Comments Add Comment

मलेसियन पिच बुझेको छु, त्यसले फाइदा हुन्छ : सागर पुन

३ भदौ, काठमाडौं । एसिया कप छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिममा कमब्याक गरेका अलराउण्डर सागर पुनले मलेसियन पिचबारे आफूलाई राम्रो ज्ञान भएकाले छनोटमा फाइदा पुग्ने बताएका छन् ।

‘मलेसियामा खेलेको क्रिकेटले धेरै फाइदा भएको छ । त्यहाँको नयाँ विकेट पनि बुझ्न पाएको छु । उताको खेलाडी पनि बुझ्न पाएँ । यहाँ साथीहरुसँग पनि त्यहाँको पिचको बारेमा कुरा गरेको छु’ आइतबार कीर्तिपुर क्रिकेट मैदानमा भेटिएका उनले भने ।

भर्खरै मलेसियन पि्रमियर लिग क्रिकेट खेलेर फर्केका उनले आफू कसैको स्थानमा नभई आफ्नै सुधारिएको खेलका कारण टिममा फर्किएको पनि बताए । ‘म टिममा कसैलाई रिप्लेस गरेर आएको होइन । पछिल्ला केही खेलदेखि प्रदर्शन सुधार गरेको छु । श्रीलंकामा हुने अभ्यास खेलमा राम्रो गरेँ भने प्लेइङ ११ मा पर्छु जस्तो लाग्छ । जति अवसर पाउँछु, राम्रो क्रिकेट खेल्ने छु’ उनले भने ।

मलेसियन प्रिमियर लिगमा सर्वाधिक रन बनाउने क्रममा उनले ९ खेलमा ४ सय ५२ रन बनाएका थिए । दुई शतक र एक अर्धशतक बनाएका उनी प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान पनि भए । क्वालालम्पुरबाट खेलेका उनले प्रतियोगिताभर ९ विकेट पनि लिएका थिए ।

‘राष्ट्रिय टिममा फर्कन पाउँदा खुसी लागेको छ । हाम्रो लागि ठूलो प्रतियोगिता हो । जति दिन म टिमबाट बाहिर भएँ, धेरै कुरा सिकेँ’ सागरले भने, ‘यो लेभलमा कसरी फर्कन भनेर अभ्याससँगै खेलहरु खेलेँ । जति खेल खेलेँ, सबै राम्रो भयो । यही लयलाई निरन्तरता दिएर आउने खेलमा पनि राम्रो गर्ने छु ।’

टिमबाट बाहिरिएपछि के कारणले आफू टिममा परिनँ के गर्दा पर्छु भन्ने सोचेर निरन्तर अभ्यास गरिरहेको पनि उनले बताए ।

‘लामो इनिङमा कसरी टिक्ने भनेर प्रशिक्षकहरुसँग सिकेँ । सबैभन्दा ठूलो कुरा मैले पाएको ठाउँमा आˆनो क्षमता देखाउने छु । राम्रो क्रिकेट खेल्दै पहिलेका गल्ती सुधार गर्दै जाने छु’ उनले भने ।

२९ अगस्टदेखि ६ सेप्टेम्बरसम्म मलेसियामा हुने एसिया कप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ । टोलीमा सागरसँगै मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारी पनि फर्किएका छन् ।

सोमबार अभ्यास खेलका लागि टोली श्रीलंका जाँदैछ । जहाँ नेपालले अगस्ट २२ मा श्रीलंकाको आर्मी क्रिकेट टिम, अगस्ट २४ मा ब्लुमफिल्ड टिम र अगस्ट २६ मा कोल्ट्स टिमसँग अभ्यास खेल खेल्नेछ । टोली श्रीलंकाबाटै २७ अगस्टमा मलेसिया जाने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment