Comments Add Comment

भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रस्ताव मन्त्रिपरिषद लगिने

१८, भदौं, चितवन । चितवनको भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने भएको छ ।

केन्द्रीय अस्पताल बनाउन भरतपुर अस्पतालले पेश गरेको प्रस्ताव पत्र बुझ्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रस्ताव मन्त्रिपरिषदमा लैजाने जानकारी दिएका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा. रविन खड्काले अनलाइनखबरलाई बताए ।

राजधानीबाहिर बिरामीको अधिक चाप हुने र विशिष्ट खालका सेवासमेत दिएको भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन जिल्लाका राजनीतिक दलसहितको सर्वपक्षीय निर्णयसहित प्रस्ताव मन्त्रालयमा पेश गरिएको डा.खड्काले बताए ।

‘मन्त्रीज्यू स्वंय आएर भरतपुर अस्पतालको सेवा सुविधा र विरामीको चापका बारेमा जानकारी लिइसक्नुभएको छ, उहाँ अति नै सकारात्मक हुनुहुन्छ’ मेडिकल सुपरिटेण्डेन्ट डा. खड्काले भने, ‘भरतपुर अस्पताललाई प्रदेश वा स्थानीय सरकारको मातहतमा राख्दा यसको वृत्ति र विकास रोकिन्छ भन्नेमा मन्त्री ज्यू पनि कन्भिन्स हुनुहुन्छ ।’

गएको असार ३२ गते सरकारले अस्पताल विकास समिति खारेज गर्दै अस्पताललाई प्रदेश सरकार मातहत रहने व्यवस्था गरेको थियो ।

उपप्रधानमन्त्री यादवलाई बुझाइएको प्रस्तावमा भरतपुर अस्पताललाई केन्द्रीय रिफरल अस्पताल र सरकारी मेडिकल कलेजको रुपमा विकास गर्ने, अस्पताललाई तीन सय शैय्याको बनाउने सरकारको निर्णयसमेत समेटिएको छ ।

भरतपुर अस्पताललमा एक बर्षमा झण्डै साढे २ लाख बिरामीहरु उपचारका लागि आउने गर्छन् । ओपीडीमा आउने बिरामीको संख्या औसतमा दैनिक १ हजार भन्दा बढी छ ।

सरकारले स्वास्थ्य बीमाअन्तर्गत भरतपुरका दुई वटा मेडिकल कलेजलाई प्राथमिक सेवा बिन्दुको सूचीबाट हटाएपछि झनै अस्पतालमा भीड बढेको छ । भुईमा राखेर उपचार गर्नुपर्ने वाध्यता आएको अस्पतालका सूचना अधिकारी डा. बिश्ववन्धु बगालेले जानकारी दिए । अस्पतालमा २० वटा आईसीयू र १२ शैय्या एनआईसीयू छ  । न्युरो सर्जरी विभागमा १२ वटा शैय्या छन् ।

वार्षिक ४५ हजार बिरामी भर्ना हुने गरेको अस्पतालको तथ्याङ्कमा देखिन्छ । अस्पतालले विशिष्ट र अति विशिष्टि सेवाहरु जोर्नी प्रत्यारोपण, अर्थोस्कोपी, स्पाइनल सर्जरी मेरुदण्डको अप्रेसन तथा पुनस्र्थापना केन्द्र, इआरसिपी, न्यूरो सर्जरी, कार्डियोथोरासिस् र भास्कुलर सर्जरी सेवा, हेमोडाइलासिस् सेवालगायतका विशिष्ट सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

काठमाडौंको प्रसुति गृहपछि धेरै संख्यामा सुत्केरी सेवा लिने अस्पतालका रुपमा भरतपुर अस्पताल चिनिन्छ । अस्पतालको स्वीकृत वेड संख्या तीन सय छ । सरकारी कर्मचारी, चिकित्सक, नर्स पारामेडिक्स सबैै गरेर स्वीकृत दरवन्दी जम्मा १७५ जनाको छ । तीमध्ये अस्पतालमा आएर काम गर्ने जम्मा १५० को हाराहारीमा मात्रै छन् ।

अस्पताल विकास समितिले थप तीन सय बेडको अस्पताल चलाएको छ भने उसले ४७७ जना कर्मचारीहरुलाई अस्पतालको स्रोतबाट तलव खुवाउने गरेको छ । गुरुयोजनाअनुसार अस्पतालका दुई ठूला भवनहरु ए ब्लक र बीब्लक बनिसकेका छन् भने, सीब्लक भवन निर्माणको क्रममा छ ।

अस्पतालले अत्याधुनिक सिटी स्क्यान, ल्याब, आफ्नै फार्मेसी, मदन भण्डारी ट्रमा सेन्टर पनि सञ्चालन गरेको छ । भरतपुर अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँगको साझेदारीमा स्टार्फ नर्स, बीएन, एमडी एमएसका कक्षाहरु पनि चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment