Comments Add Comment

निर्मलाका बुबाले रुँदै भने- प्रधानमन्त्रीले बबितालाई तगडा बनाइदिनुभो

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नै शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमा अभिव्यक्ति दिएको भन्दै निर्मला पन्तका आमाबुबाले चित्त दुखाएका छन् ।

साउन १० गते साथी रोशनी बम कहाँ गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।

कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानबिन समिति त बनेको छ तर, हत्यामा संलग्नहरुको अत्तोपत्तो छैन । हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै पन्तका बाबु यज्ञराज र आमा दुर्गादेवी केही दिनदेखि काठमाडौंमा छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्मलाका बाबु यज्ञराजले प्रहरीको साथ नपाएको गुनासो गरे ।

आफ्नी छोरीको साइकल भेटियो भन्नासाथ बबिताले ‘साइकल भेटियो भने शव पनि भेटिन्छ होला’ भनेको भन्दै उनले भने, ‘हत्या भएको उसलाई कसरी थाहा भयो ?’

बम दिदीबहिनी शंकाको घेरामा रहेको तर, सरकारले उनीहरुलाई सपोर्ट गरेको उनको गुनासो छ । उनले गहभरी आँसु पार्दै भने, ‘यति प्रमाण हुँदाहुँदै सरकारले उल्टै बबितालाई सपोर्ट गर्दैछ । प्रधानमन्त्रीले तगडा बनाइदिएका छन् ।’

के भनेका थिए प्रधानमन्त्रीले ?

अघिल्लो बुधबार ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाबारे सोधिएको थियो ।

जवाफमा प्रधानमन्त्रीले समाजलाई विकृतितर्फ लैजाने संगठित प्रयास भइरहेको बताएका थिए । घटनाप्रति सरकारको ध्यानाकर्षण भएको र सरकारले एसपी, सीडीओलाई फिर्ता बोलाएर अर्को उच्चस्तरीय छानबिन समिति बनाएको बताए । ‘तर, छानबिनलाई यसो हुनुहुँदैन । यसो हुनुपर्छ, यसै निश्कर्ष आउनुपर्छ भनेपछि छानबिन कसरी हुन्छ ? यसभित्र कुनै राजनीति मिसाइनु हुँदैन’ उनले भने ।

राजनीति मिसिएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘म यति भन्छु कि राजनीति मिसाइनु हुँदैन ।’

उनले अघि भने, ‘पोष्टमार्टम गरेर घरमा लगेको शव घरबाट उठाएर मेयरको घरमा पुर्‍याउनुपर्ने । यो के भएको ? परिवारले त शतगद गर्न पो लैजाँदै थियो । उनीहरुबाट खोसेर मेयरको आँगनमा लास लानु भनेको के हो ?’

उनले निर्मलाली साथी रोशनी बम र उनकी दिदी बबिता बमको हुर्मत लिने काम भएको भन्दै आपत्तिसमेत जनाए । यदि उनीहरु दोषी भए कारबाही गर्ने भन्दै ओलीले भने, ‘तर, कारबाही गर्नुभन्दा अगाडि केके भनिएको छ ? समाजले केके गरेको छ ? यस्तो गर्नुहुन्छ ?’

‘तिनीहरु दोषी हुन् कि होइनन् छानबिन गर्नुपर्छ । उनीहरु पनि अविवाहित महिला हुन्, तिनका पनि जीवन होला, तिनका पनि सपना होला । तिनको पनि इज्जत छ । यसो गर्थे, उस्तो गर्थे, झुट र अनुचित कुरा उचालेर हुर्मत लिने ? छिमेकी मन नपर्न सक्छ, कुनै पार्टीलाई भोट देलान् । यस्ता कुरा ल्याउनमिल्छ ?’

बम दिदीबहिनीमाथि क्रुर आक्रमण भएको प्रधानमन्त्री ओलीको दाबी थियो । घटनापछि प्रहरी प्रशासनले छानबिन गरिरहेको बेला आन्दोलन उठेको र हुलदंगा मच्चिएको र सरकारले अर्को छानबिन समिति बनाएपछि पनि यस्तो निश्कर्ष आउनुपर्छ भनेर काम गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप थियो ।

किन चित्त दुखाए निर्मलाका बाबुआमाले ?

निर्मलाका बुबा यज्ञराजका अनुसार आन्दोलनका क्रममा निर्मलाको शव मेयरको आगनमा लगिएको थिएन । प्रधानमन्त्री स्वयंले झुटो बोलेकोमा निर्मलाका बाबुको दुखेसो छ ।

बम दिदीबिहनीमाथि छानबिन हुनुपर्छ भन्ने माग मात्र आफूहरुको भएको उनले बताए । तर, प्रधानमन्त्री स्वयंले ‘तिनीहरु अविवाहित छन्, उनीहरु पनि इज्जत छ । समाज सभ्य हुनुपर्छ’ भनेको भन्दै निर्मलाका बाबु यज्ञराजले रुँदै भने, ‘दोषी यिनी हुन् भनेर हामीले कहिल्यै भनेका छैनौं । उनीहरु निर्दोष छन्, साइकल त्यहाँ भेटिएको छ भनेर प्रमाणहरु मेटाउने काम भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment