमिटर हुनेछ ।

मुलुकमै नयाँ दावी गरिएको यो अवधारणालाई मूर्तरुप दिन सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको संयोजकत्वमा एक समिति बनाएर छलफल अघि बढाइएको छ ।

यस विषयमा आठवटै स्थानीय तहका प्रमुखहरुका विचमा छलफल भई सार्वजनिक-निजी साझेदारी -पीपीपी) मोडलमा सेवा सञ्चालन गर्ने सैद्धान्तिक सहमति समेत भएको संयोजक कार्कीले बताए ।

गाउँ-गाउँमा स्तरीय सार्वजनिक यातायातको पहुँचबाट टाढा रहेका सेवाग्राही, विद्यार्थी, शिक्षक र कर्मचारीलाई समेत लक्षित गरेर अन्तरपालिका यातायात सेवा सुरुआत गर्न  ९ वटै स्थानीय तह सहमत भई तयारी थालिएको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले जानकारी दिए ।

यातायात सेवा सञ्चालन हुने ८० किलोमिटर मध्ये ९५ प्रतिशत भन्दा बढी सडक बनिसकेको छ । सडक निर्माण कार्य पूरा भैसकेपछि रुट निर्धारण, इजाजत लगायतका विषयमा स्थानीय तहबाट नै पहल गरिने र निजी क्षेत्रलाई आह्वान गरिने संयोजक कार्कीले बताए ।

‘अन्तरपालिका यातायात  सञ्चालन भएपछि बुद्ध जन्मस्थल  लुम्बिनी भ्रमणमा आएका आन्तरिक र वाह्य पर्यटकले समेत सहज सेवा  पाउने छन्,’ उनले भने, ‘सँगसँगै जिल्लाका आठ वटै स्थानीय तहका जनताको लुम्बिनीसँगको पहुँच पनि सहज र सर्वसुलभ हुनेछ ।’

नियमित, भरपर्दो र स्तरीय यातायात सेवाको अभावमा रुपन्देहीकै जनसंख्याको ठूलो हिस्सा अझै पनि लुम्बिनी पुग्न सकिरहेका छैनन् । दीर्घकालिन रुपमा लुम्बिनीमा आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरिएपछि खासगरी बिहानसाँझको समयमा विद्यालय आउने-जाने विद्यार्थी, किसान, मजदुरहरु समेत यो यातायात सेवाबाट लाभान्वित हुने छन् ।

पहिलो चरणमा धेरै सिट क्षमताका ४८ वटा वातानुकुलित बस सञ्चालनको लागि निजी क्षेत्रलाई आहृवान गरिने छ । एक करोडभन्दा बढी मूल्य पर्ने सुविधा सम्पन्न बस मात्रै  सञ्चालन गर्न दिइने संयोजक कार्की बताउँछन् । बसभित्रै शौचालय र क्याफेटेरिया -खाजा)को सुविधा राखिने कार्कीको भनाइ छ ।

पूर्णरुपमा वातानुकुलित बस सञ्चालन गरिँदा आन्तरिक मात्र नभई लुम्बिनीमा आएका बाहृय पर्यटकहरु समेत बुटवल, सैनामैना लगायतका स्थानहरुको अवलोकन गर्न आउने विश्वास लिइएको छ ।

दैनिक ४८  वटा बस सञ्चालन भएमा दुई सय बढीले प्रत्यक्ष रोजगारी पाउने छन् । यसमा करिव ५० करोड रुपैयाँ निजी क्षेत्रको लगानी हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment