Comments Add Comment

पुनर्निर्माण प्रधिकरणद्वारा पाँच वटा एकीकृत वस्तीलाई स्वीकृति

६ भदौ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ ।

सिन्धुपाल्चोकमा हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका १२ स्थिति नम्डोललिङ एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती योजनालाई स्वीकृत गरेको हो । हेलम्बुको एकीकृत बस्तीमा ४०, मेलम्चीमा ७० र भोटेकोशीमा १० घर रहने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

यस्तै बैठकले रामेछाप जिल्ला मन्थली नगरपालिका ८ मा २४ घरको माझी बस्ती गाइखुरा एकीकृत बस्ती र काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १० तीनधारामा ३७ घरको होमस्टेसहितको नमुना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरुको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ ।

जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का लागि ४६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियरसहित ३२५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का लागि ७०४ छन् ।

बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्न योग्य घर जनिएका व्यक्तिहरुको सूची सो बमोजिम घर भए/नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment