Comments Add Comment

मोरङ जिससमा ३५ लाखको आम्दानी, ७५ लाखको गाडी !

२१ भदौ, विराटनगर । स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहेका बेला जिल्ला समन्वय समिति मोरङले पनि ७५ लाख रुपैयाँमा नयाँ गाडी थप्ने निर्णय गरेको छ ।

अब नयाँ गाडी खरिद गरेपछि जिल्ला समन्वय समितिसँग सवारी साधनको संख्या तीनवटा पुग्नेछ । हाल जिल्ला समन्वय समितिमा २ वटा गाडी छन् ।

जिससका प्रमुख नरेश पोखरेलले कार्यालयका लागि आवश्यक सवारी साधन अभाव भएकाले नयाँ गाडी खरिद गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले भने ‘कार्यालयकामा जम्म्ाा दुईवटा मात्रै सवारी साधान चालु अवस्थामा छन, अनुगमनका लागि सावारी साधन अभाव छ, त्यही अभावलाई हेरेर नयाँ गाडी खरिद गर्ने प्रकृयाका लागि पैसा छुट्याएका छौं ।’

बा २ झ ७६८ नम्बरको निसान कम्पनीको गाडी हाल पोखरेलले चढदै आएका छन् । अर्को बा १ झ ८४७५ नम्बरको टोइटा कम्पनीको ल्याण्ड क्रुजर अधिकृतले प्रयोग गर्दै आएका छन् ।

आम्दानी ३५ लाख, बजेट पौने ६ करोड

यसैवीच मोरङले जिसस आर्थिक वर्ष ०७४/०७५ का लागि ५ करोड ८६ लाख ७६ हजार ५ सय रुपैयाँ बराबरको अनुमानित आय-व्यय पारित गरेको छ ।

आन्तरिक आम्दानीतर्फ ३५ लाख रुपैयाँमात्रै रहेको जिससले ७५ लाखको गाडी किन्ने आँट गर्नुका पछाडि गत वर्षको आम्दानी र सरकारले दिएको अनुदान हो ।

जिसस मोरङमा नेपाल सरकारको अनुदानतर्फ १ करोड ४२ लाख ५९ हजार रहेको छ । यसमा गत बर्षको आम्दानी ४ करोड ६४ लाख १७ हजार ५ सय रुपैयाँ रहेकाले करिब पौने ६ करोडको बजेट बनाइएको हो ।

जिल्ला समन्वय समितिको सभा बैठकले पारित गरेको निर्णयका बारेमा विहीार पत्रकार सम्मेलन गरी प्रमुख पोखरेलले जिल्ला समन्वय समितिको आम्दानी तर्फबाट जिल्लाका १७ वटा स्थानीय तहलाई १/१ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको जानकारी दिए ।

जिल्ला समन्वय समितिले लगाएको ढुंगा गिट्टीको ठेक्का वापत आएको आम्दानीको रकम स्थानीय तहलाई निकासा गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७४/०५७ मा जिल्लाका खोला नालाको ढुंगा गिट्टीको ठेक्कावापत कुल २५ करोड ३१ लाख २३ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको थियो । यसमध्ये १७ करोडमात्रै स्थानीयलाई तहमा पठाइएको छ ।

पटके सवारी कर, कृषि तथा वन्यजन्तु तथा पशुजन्य जिल्ला निकासी, मालपोत रजिष्ट्रेशन र वन रोयल्टीबापतको आम्दानी पनि सम्बन्धित स्थानीय तहलाई निकासा दिने निर्णय भएको पोखरेलले बताएका छन् ।

जिल्ला विकास समितिमा रहँदा नेपाल सरकारले दिँदै आएको अनुदानको रकमलाई नेपाल सरकारले यो बर्ष पनि ५० प्रतिशत घटाएर निरन्तरता दिएका कारण जिससले जिविसकै रुपमा आफूलाई जिवित राखेको छ ।

नेपाल सरकारले गत आर्थिक बर्षका लागि साविकको जिल्ला बिकास समितिलाई २ करोड ७४ लाख रुपैयाँ निकास गरेको थियो । चालु आर्थिक बर्षका लागि १ करोड २२ लाख रुपैयाँ निकासा गरेको प्रमुख पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment