Comments Add Comment

वीरगञ्ज महानगरमा जतातजै छाडा पशु चौपाया

३१ भदौं, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकमै छाडा पशु चौपाया छोडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।

महानगरपालिकाको मुख्य चोक घण्टाघर, माईस्थान, गहवामाई क्षेत्र र भित्री गल्लीहरुमा पनि पशु चौपाया खुल्लम खुल्ला छोड्ने गरिएको छ । कतिपयले दुध दिने दिनसम्म पाल्ने त्यसपछि सडकमा छोडिदिने गरेका छन् ।

घरपालुवा गाई, सुँगुर, बाख्रा, घोडा मात्रै नभएर मानिसहरुले हाँस कुखुरा पनि सडकै छोडने गरिएको छ ।

नगर क्षेत्रका चोक, बजार र बस्ती क्षेत्रमा पशु चौपाया छाडा छोडने परिपाटीले ट्राफिक समस्या बढाएसँगै फोहोर व्यवस्थापनमा समेत समस्या खडा गरिदिएको छ ।

सडकमा राखिएको फोहोर उठ्नु भन्दा अघि नै पशु चौपाया गएर छरिदिने गरेका छन् । छाडा चौपाया सडक ढाकेर बसिरहँदा ससाना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।

एक त जीर्ण सडक छ अर्कोतर्फ पशु चापाया सवारी साधन चलाउँदा निकै जोखिम मोलेर चलाउनुपर्ने बाध्यता रहेको सवारी चालकहरुले बताएका छन् ।

वीरगञ्जमा माईक्रोबस चलाउँदै आएका मैनुल हक अन्सारी पशु चौपायाका कारण निकै समस्या आउने गरेको बताए । ‘गाई बस्तु सडकमा बसेको हुन्छ, कहिले दौडेर आउँछ, झ्याप्प ब्रेक हान्दा पछाडिबाट अर्कोले आएर ठोक्छ,’ उनले भने, ‘गाईबस्तु वालाले केही वास्ता गर्दैन । ट्राफिकले पनि हेर्दैन ।’

रातमा झनै समस्या हुने गरेको चालकहरुको भनाइ छ ।

महानगरपालिका क्षेत्र भित्र जथाभाबी पशु चौपाया बाटोमा छोडेको तथा निर्माण सामग्री राखिएको पाइएमा जफत गरी कारबाही गर्न सक्ने व्यवस्था स्थानीय सरकार संचालन ऐन,२०७४ मा छ ।

वीरगन्ज महानगरपालिकाको आर्थिक ऐन, २०७५ तथा वीरगन्ज महानरपालिकाको पÞmोहोरमैला व्यवस्थापन ऐन, २०७५ को दफा २४ बमोजिम हदैसम्म जरीवाना गर्न सकिन्छ ।

तर, महानगरपालिकाले त्यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याउन सकेको छैन ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भुसालले भने छाडा पशु चौपाया नियन्त्रण गर्ने अभियान महानगरपालिकाले सुरु गरिसकेको जानकारी दिए ।

आइतबार नै केहि पशुचौपाया नियन्त्रण लिएको उनले जानकारी दिए । ‘केही दिनअघि दुई गाडी जंगलमा छोडेर आएको तर फेरि उस्तै हालत छ । तर पनिदुई तरिकाले अघि बढेका छौं । पहिलो सचेतनामुलक सूचना सम्प्रेषण गरेका छौं, कानुनी कारबाहीको बारेमा जानकारी गराएका छौं । दोस्रो, समातेर केही समयका लागि काञ्जी हाउसमा राख्छौं, जसले फिर्ता लैजान चाहनुहुन्छ प्रचलित कानुन बमोजिम जरीवाना तिरेर लैजानुहुन्छ, कसैले नलगेको अवस्थामा निश्चित समयपछि उपयुक्त तरिकाले उचित व्यवस्थापन गर्छौ,’ उनले भने, ‘छाडा चौपायाले फोहोर मैला व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा समेत समस्या पारिरहेका छौं । जबसम्म छाडा पशु चौपाया नियन्त्रण आउँदैन सडकमा छाडने प्रवृत्तिको अन्त्य हुँदैन, चुप लागेर बस्दैनौं । व्यवस्थित र गर्ब गर्न लायक वीरगञ्ज बनाउन यो नियन्त्रण नगरी हुँदैन ।’

यसअघि वीरगञ्ज महानगरपालिकाको वडा नं ६, ७ र ८ गहवा गाउँमा बिहान घरदैलो गरिएको छ ।

घरपालुवा पशु पंक्षी, चौपाया, कुकुर, घेाडा जथाभावी सडकमा नछोड्न आग्रह गर्दै घरदैलो गरिएको हो ।

डेढ महिनामा वीरगञ्जको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी ल्याउने अठोट बोकेर नागरिकस्तरबाट थालिएको व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत बिहान घरदैलो निकालिएको थियो ।

स्थानीयलाई सडकमा जथाभावी पशु चौपाया नछोड्न, फोहोर जथाभावी नफाल्न, घर अगाडी सफा राख्न, निर्माण सामाग्री सडकमा नछोड्न, रिक्सा, ठेला जथाभावी पार्किङ नगर्न आग्रह गरिएको अभियानका संयोजक दिलिपराज कार्कीले जानकारी दिए ।

घरदैलोमा सहभागी वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भुसाल, वडा अध्यक्ष तथा सदस्यहरुलाई स्थानीयले सडकमा भएको खाल्डाखुल्डी पुर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment