+
+
Shares
रेशम चौधरीसँग वार्ता :

‘सरकारमा जाने लालचले जनतामा निराशा छायो, सबै गोलमाल भयो’

जिन्दगीभरि राष्ट्रिय गीत गाएँ, तर देशद्रोहीको पगरी लगाइदिए : रेशम चौधरी

मन्त्रीमण्डलसँग म असन्तुष्ट छु । मैले नागरिक उन्मुक्ति पार्टी खोलेको भनेको भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको सिद्धान्तलाई स्थापित गर्नका लागि हो । मेरा त ती मागहरू म जेलबाट बाहिर निस्केपछि पनि लागू भएनन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते २१:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले केन्द्र र प्रदेश सरकारबाट बाहिरिने बताएका छन्।
  • उनले पार्टीका नीति र निर्णय सरकारमा रहँदा कार्यान्वयन नहुँदा जनतामा निराशा र असन्तुष्टि बढेको बताए ।
  • रेशम चौधरीले अनलाइनखबरसँग भने- अहिले म किताब लेख्दै छु, समुदायमा आधारित समाजवाद भन्ने । त्यो अन्तिम टुङ्गोमा पुर्‍याएँ । अनि एउटा फिल्म पनि लेखेर सिध्याएँ । जिन्दगीभरि राष्ट्रिय गीत गाएँ, तर देशद्रोहीको पगरी लगाइदिए ।

२० असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी हाल बर्दियामा छन् । विहीबार दिउँसो घरमै बसेर गीत लेखिरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फोन गरेर नाउपाबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेको जानकारी दिए । अन्तिम अन्तरा बाँकी रहेको रेशमको गीत अपुरै रह्यो ।

उनले मन्त्री रामेश्वरलाई फोन गरे, श्रीमती रञ्जितालाई फोन गरे अनि फेरि मुख्यमन्त्री शाहलाई । तर रामेश्वरलाई मन्त्रीबाट हटाउनुपर्नाको चित्तबुझ्दो कारण पाएनन् । अनि केन्द्र र प्रदेश दुवै तहका सरकारबाट हटेर प्रतिपक्षमा बस्ने निर्णय गरे । अनि फेसबुकमा लेखे– ‘अब हामी प्रतिपक्षमा बस्छौं…।’

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) र संरक्षक रेशम चौधरी दुवैले अनलाइनखबरसँगको जिज्ञासामा आजै सरकार छाड्ने बताएका छन् ।

यसै सन्दर्भमा नाउपाका संरक्षक चौधरीसँग अनलाइनखबरकर्मी विनोद घिमिरेले टेलिफोनमा कुराकानी गरेका छन्–

तपाईंहरु प्रदेश सरकारबाट मात्र बाहिरन लागेको हो कि केन्द्रबाट पनि ?

बाहिरिएपछि सबैबाट बाहिरिने नि । म पार्टीको संरक्षक भएको नाताले मैले दिने सल्लाह के हो भने प्रदेश र केन्द्र सरकार दुवैबाट बाहिरिनुपर्छ ।

कहिले बाहिरिने ?

बाहिरिन ढिलो किन गर्ने ? आजै बाहिरिने नि । यो मेरो सुझाव हो । औपचारिक निर्णय त संसदीय दलको नेता, पार्टी अध्यक्ष रञ्जिताले गर्नुहोला । प्रदेशको संसदीय दलको नेतालाई पनि बाहिरिन भनिसकेका छौं । प्रतिपक्षमा बस्ने भएपछि अब कसरी जाने भनेर हाम्रा सबै १६ जना सांसदलाई २२ गतेको संसदीय दलको बैठकमा पनि बोलाएका छौं ।

तपाईंहरुबीचमा कुरा मिल्दैन । तपाईंका निर्देशन कार्यान्वयन नभएका उदाहरण पनि छन् । सरकारबाट बाहिरिने तपाईंको सुझाव कार्यान्वयन होला ?

पार्टीमा बहस छलफल हुन्छ । कसैले खटपट भनेर बुझ्ला, कसैले सल्लाह गरेको भनेर बुझ्ला । तर एउटा राजनीतिक पार्टी राजनीतिक नीति सिद्धान्तमा चल्छ नि । पार्टीले गरेका निर्णय सबैले कार्यान्वयनमा लैजानुपर्छ ।

सरकारबाट बाहिरिने परिस्थिति कसरी बन्यो ?

थाहा छैन, कसरी बन्यो । हिजो अचानक अनलाइनमा हेरेर बर्खास्तको कुरा थाहा पाएँ । मुख्यमन्त्रीजीको फोन पनि आयो । मैले के हो कारण भनेर सोधें । उहाँले विभिन्न कारण छन् भन्नुभयो । मैले तपाईंले यसरी हटाउन सक्नुहुन्न भनें । उहाँले भेटेर कुरा गर्छु भन्नु भएको छ । उहाँ मलाई भेट्न आउँदै हुनुहुन्छ ।

तपाईंको पार्टीबाट मन्त्री बनेकाले केही न केही नगरी त मुख्यमन्त्रीले यतिकै त कहाँ बर्खास्त गर्छ त ?

हामीलाई हिजोको दिनमा जसरी हेपिएको थियो, अहिले पनि त्यही तरिकाले हामीले हेपिएको महसुस गरेका छौं । त्यही भएर केन्द्र र प्रदेश सरकारबाट बाहिरिने भनेका हौं ।

हाम्रो मन्त्रीको यदि मिस्टेक गरेको छ भने अख्तियारमा बुझाइदिनुस्, कारबाही गर्नुस्, जेल हाल्दिनुस् । बुझाइदिनुस् थानामा । तर यत्तिकै आफूलाई लाग्यो भन्दैमा सरकारमा बोलाउने, हटाउने गर्न चाहिँ पाइँदैन । आफ्नो मनलागी, आफ्ना केही स्वेच्छिक कुराहरू पूरा गर्नका लागि हटाउन पाइँदैन ।

मन्त्रिपरिषदमा जिम्मेवारी तोक्ने, गठन, पुनर्गठन गर्न त मुख्यमन्त्रीले गर्न पाउँछ नि ?

हामी गठबन्धनमा भएकाले मुख्यमन्त्रीले यसरी एकलौटी रुपमा गर्न पाउनुहुन्न । हामी त सरकारमा सहकार्य गरेर, वार्ता गरेर गएका हौं नि । वार्ता गर्दाचाहिँ शेरबहादुर, केपी ओली चाहिने । अनि हाम्रा मान्छेलाई कारबाही गर्दाचाहिँ मुख्यमन्त्रीले दनादन गर्ने तपाईंलाई इच्छा लाग्यो भन्दैमा बिना कारण हटाइदिने ? त्यसको एउटा मापदण्ड हुन्छ नि । गठबन्धनको एउटा प्रक्रिया हुन्छ नि ।

गठबन्धनमा छलफल भएको छैन ?

मलाई जानकारीमा छैन । गठबन्धनको एउटा धर्म हुनुपर्यो । छलफल हुनुपर्यो, कुराहरू आउनुपर्यो, कमीकमजोरीहरू भएको भए त्यो कुरा आउनुपर्यो ।

केही न केही त होला । तपाईंलाई चाहिँ के कारण होला जस्तो लाग्छ ?

हामीलाई हिजोको दिनमा जसरी हेपिएको थियो, अहिले पनि त्यही तरिकाले हामीले हेपिएको महसुस गरेका छौं । त्यही भएर केन्द्र र प्रदेश सरकारबाट बाहिरिने भनेका हौं ।

 सरकारमा अहिलेसम्मको सहभागितालाई कसरी समीक्षा गर्नुहुन्छ ?

म त जेलमै हुँदादेखि नै यो सरकारमा जान नरुचाएको मान्छे हो । किनभने जनताले हामीलाई सरकारमा समावेश हुने म्यान्डेट नै दिएको छैन । तर, तर प्रचण्डजीले के भन्नुभयो भने रेशम जी, यो सहभागिता हामीलाई चाहिन्छ, यो सहभागिताले अलि त हामी चाहिँ बलियो हुन्छौं भन्नुहुन्थ्यो । त्यसपछि मैले रञ्जिता जीलाई पठाइदिएको हो ।

तर जनताले हामीलाई सरकारमा जाने म्यान्डेट नै दिएका छैनन् भनेमा म अडिग नै थिएँ । पछि हाम्रो पार्टीका अरु सांसद, नेताहरुमा पनि लोभलालच आयो । हामीले प्रतिपक्षको सिटमा बसेर खबरदार गर्नुपर्थ्यो । तर सरकारमा जाने लालचले जनतामा निराशा छाउन थालिसक्यो । हामीले जनताको भावनामा कहिले पनि खेलबाड गर्नु हुँदैन भन्ने महसुस भएको छ । सरकारमा गएर जनताको काम गर्न नसक्दा सबै गोलमाल भएको छ ।

भन्नाले पार्टी सरकारमा सहभागी हुँदा तपाईं असन्तुष्ट हुनुहुन्छ ?

हो । अहिलेसम्म बनेको मन्त्रीमण्डलसँग रेशम चौधरी पूर्ण असन्तुष्ट छ । म असन्तुष्ट छु । मैले नागरिक उन्मुक्ति पार्टी खोलेको भनेको भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयता र समुदायमा आधारित समाजवादको सिद्धान्तलाई स्थापित गर्नका लागि हो । मेरा त ती मागहरू म जेलबाट बाहिर निस्केपछि पनि लागू भएनन् ।

त्यसका लागि के गर्नुपर्थ्यो ?

अन्य बाह्य देशबाट आउने प्लास्टिकका सामग्रीहरू हटाउनुपर्थ्यो ।  हाम्रो ठाउँमा भएका बाँस, काठ, काष्ठकलाका, हिजो काष्ठकलाका पलङहरू, खटियाहरू, हैन, ढकिया, खटौलीहरू, बाँसका कुर्सीहरू, बाँसका टेबलहरू, सीपमूलक तालिम सिकाउनुपर्थ्यो । त्यसो गरे पो रोजगारी सिर्जना हुन्छ । बाहिरबाट तरकारी ल्याउन नदेऊ भनेँ । स्थानीय रुपमा उत्पादित तरकारी यहीँको हाटबजारमा बेच्न लगाऊ भनेँ । तर भएन । भारतबाट मासुजन्य, माछाजन्य आयात बन्द गर भनेको पनि भएन ।

बाहिरबाट आयात रोकेर यहीँका किसानले उत्पादन गरेका माछा, कुखुरा, तरकारी, धान, गहुँ जस्ता कृषि उत्पादनको बजार प्रबन्ध मिलाउन सकेमात्रै पनि धेरै हुन्थ्यो ।

मैले किताब लेख्दै छु, समुदायमा आधारित समाजवाद भन्ने । त्यो अन्तिम टुङ्गोमा पुर्‍याएँ । अनि एउटा फिल्म पनि लेखेर सिध्याएँ । तर चुप लागेर आफ्नो काम पनि गर्न दिँदैनन् । जिन्दगीभरि राष्ट्रिय गीत गाएँ, तर देशद्रोहीको पगरी लगाइदिए ।

तपाईंका एजेण्डालाई सरकार बाहिर बसेर कार्यान्वयनका लागि सरकारलाई दबाब दिन सकिन्थ्यो होला नि ?

मैले प्रधानमन्त्री, मुख्यमन्त्रीज्यूलाई धेरै पटक भनें । बिचौलियाको अन्त्य गर्दिनुस् भने, तर गरेनन् । देश बनाउन धेरै सजिलो छ नि । बिचौलियाको अन्त्य गर्नासाथ फिप्टी पर्सेन्ट जनताले भोलिपल्टबाटै राहत महसुस गर्छन् । तर यहाँ म आफैं माछा पालेर बसेको छु, यताबाट माछा आउँछ ।  कुखुरा पालेको छु, उताबाट कुखुरा आउँछ । म माननीय रेशम चौधरी जस्तोले त खेती गरेर बाँच्ने अवस्था छैन भने सर्वसाधारण किसान कसरी बाँच्ला ?

अब अरुबाट हुँदैन, आफैं सरकारको नेतृत्व गरेर जान्छु जस्तो लाग्छ होला है ?

लाग्छ नि । म त नेपाल परिवर्तन गर्नको लागि भनेर पार्टी खोलेको हो नि । तर के गर्ने ? नेतृत्वमा देख्न चाहँदैनन् । जो घटनास्थल (टीकापुर घटनाको) मै थिएन । त्यही घटनाको योजनाकार भनेर साढे आठ वर्ष जेल हाल्दियो । केही गर्छु भनेर लाग्दा यस्तो राजनीतिक प्रतिशोध सहनुपर्छ, कसरी प्रगति हुन्छ भन्नुस् त ? प्रधानमन्त्री, मन्त्री बन्ने, सरकारी गाडी चढ्ने, सलाम खाने, कमिसन खाएको छ । बिचौलियालाई पोसेको छ । अनि देश कसरी बन्छ ?

अघि तपाईंले बर्दियामा छु भन्नु भएको थियो ? रिसेन्टली के गरिराख्नुभएको छ बर्दियामा बसेर ?

मैले किताब लेख्दै छु, ‘समुदायमा आधारित समाजवाद’ भन्ने । त्यो अन्तिम टुङ्गोमा पुर्‍याएँ । अनि एउटा फिल्म पनि लेखेर सिध्याएँ । तर चुप लागेर आफ्नो काम पनि गर्न दिँदैनन् । जिन्दगीभरि राष्ट्रिय गीत गाएँ, तर देशद्रोहीको पगरी लगाइदिए ।

केही न केही नभइकन यत्तिकै कसैमाथि आरोप लाग्छ र ?

लाग्यो त । मलाई लाग्यो । अरुलाई पनि देख्नु भएको छ प्रतिशोधमा केके भएको छ । नयाँले केही गर्न खोज्यो कि कमजोर बनाउन लागिहाल्छन् । नयाँ आउने पार्टीहरूलाई त कामै गर्न दिँदैनन् । रास्वपा, नाउपालाई त सिध्याउनै लागे नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?