१४ भदौ, रौतहट । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विरोधमा रौतहटमा पनि प्रर्दशन भएको छ ।
देशभरी नै महिला हिंसा तथा बलात्कारको घटना बढेको भन्दै विभिन्न संघसंस्थाहरुले बिहीबार गौरमा प्रर्दशन गरेका हुन् ।
कञ्चनपुरलगायत देशका विभिन्न भागका बालबालिकाहरु एकपछि अर्को हिंसामा परेको भन्दै रौतहटको गौरमा अधिकारकर्मी तथा अभियन्ताहरुले मुखमा कालोपट्टी बाँधेर र्यालीसहित प्रदर्शन गरेका थिए ।
गौरको विपी चोकबाट सुरु भएको र्यालीले विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।
महिला तथा बालबालिका प्रति बढी रहेको यौनहिंसा लगायतका घटनाहरुप्रति सरकार संवेदनशील नबनेको प्रर्दशनमा सहभागी भएकाहरुले बताए ।
गौर नगरपालिकाकी उपमेयर किरण ठाकुरले यस्ता जघन्य घटनाहरुप्रति सरकार जिम्मेवार बन्नु पर्ने तथा दोषीहरुलाई कारवाही गर्न ढिलो गर्न नहुने बताएकी छिन ।
देशमा बढेको महिला हिंसाको घटनाका कारण बालिका तथा किशोरीहरुमा डर फैलिएको उनले बताइन् ।
महिला हिंसा गर्नेहरुलाई सामाजिक बहिष्कार गर्नु पर्ने तथा बलात्कारीलाई देश निकाला गर्नु पर्ने माग प्रदर्शनका क्रममा महिलाहरुले गरेका थिए ।
प्रतिक्रिया 4