Comments Add Comment

युरोपियन देशहरुले खेलिरहेको नेसन्स लिग के हो ?

काठमाडौं । क्रोएसियालाई हराएर फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको धेरै भएको छैन । अहिले फेरि स्पेनले इंग्ल्याण्डलाई हरायो, रसियाले टर्की, स्वीट्जरल्याण्डले आइसल्याण्डलाई पराजित गर्‍यो भन्ने खबरहरु आइरहेका छन् ।

फेरि यो कुनै मैत्रिपूर्ण खेल पनि होइन । युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफमा आबद्ध देशहरुबीच नेसन्स लिग प्रतिस्पर्धा यसै वर्षबाट सुरु भएको हो ।

यसलाई एक अर्थमा महत्व कम हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको विकल्प मानिएको छ । २०११ बाटै यस्तो प्रतियोगिता गराउने परिकल्पना भएको भए पनि यसवर्ष मात्रै सुरु भयो ।

युईएफएले नेसन्स लिगका लागि युरोपका ५५ वटा राष्ट्रलाई चार समूहमा विभाजन गरेको छ । जसलाई लिग नाम दिइएको छ । समूह विभाजनको आधार युईएफए वरियता र २०१८ को विश्वकप छनोटलाई बनाइएको छ ।

लिग ए मा १२ देश, लिग बी मा १२ देश, लिग सी मा १५ देश र लिग डी मा १६ देश रहेका छन् ।

चार वटै लिगमा चार/चार समूह बनाइएको छ र समूह पिच्छे छुट्टाछुट्टै लिग खेलहरु हुनेछन् ।

लिग ए मा रहेका चार समूहका विजेता राष्ट्र नेसन्स लिग फाइनल चरणमा पुग्ने छन् । फाइनल चरण जुन २०१९ मा हुनेछ, जहाँ विजेताले नेसन्स लिग च्याम्पियनको उपाधि पाउने छ ।

यस्तै लिग बीका समूह विजेताहरु एमा जाने छन् भने सी बाट चार टिम लिग बीमा पुग्नेछन् । यसरी नै ए, बी र सी लिगबाट चार-चार टिम रेलिगेसनमा पर्ने छन् ।

लिग डीमा भने रेलिगेसन हुने छैन ।

उदाहरणका लागि लिग ए को अन्तिममा रहने चार देश २०२०/२१ को नेसन्स कपमा लिग बी मा झर्ने छन् । लिग बी का उत्कृष्ट चार देश लिग ए मा पुग्ने छन् ।

नेसन्स लिग नै युरो कप छनोटको बाटो समेत हुने भएकाले यसको महत्व युरोपियन फुटबलमा बढेर गएको छ ।

युरो कप छनोटमा १० समूहका विजेता र उपविजेता युरो कपमा पुग्ने भए पनि तेस्रो स्थानमा रहने टिमले प्ले अफ खेल्न पाउने प्रावधानमा भने परिवर्तन भएको छ ।

२४ राष्ट्र सहभागी हुने युरो कपमा बाँकी रहेको ४ राष्ट्रको प्रतिस्पर्धा भने नेसन्स लिगका आधारमा हुने छ । जसमा युईएफए नेसन्स लिगको सबै लिगको शीर्षमा रहने टिमले त्यसमा अवसर पाउने छन् ।

उदाहरणका लागि इंग्ल्याण्डले नेसन्स लिगमा लिग ए को विजेता बन्यो तर, युरो कप छनोटमा शीर्ष दुईभित्र पर्न सकेन भने प्ले अफमा ठाउँ पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment