१० भदौ, बुटवल । आज जनै पूर्णिमा र रक्षावन्धन पर्व । हिन्दू धर्मालम्बी तागाधारीले नयाँ जनै धारण र रक्षाबन्धन गर्ने दिन ।
जनै र रक्षावन्धन वैदिक एवं शास्त्रीय विधि अनुसार बनाइएको पवित्र र शुद्ध हुनुपर्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय धर्म, संस्कृति र संस्कारलाई नै खलल पुर्याउने गरी नक्कली जनै र रक्षाबन्धनको बिगबिगी बढ्दै गएको वैदिक र शास्त्रीय विधि अनुसार जनै बनाउँदै आएका उद्योगीको गुनासो छ ।
नेपालमै सम्भवतः पहिलो वैदिक जनै एवं रक्षावन्धन उत्पादन गर्ने गरी बुटवलमा ०५८ सालदेखि राधा धागो उद्योग सञ्चालन गर्दै आएका बुद्धिप्रसाद शर्मा बजारमा गैरहिन्दूले वैदिक विधिविपरीत जनै तथा धागो उत्पादन गरेको गुनासो गर्छन् । पोलिस्टर धागो मिश्रित जनै र रक्षाबन्धनको बढ्दो प्रयोगका कारण नेपालको धर्म संस्कृतिमाथि नै प्रहार भएको उनको भनाइ छ ।
हिन्दू धर्मका वैदिक ग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्यायन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । जनैका शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ । शुद्ध जनै र रक्षाबन्धन सुती धागोबाट बनेको ९ सरा हुनुपर्नेमा बजारमा नाफा कमाउन उद्देश्यले ७५ प्रतिशत पोलिस्टर मिसाइएको ३ सराको मात्रै बनाउने गरिएको उद्योगी शर्माको गुनासो छ ।
जनै मन्त्रँदा सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तु देवताहरु र शिखामा ब्रह्मा, विष्णु, महेश र जगत जननीको पूजा गरी गायत्री मन्त्रद्वारा मन्त्रित गरिनुपर्ने शास्त्रीय र वैदिक जनैका सम्पादनकर्ता बुद्धिप्रसाद शर्मा बताउँछन् । तर बजारमा पाइने अधिकांश जनैमा यस्तो विधि नपुर्याई केवल नाफा कमाउनकै लागि बजारमा पठाइने संस्कृतमा साहित्याचार्य र अर्थशाष्त्रमा स्नातक शर्माको दाबी छ ।
नक्कली जनै र रक्षाबन्धन धारण गर्नेहरुले पनि शुद्ध र सक्कली नहेरी जुन पायो त्यही प्रयोग गर्दा धर्मसंस्कृति रक्षाका लागि राज्यलाई कर तिरेर मेहनतपुर्वक संचालन गरिएको उद्योग नै धराशायी हुने अवस्थामा पुगेको दुखेसो शर्माको छ ।
करिब २५ लाख लगानी भएको उनको उद्योगले सिजनमा दुई सय जना सम्मलाई र बाह्रै महिना ७ जनालाई रोजगारी दिएर वार्षिक चार लाख जनै र ५ क्वीन्टल रक्षा बन्धन उत्पादन गर्दै आएको छ । उनको उद्योगमा काम गर्ने कामदार सबै ब्राह्मण महिला हुन् । उनीहरुले घरमै धागो लगेर फुर्सदमा जनै बनाएर मासिक १०–१२ हजार आम्दानी गर्छन् । यसवाहेक लाख बत्ती, बत्ती धागो, अनन्त डोरो पनि यो उद्योगले उत्पादन गर्दै आएको छ । यो उद्योगले उत्पादन गर्ने जनै र रक्षाबन्धनको माग र बजार रुपन्देही, नवलपरासी, कपिलवस्तुसहित काठमाडौं, चितवन, पोखरा, दाङ, बागलुङ, नेपालगंज, धनगढीसम्म छ ।
तर विक्रेताहरुले शास्त्रीय र वैदिक भनेर भारत बनारसबाट आउने नक्कली जनै र नेपालमै पनि विशेषगरी पूजा सामग्री विक्रेताहरुले उद्योग दर्ता नगरी अवैध तरिकाले जनै र रक्षाबन्धन बनाएर बिक्री गरिदिँदा वैधानिक तरिकाले सञ्चालित आफ्नो उद्योग मारमा परेको उद्योगी शर्माले गुनासो गरे ।
‘बुटवलकै लुम्बिनी पूजा सामग्री केन्द्र, हरे राम हरेकृष्ण पूजा सामग्री भण्डारले वर्षमा २० लाख बराबरको अवैध जनै बिक्री गरिरहेका छन्’, शर्माले भने, ‘मैले यो कुरा प्रदेश सरकारको उद्योग मन्त्रालयलाई पनि जानकारी गराएँ, तर अहिलेसम्म कारबाही भएको छैन ।’
कतिपय पूजा सामग्रीले उद्योगबाट थोरै परिमाणमा वैदिक जनै खरिद गर्ने अनि आफैंले अवैध ढंगले तयार गरेको नक्कली जनैलाई समेत शास्त्रि र वैदिक भन्दै बिक्री गरिरहेको शर्माको दाबी छ ।
आफूले उद्योग सञ्चालन गरेपछि पण्डित र पुरोहितहरुले समेत जनै र रक्षाबन्धन बनाउन छाडेकामा पनि शर्मा चिन्तित छन् । ‘मेरो उद्योग बन्द भएमा सक्कली जनै र रक्षाबन्धन नै हराउने हो कि भन्ने चिन्ता लागेको छ, त्यसैले पण्डित र पुरोहितहरुले आफ्ना उत्तराधिकारीलाई वैदिक र शास्त्रीय जनै तथा रक्षाबन्धन बनाउने सीप हस्तान्तरण गर्नुपर्छ, यसतर्फ राज्यको पनि ध्यान जाओस् ।’
लुम्बिनी पूजा सामग्री भण्डारका सञ्चालक जनार्दन न्यौपानेले भने अवैध ढंगले कुनै पनि कारोबार नगरेको बताएका छन् ।
प्रतिक्रिया 4