Comments Add Comment

सल्यानमा फेरि पहिरो, एकै घरका ३ बालबालिकाको मृत्यु

१८ भदौ, सल्यान । सल्यानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१२ बाफुखोलाका बालाराम डाँगीका दुई छोरी र एक छोराको पहिरो पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा १० वर्षीया ललिता डाँगी, सात वर्षीय ललित डाँगी र चार वर्षीया मेनका डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।

यसअघि यही भदौ १२ गते राति सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा पहिरोले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको थियो ।

आइतबार साँझ करिब साढे पाँच बजेतिर पहिरोले घरको भित्ता भत्काएर बालबालिकालाई पुरे पनि सोमबार बिहान करिब साढे ७ बजेतिरमात्रै शव फेला पारिएको थियो ।

बाबुआमा भैंसी दुहुन गएको र बालबालिका भान्साकोठामा बसीरहेको बेला पहिरोले घरको भित्ता भत्काउँदै उनीहरुलाई पुरेको थियो । घटनाको जानकारी पाएलगत्तै सिमखोली प्रहरी इकाइको टोली घटनास्थल पुगेको थियो । तर, रातभर पानी परेको र पहिरो पनि खस्ने क्रम जारी रहेकाले सोमबार बिहान मात्र शव बाहिर निकाल्न सकिएको डिएसपी बीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

बालाराम र उनकी श्रीमती बेहोस् भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा पठाइएको छ ।

अहिले प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, डिएसपी वीरेन्द्रबहादुर शाही र नेपाली सेनाका गुल्मपति रामकृष्ण श्रेष्ठ घटनास्थलमा जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment