Comments Add Comment

घुससहित ९ प्रहरी समातिएपछि कोटेश्वर र काँडाघारीका प्रमुख फेरिए

३१ भदौ, काठमाडौं । काठमाडौंको कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ जना प्रहरी अधिकारी घुससहित एकैदिन समातिएपछि दुवै प्रभागका सम्पूर्ण प्रहरी टोली फेरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ अपरेशनमा ठूलो संख्यामा प्रहरी समातिएपछि प्रहरी प्रधान कार्यालयले काटेश्वर र काँडाघारी प्रभागको नेतृत्व परिवर्तन गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्रीका अनुसार कोटेश्वर प्रहरी प्रभागको नेतृत्व प्रहरी निरीक्षक एलिजा गिरीलाई दिइएको छ भने काँडाघारी प्रभागको नेतृत्व इन्स्पेक्टर सुधिर राईलाई प्रदान गरिएको छ ।

यसअघि गिरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत् थिइन् ।

थापा बदमासी गर्ने प्रहरीलाई कारबाही गर्ने कुरामा प्रहरी प्रधान कार्यालय दृढ रहेको बताउँछन् ।

के थियो घटना ?

काँडाघारी, कोटेश्वर र ठिमी क्षेत्रका केही प्रहरी अधिकारीहरुले मनोहरा खोलाबाट ढुंगा, गिटी र बालुवा निकाल्ने ठेकेदारबाट घुस लिने गरेको अख्तियारमा उजुरी परेको थियो ।

त्यसक्रममा अख्तियारको टोलीले शनिबार गरेको ‘स्टिङ अपरेशन’ का क्रममा ९ प्रहरी अधिकारी घुस लिँदालिँदै पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा असर्इ सुवास ढुंगाना, हवल्दार दीपक भारती, असर्इ गोपाल श्रेष्ठ, हवल्दार उमेश यादव, अमन चौधरी, जवान दीपेन्द्र कुँवर, मुकेश पटेल, रत्न रिजाल र जवान मानसिंह रोका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता एवं सहसचिव रामेश्वर दंगाललले दिएको जानकारी अनुसार उनीहरुले ४५ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म घुस लिएको भेटिएको छ ।

‘हामीले घुस लिँदालिँदै पक्राउ गरेका हौं’, उनले अनलाइनखबरसँग भने, ‘विस्तृत अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment