Comments Add Comment

पर्यटन भित्र्याउन पोखराको उत्तरपूर्वी भेगमा होमस्टे सञ्चालनकाे तयारी


६ भदौ, पोखरा । मान्छे सुविधाभोगी भए । सुविधा खोज्दै गाउँका मान्छे शहर झरे । शहरको रमझम र सुविधामा मान्छेले गाउँ बिर्से । खेती किसानी गर्न छाडे । भएका जग्गा जमिन त परको कुरा घरसँगै जोडिएका करेसाबारीसमेत बाँझै रहन थाल्यो । मान्छे नबसेपछि घर पनि शून्य र जीर्ण ।

तर मानिसहरु शहरबाट वाक्क दिक्क छन् भने गाउँसँग सम्मोहित । शहरको रमझम र कोलाहल भन्दा गाउँको शान्त वातावरणले मान्छेहरुलाई तान्न थालेको छ । गाउँको स्वच्छ वातावरण र अर्गानिक लोकल उत्पादनको पारखीहरु गाउँमै पुगेर रमाउन थालेका छन् । उसो त शहरमै पनि गाउँको स्वाद खोज्दै रेष्टुरेण्ट र भान्छाघर चहार्ने प्रशस्तै भेटिन्छन् । गाउँका मात्र होइन, शहरकाहरु र विदेशबाट आएका विदेशी पर्यटकहरु पनि शहरको धुँवा, धुलो र कोलाहलभन्दा गाउँमै बस्न रुचाउँछन् ।

शहरभन्दा मानिसहरु गाउँमै रमाउन थालेपछि गाउँ फर्किने चाहना पनि बढ्दै गएको छ । गाउँमै आधुनिक तरिकाले खेतीपाती तथा भैंसीपालन, गाईपालन, बाख्रापालन माछा पालन, कुखुरापालनलगायतका उत्पादनमूलक काम गर्नेहरु पनि बढ्न थालेका छन् । अझ शहर नजिकका गाउँहरुमा यो क्रम धेरै देखिन्छ ।

यसको प्रभाव पोखरा नजिकका गाउँमा पनि देखिन थालेको छ । यसको उदाहरण हो–पोखराको उत्तरपूर्वी क्षेत्र झुप्राङकोट–गर्लाङ र ढिँकीडाँडा । जहाँका स्थानीयहरु पहिले पोखरा झरे । गाउँ रित्तियो । खेत बाँझा भए । घर अझै पनि खाली छन् । तर त्यहाँको माहोल फेरिने तरखरमा छ । पोखरा महानगरपालिकाको उत्तर–पूर्वी क्षेत्रमा रहेका साविक अर्मला गाविस वडा नम्बर ४ तथा हाल पोखरा महानगरपालिका वडा नम्बर १६ मा पर्ने झुप्राङकोट–गर्लाङ र ढिँकीडाँडामा अब होमस्टे सञ्चालनमा आउने भएको हो । महेन्द्रगुफाबाट करिब ५ किलोमिटर उत्तर पूर्वमा रहेको झुप्राङकोट–गर्लाङ र ढिँकीडाँडामा होमस्टे सञ्चालनको तयारी शुरु भएको छ ।

संघीय सरकारले सन् २०२० देखि वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । गण्डकी प्रदेश सरकारले संघीय सरकार भन्दा पनि एक पाइला अघि सार्दै महत्वकांक्षी योजना अघि सारेको छ । त्यसको तयारीस्वरुप आर्थिक वर्ष २०७५/७६ मा ३६० वटा नयाँ होमस्टे खोल्ने तयारी भइरहेका बेला सोही अभियानलाई सहयोग पुग्ने गरी झुप्राङकोट–गर्लाङ र ढिँकीडाँडा होमस्टे खुल्दै छन् ।

झुप्राङकोट ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ मानिन्छ । ऐतिहासिक हिसाबले हेर्ने हो भने राजा कुल मण्डल साह गर्मी छल्न झुप्राङकोट जाने गरेको तथ्य भेटिन्छ । धार्मिक हिसाबले झुप्राङकोटमा एउटा ऐतिहासिक मन्दिर छ । जहाँ वर्षमा २ पटक चैते दशैं र बडादशैंमा भूमे पूजासहित विशेष पूजा अर्चना गर्ने गरिन्छ । जहाँ पूजा गरे मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ ।

त्यस्तै पर्यटकीय हिसाबले सुन्दर पनि छ, यो झुप्राङकोट–गर्लाङ । झुप्राङकोटबाट उत्तरपट्टी हेर्ने हो भने माछापुच्छ्रे सबैभन्दा नजिकबाट साक्षात्कार गर्न सकिन्छ । आमनेसामने बसेजस्तो गरी देखिने माछापुच्छ्रे हेर्दा आनन्द आउने स्थानीय बताउँछन् । त्यस्तै सो झुप्राङकोटबाट दक्षिण–पश्चिम हेर्ने हो भने पोखरा बजार पूरै देखिन्छ । साँझमा पोखरा हेर्दा अझै आनन्द आउँछ । त्यस्तै दक्षिण–पूर्व हेर्ने हो भने तनहुँको दमौली बजारसहित विभिन्न ठाउँ पनि सोहि स्थानबाट देखिन्छ ।

गर्लाङ गुरुङ बाहुल्य गाउँ हो । जहाँ गुरुङ संस्कृति अद्यपि कायमै छ । गर्लाङबाट झुप्राङकोट जाने बाटोभन्दा थोरै तल पर्यटक मोहित पार्ने ४५ मिटर अग्लो पोछारे छहरा छ । जहाँ बाह्रै महिना छहरा छङ्गछङ्ग गरेर झरिरहन्छ ।

झुप्राङकोट–गर्लाङकोटको ४८ घरमा होमस्टे राख्ने योजना अघि सारिएको छ । जहाँ १ घर बराबर २ कोठामा होमस्टे राखिने छ भने एउटा कोठामा २÷२ जना सुत्न मिल्ने झुप्राङकोट–गर्लाङ टोल विकास संस्थाका अध्यक्ष केशर गुरुङले जानकारी दिए ।

होमस्टेको तयारीस्वरुप गर्लाङ्कोटबाट झुप्राङ्कोटसम्म करिब ८ किलोमिटर पैदल मार्ग निर्माण शुरु गरिएको छ । पैदलमार्ग निर्माणको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शिलान्यास गरे ।

मान्छे हिंड्न छाडेपछि बिग्रिएको बाटोमा ढुंगा छापेर पैदलमार्ग बनाउन लागिएको हो । सो बाटो निर्माणका लागि ३० लाख लाग्ने बताइएको छ । जसका लागि संघीय र प्रदेश सरकारले १०÷१० लाख दिने घोषणा गरेका छन् । बाँकी १० लाख भने श्रमदानबाट जुटाइने अध्यक्ष गुरुङले बताए ।

त्यस्तै, हरिपाउमा होमस्टे सञ्चालनको तयारी गरिएको छ । झुप्राङकोटा–गर्लाङबाट पश्चिममा पर्ने हरिपाऊमा ढिकीडाँडा होमस्टे सञ्चालन गर्न लागिएको हो । ढिकीजस्तो देखिने डाँडाको नामबाट १० घरमा होमस्टे सञ्चालन गर्न लागिएको हरिपाउ टोल विकास संस्थाका अध्यक्ष बलराम आचार्यले जानकारी दिए । एक घरमा २ कोठा र हरेक कोठामा २ देखि ३ वटा बेड रहने उनले बताए ।

यहाँबाट माछापुच्छ्रेलाई नजिकबाट साक्षात्कार गर्न सकिन्छ भने अन्नपूर्ण हिमश्रृंखलासहित धौलागिरी हिमालपनि देख्न पाइन्छ ।

६ महिना भित्रमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ शुरु गरिएको होमस्टेका लागि सडक, पानी र शौचालय निर्माणका लागि प्रदेश सरकारले सघाउने घोषणा भएको छ । सो होमस्टेको पनि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गरेका छन् ।

हरिपाऊबाट प्याराग्लाईडिङसमेत उडान हुने गर्छ । हाल टेन्डम फ्लाइट मात्र हुने यो स्थान भविष्यको लागि भने प्याराग्लाइडिङ उडानका लागि प्रमुख गन्तव्य बन्न सक्छ । किनकि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि सराङकोट र तोरीपानीबाट हाल भइरहेको प्याराग्लाईडिङ उडान त्यसबेला रोकिने निश्चित छ । सराङ्कोट र तोरीपानी हवाई उडानको रुटमा पर्दछ । त्यसैले प्याराग्लाईडिङको वैकल्पिक गन्तव्य भनेको पोखरामा हरिपाउ नै हो ।

यद्यपि, प्याराग्लाइडिङ उडानको विकल्पका रुपमा स्याङ्जाको स्वरेकलाई समेत लिन थालिएको छ । तथापि पोखराबाट टाढा हुने भएकाले हरिपाऊ पहिलो रोजाइमा पर्नसक्ने देखिन्छ । यसको संकेतको रुपमा गण्डकी प्रदेशका पर्यटन मन्त्री लम्सालले शिलान्यासका क्रममा छोटो रुटको प्याराग्लाइडिङ उडानका लागि हरिपाऊ गन्तव्य स्थल बन्नसक्ने बताए ।

यी दुई होमस्टे सञ्चालनमा आए पर्यटक रमाउने नयाँ गन्तव्य थपिनेछ भने पर्यटक भित्राउने सरकारको योजनालाई थप मद्दत गर्नेछ । साथै गाउँ छाडेर शहर पस्दा उजाडिँदै गएको गाउँमा रौनकता र गाउँमा विकासले मुहार फेर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment