Comments Add Comment

एक वर्षसम्म पनि सुरु भएन गोरखा अस्पतालको भवन निर्माण

१ असोज, गोरखा । सम्झौता भएको एक वर्ष वितिसक्दा पनि जिल्ला अस्पताल गोरखाको नयाँ भवन निर्माण कार्य सुरु हुन सकेको छैन ।

जीर्ण बन्दै गएको अस्पतालको भवन भूकम्पले थप क्षती पुर्‍याएपछि जर्मन डेभलपमेन्ट बैक (केएफडब्लु) ले एक वर्षअघि नै भवन निर्माण गर्ने सम्झौता गरेको थियो । तर, अस्पतालले ठाउँ उपलब्ध गराउन नसक्दा भवन निर्माणको काम सुरु हुन नसकेको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक प्रनय उपाध्यायले बताए ।

‘भूकम्प पश्चात गोरखा, रसुवा, जिरी र रामेछापको चार वटा अस्पताल भवन बनाउन दश मिलियन डलर दिने सम्झौता केएफडब्लुले अर्थ मन्त्रालयसँग गरेको थियो,’ उनले भने, ‘तर अस्पतालले ठाउँ उपलब्ध नगराएकै कारण काम सुरु हुन सकेको छैन ।’

स्थानीय निकायसँगको समन्वयमा ठाउँ खाली गर्नका लागि स्वास्थ्य मन्त्रालयले पत्र पठाएपनि अस्पतालले चासो नदिएको उनको आरोप छ । ‘भवन निर्माणका लागी अस्पतालले ठाउँ क्लियर गरिदिनुपर्छ, तर पत्र पठाएको ६ महिनासम्म पनि केही वास्ता गरेका छैनन् ।’ उनले भने ।

ठाउँ ‘क्लियरिङ’ को प्रतिवेदन आएपछि काम सुुरु गरिने उनले बताए । अस्पतालले ठाउँ नदिएकै कारण टेण्डर प्रक्रिया रोकिएको उपाध्यायको भनाइ छ । ठाउँ उपलब्ध भएसँगै ठेक्का सम्झौता गरेर काम सुरु गरिने उनले जानकारी दिए ।

पुरानो भवन भत्काएर ठाउँ उपलब्ध गराउन मन्त्रालयले रकम नदिएका कारण समस्या भएको अस्पतालले जनाएको छ । ‘पुरानो भवन भएकै ठाउँमा नया भवन बनाउने हो, ठाउँ खाली गर्न भवन भत्काउनुपर्‍यो, भत्काउनु अघि फेरि भइरहेको सेवा दिनका लागि अन्यत्र व्यवस्था गर्नुपर्‍यो, यो सबैका लागी पैसा चाहियो नी त ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भने ।

मन्त्रालयले पैसा उपलब्ध नगराएकै कारण भवन भत्काएर ठाउँ खाली गर्न नसकिएको उनले बताए । ‘अस्पतालको नयाँ बन्ने भवनको नक्सा पास भइसकेको छ, भत्काउने र बनाउने काम त एउटै प्रोजेक्ट भित्र पर्छ, भत्काउनका लागी पनि पैसा दिनुपर्‍यो नी !,’ डा. तिवारीले भने ।

सरकारी भवन भएकाले भत्काउने सहमतिका लागी मात्र मन्त्रालयले चिट्ठी पठाएको तर रकम नदिएको उनको गुनासो छ ।

भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समेत समस्या भएको अस्पतालले जनाएको छ । ‘अहिले अस्पतालमा बिरामीको चाप बढी छ, फेरि सुत्केरी संख्या पनि बढेको छ,’ उनले भने, ‘भवन अभावका कारण ठाउँ साघुँरो भएको छ, सेवा दिन पनि समस्या छ ।’ अप्रेशन पश्चात बिरामीलाइ राख्ने ठाउँ अपुग हुदा समस्या भएको अस्पताल प्रमुख डा. तिवारीले बताए ।

नयाँ भवन निर्माणका लागी हाल अस्पतालमा रहेको इमरजेन्सी, अपरेशन थि्रयटर, ल्याव वाहेका अन्य भवनहरु भत्काइने अस्पतालले जनाएको छ ।

करिब २० देखि ३० करोडको लागतमा ५० शैयाको भवन निर्माण हुने सम्झौता भएको छ । जिल्लाका अस्पतालमा रहने सबै सामाग्री र आवश्यस सेवाका लागि सबै कक्षसहितको भवन निर्माण गर्न लागिएको हो ।

बि.सं. २०२९ सालमा सेवा शुरु गरेको अस्पतालको भवन २०४२ सालमा निर्माण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment