२६ भदा, धनगढी । प्रदेश ७ मा मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभा पदाधिकारी तथा सदस्यले पाउने सुविधामा दोस्रो पटक वृद्धि गरिएको छ । तलब यथावत राखे पनि अन्य सेवा सुविधा भने १० देखि ७० प्रतिशतसम्म बढाइएको छ ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलका लागि पठाइएको मुख्यमन्त्री तथा मन्त्रीहरुले पाउने तलब, सुविधा सम्बन्धी विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक आवश्यक संशोधनसहित समितिले पेश गरेको छ ।
समितिले मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा पदाधिकारी तथा सदस्यको तलव मुख्यमन्त्री कार्यालयबाट तोकिएकोलाई नै कायम राखेको छ भने इन्धन, भत्ता, घरभाडा लगायतका शीर्षकमा भत्ता वृद्धि गरेको छ ।
अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका जेष्ठ सदस्य देवराज पाठकले प्रस्तुत गरेको प्रतिवेदनमा मुख्यमन्त्री र मन्त्रीको दैनिक भत्ता बढाएको छ भने राज्यमन्त्री र सहायक मन्त्रीको इन्धन खर्च पनि बढाइएको छ ।
यसअघि मुख्यमन्त्रीले अतिथि सत्कारमा मासिक ९ हजार रुपैयाँ पाउँदै आएकोमा अहिले समितिले बढाएर १० हजार पुर्याएको छ । मन्त्रीले अतिथि सत्कारवापत पाउने रकम ७ हजारबाट ९ हजार पुर्याइएको छ ।
राज्यमन्त्री र सहायक मन्त्रीले पाउने इन्धन १ सय २५ लिटरबाट २ सय लिटर, दैनिक भ्रमण भ्रमण भत्ता २ हजारबाट २ हजार ५ सय र अतिथि सत्कार ५ हजारबाट बढाएर ८ हजार पुर्याइएको छ ।
त्यस्तै, मुख्यमन्त्री र मन्त्रीले सरकारी कामको सिलसिलमा विदेश भ्रमण गर्दा विमा वापत लाग्ने रकम १० लाखबाट सशोधन गरी १५ लाख बनाइएको समितिका सदस्य गोविन्दराज बोहराले बताए ।
प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधामा पनि व्यापक संशोधन गरिएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले प्रदेशसभाका पदाधिकारी र सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकको दफावार छलफलपछि संसदमा प्रस्तुत गरेको प्रतिवेदनमा सवैभन्दा बढी फर्निचर खर्च बढाइएको छ ।
यसअघि सभामुख, विपक्षी दलका नेता, उपसभामुख, सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक, सचेतक, प्रदेशसभा सदस्यलाई फर्निचर खर्चवापत छुटटाछुटटै रकम दिइदै आएकोमा समितिले सरकारी घरको व्यवस्था नभएमा सबैलाई एक/एक लाख रुपैयाँ दिने व्यवस्था गरेको छ ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यको आवास सुविधामा दुई/दुई हजार बढाइएको छ, सञ्चार सुविधा वापत १ हजार ५ सयबाट बढाएर ३ हजार पुर्याइएको छ । सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक, सचेतक, प्रदेश सभा सदस्यले दैनिक भ्रमण भत्ताबापत प्रति महिना २ हजार ५ सय पाउने छन् ।
यसअघि विधेयकमा २ हजार ३ सय राखिएको थियो । अतिथि सत्कारवापत यसअघि ५ हजार कायम गरिएकोमा अब सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक, सचेतक, प्रदेश सभा सदस्यले ७ हजार पाउनेछन् ।
अन्य प्रदेशको तुलनामा यस प्रदेशमा सेवा सुविधा कमै रहेकाले बढाइएको र यसले जनतालाई मारमा नपार्ने अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य देवराज पाठकको दाबी छ ।
मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको तलब भने यथावत राखिएको छ ।
मन्त्रिपरिषद्बाट पारित विधेयकमा मुख्यमन्त्रीले मासिक तलब ६० हजार ९ सय ७० र मन्त्रीले ५४ हजार रुपैयाँ पाउने प्रस्ताव विधेयकमा गरिएको थियो भने राज्यमन्त्रीले ५१ हजार र सहायक मन्त्रीले ४९ हजार रुपैया तलब पाउने व्यवस्था गरिएको थियो ।
प्रदेश सरकारको सात सदस्यीय मन्त्रिपरिषदमा राज्यमन्त्री र सहायक मन्त्री छैनन् । सभामुखको पारिश्रमिक मासिक ५५ हजार, विपक्षी दलका नेता र उपसभामुखले ५१/५१ हजार, सत्तापक्षको प्रमुख सचेतकले ४९ हजार ५००, सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकले ४९ हजार र प्रदेशसभा सदस्यले ४८ हजार पारिश्रमिक पाउनेछन् ।
प्रतिक्रिया 4