Comments Add Comment

निर्मला हत्या प्रकरणः छानबिन अब सेनामाथि पनि

१ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरण छानबिन गर्न अर्को समिति गठन भएको समाचार प्राथमिकतामा परेका छन् । प्रहरीमाथि नै छानबिन गर्न प्रहरीकै टोली गठन गरिएको, अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिइएको, छानबिन अब सेनामाथि पनि हुने भएको लगायतका समाचार आजका पत्रिकामा छन् ।

दुःख लाग्दो कुरा त के छ भने निर्मलाको बलात्कारपछि हत्या भएको झण्डै दुई महिना पुग्दै छ तर वास्तविक हत्यारा पत्ता लाग्न सकेको छैन । र, यसबीचमा २२५ चेली बलात्कृत भएका छन् । केन्द्रीय राजधानी काठमाडौंमा मात्रै ४५ दिनमा ४२ जना बलात्कृत भएका छन् । निर्मलाको गृह जिल्ला कञ्चनपुरमै आठ जना बलात्कृत भएका छन् ।

निर्मला हत्याः छानबिन अब सेनामाथि पनि

‘पुलिसको त्रास मर्‍यो, न्यायको आस टर्‍यो’ शीर्षकको समाचारमा नयाँ पत्रिकाले माथिका विवरणहरु उल्लेख गरेको छ । साथै निर्मलाको हत्या अनुसन्धान सैनिकमाथि पनि गर्न उच्चस्तरीय छानबिन समितिले सुझाव दिएको समाचार पनि छ ।

घटनास्थल सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा यस्तो सुझाव दिइएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

‘निर्मलाको शव भेटिएको स्थानबाट करिब ३ किलोमिटरको दूरीमा सेनाको बाहिनी छ । बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ,’ छानबिन समितिका एक सदस्यलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ, त्यही आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौं ।’

निर्मला हत्या अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीलाई नै

नागरिक दैनिकले निर्मला हत्या अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिइएको मुख्य समाचार छापेको छ । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयलाई आवश्यक जनशक्ति र प्राविधिक जनशक्ति उपलब्ध गराउने गरी प्रहरी प्रधान कार्यालयले अनुसन्धानको सबै जिम्मा कञ्चनपुर प्रहरीलाई दिएको समाचारमा उल्लेख छ ।

नेपाल प्रहरी प्रवक्ता शैलेश थापाले नागरिक दैनिकसँग भनेका छन्, ‘छानबिन समितिका सुझाव, प्रहरी प्रधान कार्यालयको सहयोग सबै उपलब्ध हुनेछन् । हत्यारा पत्ता लगाउने र कारबाही गर्ने जिम्मा कञ्चनपुर प्रहरीकै हो । अनुसन्धान र मुद्दा उतैबाट चल्छ ।’

नागरिकले आर्थिक पृष्ठमा किसान आयोगमा ८ करोडको उपलब्धी गाडी किन्ने र एक-दुई वटा कार्यविधि बनाउनमै सीमित रहेको समाचार छापेको छ ।

समाचारमा लेखिएको छ, ‘गरिब किसानको पक्षमा काम गर्ने उद्देश्यले सरकारले गठन गरेको राष्ट्रिय किसान आयोगको एक वर्षको काम गाडी किन्ने र १-२ वटा कार्यविधि बनाउनेमा सीमित भएको छ । यसका लागि आयोगले त्यही गरिब किसान र जनताबाट उठाएको करको करिब सवा आठ करोड रुपैयाँ खर्च गरेको छ ।’

किर्ते गरेर किनियो विमान

अन्नपूर्ण पोष्ट दैनिकले नेपाल वायु सेवा निगमले हालै किनेको वाइडबडी जहाज खरिदमा किर्ते भएको समाचार छापेको छ । समाचारमा लेखिएअनुसार विमान किन्ने क्रममा नक्कली कम्पनी खडा गरिएको थियो, त्यो कम्पनी पनि निगमले नै सजिलोको लागि बनाउन लगाएको थियो ।

‘एयरबसका दुईवटा वाइडबडी विमान किन्नेबारे नेपाल वायुसेवा निगमले अमेरिकाको एएआर कर्पसँग २७ जनवरी २०१७ मा समझदारी गर्‍यो । तर, विमान हाई फ्लाई एक्स आयरल्याण्डसँग किन्यो, जुन कम्पनी त्यसको २६ दिनपछि २१ फेब्रुअरी २०१७ मा स्थापना गरियो,’ समाचारमा लेखिएको छ ।

यसबाहेक १५ वटा कानुन हतारमा बनाइएको, १६ स्थानमा नियुक्त गर्नका लागि राजदूत पाउनै सरकारलाई हम्मे परेको लगायतका समाचार पनि अन्नपूर्णले पहिलो पृष्ठमा छापेको छ ।

नेकपाका नेता कार्यकर्ता किन बनेनन् अरिंगाल ?

गत शनिबार आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेहरुविरुद्ध अरिंगालको गोलोजसरी एकतावद्ध भएर खनिन नेकपाका कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको यही अभिव्यक्तिसँग सम्बन्धित रहेर कान्तिपुर दैनिकले नेकपामा भद्रगोल रहेको समाचारलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ । ‘किन बनेनन् अरिंगाल ?’ शीर्षकको समाचारमा नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालको जवाफ समेटिएको छ ।

भुसालले कान्तिपुरसँग भनेका छन्, ‘अरिंगालको जस्तो सामुहिकता खोज्नेले आफूले पनि त्यही शैली अपनाउनुपर्छ तर पार्टीभित्र अहिले सामुहिकता हराएको छ । के हुँदै छ, के गरिँदै छ, कसैलाई थाहा हुँदैन । अनि उहाँले गरेका कामको स्वामित्व अरुले कसरी लिन सक्छन् ?’

दुई सय रुपैयाँ ऋणले एक वर्ष जेल

प्रतीकात्मक तस्वीर

कान्तिपुर दैनिकमै साहुलाई दुई सय रुपैयाँ ऋण चुकाउन नसक्दा धनुषाका एक दलित एक वर्षका लागि जेल चलान भएको समाचार छ ।

समाचारमा लेखिएको छ- खंगले गाउँकै बिक्रु भनिने विक्रम यादवसँग २०४६ साल साउन १५ गते घर खर्चका लागि १ हजार ऋण लिएका थिए । स्थानीय चलनअनुसार महाजन यादवले उनीसँग मूलधनको तीन गुणा (३ हजार)को कपाली तमसुक बनाए । ऋण लिएको ९ महिनापछि २०४७ साल जेठ ९ गते उनले ८ सय विक्रुलाई फर्काए । २ सय मूलधन तथा २ सय ७० व्याजसहित कुल ४ सय ७० रुपैयाँ तिर्न बाँकी थियो । तर २०४९ साल भदौ १५ गते २९ हजार मूलधन राखी अर्को कपाली तमसुक बनाइयो । उनले यति पैसा तिर्न मानेन् । मुद्दा पर्‍यो । २०६३ साल पुसमा जिल्ला अदालत धनुषाले उक्त रकमको साँवा-ब्याज गरी १ लाख ६५ हजार बिगो भराउने फैसला सुनायो । झण्डै १० वर्षसम्म फैसला कार्यान्वयन हुन नसकेको त्यही मुद्दामा खंग आइतबार जेल चलान भएका हुन् ।

खंगलाई जिल्ला अदालत पुर्‍याउन गाउँका ७ जना दलितसँगै आएका थिए । ‘हामी स्नान र पूजा गरी गाउँको शिवमन्दिरमा भेला भयौं र भगवान शिवलाई साक्षी राखी सीधै जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं,’ स्थानीय कुशेश्वर मेस्तरले भने ।

जनकपुर उपमहानगरपालिका १८, कुवा रामपुरका ६० वर्षीय राधाकृष्ण खंग (खत्वे)ले आइतबार जिल्ला अदालत धनुषामा हाजिर भई आफूलाई जेल चलान गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment