२८ भदौ, मोरङ । लिङ्ग पहिचान गरी गरिने भ्रुण हत्यालाई कम गर्न भन्दै स्थानीय तहहरुले विभिन्न पुरस्कार र प्रोत्साहनको योजनाहरु ल्याएका छन् ।
विराटनगर महानगरपालिकाले पनि पहिलो सन्तान छोरी जन्मिए आमालाई तीन हजार रुपैयाँ प्रदान गर्दै आएको छ । अब महानगरपालिका दोस्रो सन्तान पनि छोरी नै जन्मिए २५ हजार रुपैयाँ प्रोत्साहन रकम थप गर्ने भएको छ ।
पहिलो सन्तान छोरी भएको परिवारको दोस्रो सन्तान पनि छोरी भए महानगरपालिकाले बैंकमा खाता खोलेर २५ हजार रुपैया दिने योजना ल्याएको हो ।
महानगरपालिकाले प्रदान गरेको रकम बालिकाका अभिभावकले खर्च गर्न पाउँदैनन् । दोस्रो सन्तानको रुपमा जन्मिएकी छोरीको उच्च शिक्षाका लागि बालिग भएपछि मात्र बैंकबाट निकाल्न मिल्नेगरी २५ हजार प्रदान गरिने छ । ‘नाबालकिकै नाममा बैंकमा जम्मा गर्ने योजना बनाएका छौ,’ विराटनगर महानगरकी उपमेयर इन्दिरा कार्कीले भनिन्, ‘प्रोत्साहन रकम पाउन साउन यता अस्पतालमा छोरी जन्मिएको हुनुपर्छ ।’
लिंग पहिचान गरी हुने भ्रुण हत्या कम गर्नका लागि महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन गर्ने योजना अन्तरगत बैंकखातामार्फत २५ हजार रुपैयाँ दिने योजना ल्याएको हो ।
‘दोस्रो सन्तान छोरी जन्माउने परिवारको तथ्यांङ्क वडा कार्यालयहरुलाई संकलन गर्न भनेका छौ,’ उपमेयर कार्कीले भनिन्, ‘प्रोत्साहन रकमकालागि महानगरमा साउन यता कसैको निवेदन आएको छैन् ।’
मातृमृत्युदर पनि घटाउने उदेश्यले ल्याइएको प्रोत्साहन योजनामा सहभागी हुन् पहिलो सन्तान पनि छोरी नै हुनुपर्ने, नियमित स्वास्थ्य परीक्षण गराएको हुनुपर्ने, अस्पतालमा बच्चा जन्माएको हुनुपर्ने, आमा बुबा विराटनगरवासी हुनुपर्ने लगायतका प्राबधानहरु तोकिएका छन् ।
प्रतिक्रिया 4