२० भदौ, काठमाडौं । सीमाविद र परराष्ट्र मामिलाका जानकारहरुले नेपाल र भारतबीच रहेको सीमा विवाद तत्काल टुंग्याउन सरकारलाई सुझाव दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित खुला सिमाना अवसर र चुनौती विषयक कार्यक्रमका वक्ताहरुले नेपालमा बलियो सरकार रहेको र भारतसँगको सम्बन्ध सुधार भएको अवसर पारेर सीमा समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
नेपाल र भारतबीचको सीमाको ९७ प्रतिशत ठाउँमा विवाद नरहे पनि नवलपरासीको सुस्ता, दार्चुलाको कालापानी र इलामको फाटकको सीमा विवादका कारण अन्य क्षेत्रमा पनि बेला बेलामा समस्या बल्झिने गरेको विज्ञहरुको भनाइ छ ।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. उद्धव प्याकुरेलले भारतसँगको सम्बन्ध सुध्रिएको बेलामा सीमा विवादको समस्या समाधान गरिहाल्नुपर्ने बताए । ‘नेपाल र भारत यस्तो मित्रता भएको देश भनिन्छ, तर सीमाको विषय हेर्ने हो भने मित्रता छ कि छैन भन्ने प्रश्न उठ्छ’ उनले भने ‘अहिले मोदी फेभरमा छन्, सरकारले भारतसँग तत्काल विवाद टुंग्याएर सीमाको सम्झौतामा हस्ताक्षर गरिहाल्नुपर्छ ।’
यस्ता कतिपय सीमा विवाद लेनदेनबाट पनि मिलाउनुपर्ने प्याकुरेलको सुझाव छ । चीनसँग सीमा विवाद हुँदा बीपी कोइरालाले लेनदेनबाटै समाधान गरेको भन्दै उनले दक्षिणी छिमेकीसँगको विवाद पनि लेनदेनबाट टुंग्याउन सकिने बताए । सबै विवाद समाधान गर्न नसकेमा विवाद नरहेको क्षेत्रको बारेमा सीमा सम्झौता गरिहाल्नुपर्ने प्याकुरेलले सुझाव दिए ।
परराष्ट्र मामिलाका जानकार डा. प्रद्युम्नविक्रम शाहले सुस्ता र कालापानीको सीमा विवादमा राजनीतिक समाधान खोज्नुपर्ने बताए । उनले पनि यस्ता विवाद लेनदेनबाट टुंग्याउन सकिने धारणा राखे । भारत र बंगलादेशले सिमानामा देखिएका विवाद जमिन साटासाट गरेर समाधान गरेको भन्दै उनले नेपाल र भारतबीचको विवाद पनि लेनदेनबाट टुंग्याउन सकिने बताए ।
सिमाना खुलै छोड्नुपर्छ
नेपाल र भारतबीचको सीमा खुला छाड्ने वा नछाड्ने भन्नेमा भने विज्ञहरुले फरक फरक मत राखेका छन् । सीमाविद वुद्धिनारायण श्रेष्ठले नेपाल र भारतबीचको सीमानामा काँडेतार नै लगाउनुपर्ने बताए । विध्वंसकारीहरुले खुला सीमाको अत्यधिक दुरुपयोग गरेको भन्दै उनले ठाउँठाउँमा आवतजावतको बाटो छाडेर अरु ठाउँमा काँडेतार नै लगाउनुपर्ने बताए ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक इन्द्रकुमारी अधिकारीले खुला सीमाको माध्यमबाट विकसित भारतबाट नेपालले फाइदा लिनुपर्ने बताइन् । सीमा बन्द गर्दा दुबैतर्फका गरिब सर्वसाधारण मारमा पर्ने भन्दै उनले खुला सीमाना नै उपयुक्त हुने धारणा राखिन् । ‘हामीसँग प्रशस्त स्रोत भएका बेला भारतले फाइदा लियो, अब भारतबाट फाइदा लिने बेलामा किन बोर्डर क्लोज गर्ने ?’
भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायले खुला सीमाका कारण धेरै समस्या देखिएकाले द्वीपक्षीय छलफलबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4