Comments Add Comment

करोडको जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा पास !

२८ भदौ, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका विनोदकुमार चौधरी कुर्मीले आफू बसोबास गर्दै आएको जग्गाको लालपूर्जा नलिँदा अर्कैको नाममा पास हुन पुगेको छ ।

करोड मूल्य पर्ने उक्त जग्गा मालपोत कार्यालय परासीबाट मालपोतका कर्मचारीहरुको मिलेमतोमा छिमेकीको नाममा राजीनामा पास भएको हो । स्थानीय हरिहरप्रसाद यादव (अहिर) ले आफूले भोगचलन गर्दै आएको जग्गामा उक्त जग्गा छुट भएको भन्दै ट्रायल चेकका लागि मालपोत कार्यालयमा निवेदन दिएका थिए ।

मालपोत अधिकृत अधिकारीले भने ‘सबै कागजपत्र यादवको पक्षमा देखियो कसैले दावी विरोध पनि गर्न आएनन् लालपूर्जा उपलब्ध गराएको ७, ८ दिन पछि बल्ल उनी (विनोदकुमार) दावी गर्न आए ।’ उक्त जग्गा विनोदकुमार चौधरी कुर्मीले लामो समयदेखि जोतभोग र परिवारसहित बसोबास गर्दै आएका छन् ।

पाल्हीनन्दन गाउँपालिका ४ स्थित (साविक लोहरौली ३) स्थित कित्ता नम्बर २८३ को १० धुर जमिन मालपोतका कर्मचारीको मिलेमतोमा अर्कैको नाममा नामसारी गरिदिएको भन्दै विनोदले भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई पत्र लेखेका छन् ।

विनोदले उक्त जग्गामा दुई तले घरसमेत बनाएका छन् । गाउँलेले ‘तेरो जग्गा यादवले आफ्नो नाममा गराएको हुन सक्छ’ भनेपछि उनी मालपोतमा बुझ्न गएका थिए ।

मालपोत कार्यालय प्रमुख शिवध्वज अधिकारीले विनोदको बाबु रामकुमार कुर्मी उक्त जग्गाको मोही रहेको पाइएको अनुसन्धानको क्रममा खुलेको बताए । तथापि उनले जग्गाको पूर्जा यादवका नाममा आइसकेकोले दुवै पक्ष मिल्नु वा अदालतमा गएर अदालतको निर्णय कुर्नुको विकल्प नभएको बताए ।

फिल्डबुकमा विनोदकुमार चौधरी कुर्मीको बुबाको नाम रहेकै अवस्थामा मालपोतका कर्मचारीहरुले विना सर्जिमिन, विना सिफारिस, सधियारहरुलाई गर्नुपर्ने सोधपुछलगायतका प्रक्रिया नपुर्‍याई मालपोत र नापी कर्मचारीले गलत काम गरेको पाल्हीनन्दन गाउँपालिका ४ का वडाअध्यक्ष सञ्जयकुमार पाठकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment