Comments Add Comment

निर्मला पन्तको बचेको प्रमाण ‘भेजिनल स्वाब’ मात्रै हो ?

काठमाडौं । गृह मन्त्रालयले सीआइबीका अनुसन्धान अधिकारीलाई निलम्बन गरेपछि अब निर्मला हत्या प्रकरणमा ती निलम्बित अनुसन्धानकर्ताले गरेको विगतको अनुसन्धान बदर हुन्छ कि सदर हुन्छ भन्ने प्रश्न उठेको छ । अब नयाँ छानविन समितिले सीआइबीकै अनुसन्धानमा टेक्ने हो भने यो अनुसन्धान घटनास्थलमा हैन, रगत परीक्षण गर्ने ल्याबमा मात्रै सीमित हुनेछ ।

अब कञ्चनपुर प्रहरीले यसअघि सीआइबीले गरेको अनुसन्धानलाई खारेज नगर्ने हो भने डीएनए परीक्षण नगरी कसैलाई पनि निर्मला पन्तको हत्यारा सावित गर्न नसकिने स्थिति सिर्जना भएको छ ।

निर्मला पन्त हत्या प्रकरणको अहिलेसम्मको भवितव्य के हो भने अब शंका लागेको व्यक्तिलाई सुई घोपेर रगतको नमूना ल्याबमा ल्याउने अनि निर्मलाको शवबाट संकलित भेजिना स्वाबमा फेला परेको वीर्यसँग भिडाएर हेर्ने । जसको डीएनए म्याच गर्छ, यसलाई अपराधी करार गर्ने, जसको मिल्दैन, उसलाई निर्दोष सावित गर्नै जाने । यसरी सीआइबीको विगतको अनुसन्धानमा टेक्ने हो भने अबको अनुसन्धान टोलीले रगत संकलन र डीएनए परीक्षण मात्रै गर्नुपर्ने बाध्यता छ ।

एसपीका छोरा, एसपी, मेयरका भतिजा वा अरु जो कसैलाई पनि शंका लागेका रगतको स्याम्पल लिनैपर्ने बाध्यतामा सीआइबीको अनुसन्धानले पुर्‍याइदिएको छ । सीआइबीका पूर्व अनुसन्धानअधिकारीहरुको दाबी के छ भने निर्मला पन्तको अहिलेसम्म नष्ट नभएको एउटै प्रमाण भनेको उनको भेजिनल स्वाब मात्रै हो ।

यदि निर्मलाको ‘भेजिनल स्वाब’ लाई मात्रै अपराधकर्ताको एकमात्र अचूक एवं निरपेक्ष प्रमाण ठान्ने हो भने अब यस्तो अनुमान लगाउनैपर्ने हुन्छ- बलात्कारी र हत्यारा एउटैै व्यक्ति हो, जसले बलात्कारको समयमा कण्डम प्रयोग गरेको थिएन । तर, यसअघि घटनास्थलमा कण्डम फेला पारेको प्रहरीले चर्चा गरेको थियो । फोरेन्सिक ल्याबका विज्ञहरुका अनुसार भेजिनल स्वाबमा वीर्यको उपस्थिति त्यस्तो बेलामा मात्रै भेटिन्छ, जुनबेला बलात्कारीले कण्डमको प्रयोग गरेको हुँदैन । कण्डम प्रयोग भएको छैन भने मात्रै भेजिनल स्वाबमा वीर्य खस्न सक्ने अवस्था हुन्छ ।

प्रहरी टोलीले गरेको अहिलेसम्मको अनुसन्धान प्रक्रियालाई खारेज नगरी पुरानै अनुसन्धानमा टेकेर अनुसन्धान थाल्ने हो भने अब दिलिपसिंह विष्टलाई निर्दोषिताको स्थायी प्रमाणपत्र दिए हुन्छ । डीएनए परीक्षण गरीवरि छुटेका विष्टमाथि फेरि छानविन वा अनुसन्धान गर्ने हो भने डीएनए परीक्षणको विश्वसनीयतामाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ । र, यससँगै निर्मला पन्तको शवबाट संकलन गरिएको भनिएको ‘भेजिना स्वाब’ को बैधतामाथि नै प्रश्न उठाउनुपर्ने हुन्छ ।

के हो भेजिनल स्वाब ?

भेजिनल स्वाब भनेको गुप्ताङ्गको भित्री भागबाट संकलिन गरिने एक प्रकारको जैविक पदार्थ हो । बलात्कृत महिलाको गुप्ताङ्गबाट त्यस्तो वस्तु संकलन गरेर ल्याबमा परीक्षण गर्दा त्यहाँ बलात्कारीको वीर्यको अंश फेला पर्‍यो भने त्यसलाई शंकास्पद व्यक्तिसँग भिडाएर हेरिन्छ र मिलेको खण्डमा अपराधीको पहिचान हुन्छ । माइक्रो बाइलोजिकल टेस्ट भएकाले यस्तो परीक्षणबाट अपराधी उम्कन नपाउने र कोही पनि निर्दोषले दोषको भागिदार हुनु नपर्ने दाबी गरिँदै आएको छ ।

तर, भेजिनल स्वाबको परीक्षणमा केही पक्षमाथि विचार पुर्‍याउनुपर्ने हुन्छ । बलात्कारीले भेजिनल स्वाबमा वीर्य वा अन्य कुनै स्वाब छाडेकै हुन्छ भन्ने छैन । अन्य प्रकारले अपराध पनि भएको हुन सक्छ । त्यसैले, भेजिनल स्वाबको परीक्षण एउटा त्यस्तो अन्तिम अस्त्र हो, जहाँ अपराधीलाई फेला पार्ने वा कबुल गराउने अन्य आधारहरु समाप्त भएका हुन्छन् ।

यद्यपि बलात्कारको घटनापछि मृत या जीवितै रहेका पीडितको शरीरबाट भेजिनल स्वाबको नमूना संकलन गरेर परीक्षण गर्ने प्रचलन विश्वमा धेरैवर्ष देखि प्रचलित छ । फ्रान्समा केही वर्ष पहिले गरिएको एक अनुसन्धानमा ७९ जना बलात्कृत महिलाको भेजिनल स्वाब परीक्षण गर्दा ३० प्रतिशतमा मात्रै पुरुषको ‘वाई क्रोमोजोम’ भेटिएको थियो ।

बलात्कारपछि हत्या भएको आशंका गरिएको स्थितिमा मृतकको पोष्टमार्टम गर्ने बेलामै डाक्टरहरुले भेजिनल स्वाब निकाल्छन् । प्रहरीले त्यस्तो स्वाब निकालिएको मुचुल्का तयार पार्छ र सर्जमिनसहित शीलबन्दी गर्छ । फोरेन्सिक ल्याबमा पनि त्यसलाई प्रक्रिया नपुर्‍याई खोल्न मिल्दैन । विधि नपुर्‍याई शील खोलिएको भेजिनल स्वाबको परीक्षण गर्न फोरेन्सिक ल्याबले स्वीकार गर्दैन । भेजिनल स्वाबको परीक्षणको बैधता पुष्टि हुनुपर्छ । यसलाई अपराध अनुसन्धानको भाषामा ‘चेन अफ कस्टडी मेन्टेन’ भएको हुनुपर्ने भनिन्छ ।

बलात्कृत महिलाको शरीरमा पुरुषको वाई-क्रोमोजोम रहे/नरहेको पत्ता लगाउनका लागि घटना भएको दुई दिनभित्रै भेजिनल स्वाब संकलन गर्नुपर्ने विज्ञहरु बताउँछन् । त्यसरी संकलन गरिएको नमूनालाई विधि विज्ञान प्रयोगशालामा २/३ महिनाभित्र परीक्षण गर्ने नेपाली प्रचलन छ ।

बलात्कारको घटनामा पोष्टमार्टम गर्दा पीडितको भेजिनल स्वाब सुरक्षित गरिएको सम्भवतः निर्मला पन्तकै पहिलो भएको अनुसन्धान अधिकारीहरुको दाबी छ ।

भेजिनल स्वाबमा भेटिएको वीर्य परीक्षण गर्दा धेरैजनाले बलात्कार गरेका हुन् कि एकैजनाले मात्र हो भन्ने पनि थाहा हुन्छ । धेरैजनाको वीर्य खसेको रहेछ भने मल्टिपल छुट्याउन सकिन्छ । तर, निर्मला पन्तको भेजिनल स्वाबमा एकजनाको मात्रै कन्टेन रहेको रिपोर्ट विधि विज्ञान प्रयोगशालाले सीआइबीलाई दिएको छ ।

सीआइबीको टोलीले के-के गर्‍यो ?

निर्मला पन्तको शव फेला परेको चार दिनपछि काठमाडौंबाट डीएसपी अंगुर जीसीको नेतृत्वमा सीआइबीको टोली कञ्चनपुर पुगेको थियो । सीआइबीको टोली घटनास्थलमा पुग्दा निर्मलाको दाहसंस्कार भइसकेको थियो । जीसीको टोलीले करिब एक महिना लगाएर घटनाको अनुसन्धान गर्‍यो ।

कञ्चनपुर जानेवित्तिकै डीएसपी जीसीले निर्मला पन्तको भेजिनल स्वाबको खोजी गरे । पोस्टमार्टम गर्ने ठाउँमै डाक्टरहरुले निर्मलाको भेजिनल स्वाब उठाएको सीआइबी टोलीलाई जानकारी आयो । अस्पतालले हामीसँग भेजिनल स्वाब छ भनेपछि त्यसलाई तुरुन्तै प्लेनबाट काठमाडौं पठाइयो ।

सीआइबीको अनुसन्धान टोलीले निर्मलाको भेजिनल स्वाबमा पुरुषको वीर्य छ कि छैन भन्ने हेर्न चाहेको थियो । फोरेन्सिक डिपार्टले तीन दिनपछि सीआइबीलाई भन्यो- पोजेटिभ रिपोर्ट आयो । अर्थात भेजिनल स्वाबमा वीर्यको अंश पाइयो ।

निर्मलाका हत्यारा पत्ता लगाउनका लागि एउटा बलियो आधार फेला परेको ठानेर सीआइबीको टोलीले ल्याबका विज्ञहरुलाई कञ्चनपुरबाटै फोन गरेर सोधे- ‘त्यो वीर्यको कन्टेनलाई ब्लड ग्रुपमा हेर्न सकिन्छ कि सकिँदैन ?’

ल्याबका विज्ञहरुले सीआइबीका अनुसन्धान अधिकारीलाई भने- ‘मान्छेको डीएनएमा सेक्रेटर र ननसेक्रेटर भन्ने दुई पक्ष हुन्छन् । सेक्रेटर ८० प्रतिशत र नन सेक्रेटर २० प्रतिशत हुने हुँदा सेक्रेटरमा पर्‍यो भने वीर्यबाट ब्लड ग्रुप छुट्याउन सकिन्छ । त्यसैले हामी यसमा प्रयास गर्छौं ।

अन्ततः निर्मलाको भेजिनल स्वाबमा भेटिएको वीर्यलाई ब्लड ग्रुपबा आधारमा डीएनए परीक्षण गर्न सम्भव रहेको सकारात्मक निश्कर्ष फरेन्सिक विशेषज्ञहरुले सीआइबीको टोलीलाई सुनाए ।

यसक्रममा अर्को समस्या के देखियो भने नेपालमा २/३ महिनामा एकपटकमात्रै डीएनए परीक्षण गरिँदोरहेछ । डीएनए परीक्षण गर्ने केमीकल ३/४ रुपैयाँसम्म महंगो पर्दोरहेछ । त्यो केमिकल एकपटक खोलेपछि धेरै दिन प्रयोग गर्न नमिल्ने भएकाले तीन/चार महिनासम्म डीएनएका नमूना संकलन गर्ने र एकैचोटि खोलेर परीक्षण गर्ने प्रचलन रहेछ । तर, निर्मलाको भेजिनल स्वाब परीक्षण गर्दा पैसा तिर्नु नपरेको र ल्याबले सित्तैमा गरिदिएको स्रोतले बतायो ।

तर, निर्मला पन्तको प्रकरणमा प्रहरीलाई छिटोभन्दा छिटो डीएनएको रिपोर्ट चाहिएको थियो । त्यसैले कञ्चनपुरबाट सीआएबीका डीएसपी अंगुर जोशीले डीआइजी नारायण खड्कालाई टेलीफोन गरेर आइजी साहेबलाई नै भनेर भए पनि चाँडो डीएनए परीक्षण गरिदिन आग्रह गर्‍यो । त्यसपछि निर्मलाको भेजिनल स्वाबमा फेला परेको वीर्यको डीएनए जाँच गरियो ।

अन्ततः कञ्चनपुरबाट काठमाडौं ल्याइएका दिलिपसिंह बिष्टको रगतलाई म्याच गराउँदा नमिलेपछि उनी रिहा भए ।
सीआइबीको टोलीले चाहिँ दिलिपसिंह विष्ट नै दोषी भएको विश्वास लिएको थियो । तर, ‘साइन्स’ ले प्रहरीको विश्वासलाई पुष्टि गरेन । आन्दोलनको आवाज र डीएनए रिपोर्ट दुबै प्रहरीका लागि भारी परे ।

तथापि निर्मला पन्तको भेजिनल स्वाब र त्यसमा रहेको वीर्य बचाइनु ठूलो उपलब्धि भएको अनुसन्धानमा संलग्न प्रहरीहरुको दाबी छ । प्रहरी स्रोत भन्छ- ‘अब त्यो डीएनए नै सबैभन्दा ठूलो प्रमाण हो । त्यसलाई अब रगत वा वीर्य दुबैबाट परीक्षण गर्न सकिन्छ । त्यो स्वाब बचाइयो, यो नै महत्वपूर्ण कुरा हो । कम्तिमा पनि यो ऐतिहासिक जीत जस्तै हो । यसले अब बलात्कारी पत्ता लगाउन सजिलो हुन्छ । अब कसैलाई पनि जबरजस्ती सकार्दे भनेका भरमा हामी असफल हुन्छौं । अब डीएनए मिल्नैपर्ने हुन्छ ।’

भेजिनल स्वाब बाहेक सीआइबीले गरेको काम

कञ्चनपुरमा खटिएको सीआइबीको टोलीले निर्मला हत्या प्रकरणको अनुसन्धान भेजिनल स्वाबमा मात्रै केन्दि्रत गरेको चाहिँ होइन । टोलीले यसवीचमा बम दिदीबहिनीमाथि पनि अनुसन्धान गर्‍यो । दिलिपसिंह विष्टमाथि छानविन गर्‍यो । एसपीका छोरा र मेयरका भतिजमाथि पनि निगरानी र अनुसन्धान गरेको सीआइबीका अधिकारीहरुको दाबी छ ।

स्रोतले अनलाइनखबरसँग भन्यो- ‘हामीले पब्लिक ओपिनियनका आधारमा नभएर घटनास्थलबाटै अनुसन्धान गर्ने हो । तर, एक महिनासम्म तथ्यहरु खोज्दा पनि पाइएन । निर्मला डान्स रेस्टुरेन्टमा गएको पनि पाइएन । अनुसन्धानको फोकस दुईवटी केटीमा केन्दि्रत भयो । उनीहरुको टेलिफोन ट्यापिङ गरियो । प्रत्येक दिन जिप्रकामा बोलाइएकै थियो । मोबाइलमा केही डिलिट गरिएको छ कि भनेर डिजिटल फरेन्सिक टेस्टमा पनि पठायौं । पोलिग्राफ चेकिङ गरियो । तर, केही पाइएन ।’

निलम्बनमा परेका एक प्रहरीले गुनासो पोख्दै अनलाइनखबरसँग भने- ‘प्रमाण नपाएपछि कसैलाई थुनेर राख्न वा म्याद थप्न मिलेन । पछि फिल्डमा गएकाहरुले हामीले गरेको भएन भनेर बम दिदीबहिनीको म्याद थप गरे, तर प्रमाण नपाएर छाडे । अब थप अनुसन्धान गरुन् न त ।’

विज्ञानमाथि नै भगवान भरोसा !

भेजिनल स्वाबमा फेला परेको वीर्यका आधारमा डीएनए परीक्षण गर्दा सामान्य कमजोरी भयो भने यसले अपराधी पत्ता लाग्न गाह्रो हुन्छ । विज्ञान र मानिसको क्षमतावीचको यही दुरीका कारण कहिलेकाहिँ डीएनएको रिपोर्ट पनि चिप्लिन सक्छ । यो स्थितिमा विज्ञानमाथि पनि भगवान भरोसा भन्नुपर्ने अवस्था आउन सक्छ ।

के दिलिपसिंह विष्टका सम्बन्धमा गरिएको डीएन परीक्षण विश्वसनीय नै थियो त ? यो प्रश्नमा सीआइबी स्रोतले भन्यो- ‘विष्टमा हामी लगभग ढुक्क भएका थियौं । डीएनएबाहेक अरुमा शंका गर्ने आधार थियो ।’

अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्- ‘मान्छेले साइन्स बनायो, तर त्यसलाई प्रयोग गर्न हामी कति सफल भयौं ? अब दिलिपले नै त्यस्तो गरेको रहेछ भने हामीले साइन्सलाई च्यालेञ्ज गर्न सकिँदैन । तर, हामीकहाँ ल्याबको कस्तो क्षमता छ ? कतै भेजिनल स्वाब उठाउने बेलामा वा जाँच्ने बेलामा पो ठीक भएन कि ? यसमा पनि अनुसन्धान गर्नुपर्ने हुन सक्छ ।’

फेरि प्रश्न त उही छ- के अबको अनुसन्धान समितिले निर्मला पन्तको भनिएको भेजिनल स्वाब, त्यसमा फेला परेको भनिएको वीर्यको कन्टेन र त्यसैका आधारमा गरिएको भनिएको दिलिपसिंह विष्टको डीएनए परीक्षणको पुनः परीक्षण गर्छ ? वा सीआइबीकै पूर्व अनुसन्धानमा टेकेर शंकास्पद व्यक्तिहरुको रगत संकलनमा मात्रै आफूलाई सीमित राख्छ ? यो चाहिँ हेर्न बाँकी छ ।

कञ्चनपुर प्रहरीले विभिन्न प्रमाणहरु सुनियोजित रुपमा नष्ट गरेको आरोप पीडित पक्षबाट लागिरहेका बेला निर्मला पन्तको भेजिनल स्वाबचाहिँ कसरी र कसको विवेकमा सुरक्षित राखिएछ ? त्यो प्रमाण कसले जोगाएर राखेको थियो ? अनि प्रहरीले नै उखुबारीमा कण्डम भेटिएको बताइरहेका अवस्थामा भेजिनल स्वाबमा वीर्यको कन्टेन कसरी फेला पर्‍यो ? यी प्रश्नहरु पनि अनुसन्धानकै विषय हुन् ।

अपराधी को हो भन्ने कुरा गृहमन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट टुंगो लाग्ने विषय होइन, यो त सूक्ष्म अनुुसन्धानबाट पत्ता लाग्ने विषय हो । ओपिनियन र तर्कबाट होइन, अनुसन्धान र तथ्यबाट मात्रै अपराधी पत्ता लगाउन सकिन्छ । त्यसैले, अबको अनुसन्धान त्यसैतर्फ लक्षित होस् र निर्मलाले चाँडो न्याय पाउन् । विज्ञानको बाहनामा ल्याबमा रगत जाँच्दै अपराधीलाई उम्काउने काम नगरियोस् । यो प्रश्न दिलिपसिंह वा डिल्लीराज वा अरु, सबैका हकमा बराबरी लागू हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment