Comments Add Comment

दार्चुलामा पहिरो : अपी हिमाल आरोहण टोली फिर्ता, चामलको भाउ आकाशियो

१ असोज दार्चुला । दार्चुलाको दुम्लिङ-व्याँस जोड्ने घोडेटो बाटो पहिरोले अवरुद्ध हुँदा अपी हिमाल चढ्ने आरोही र सर्वसाधारण मर्कामा पारेका छन् ।

व्याँस गाउँपालिका वडा नम्बर १ र २ जोड्ने यो बाटो पहिरोले ठाउँ ठाउँमा हिँडडुल गर्नै नसक्ने हुँदा आवतजावतसमेत बन्द भएको छ ।

जिल्लाको उत्तर पश्चिम सीमा नजिकै रहेको यो बाटोले नेपाल, भारत र चीन त्रिदेशीय सीमा क्षेत्र व्याँस गाउँपालिकाको तिंकर जोड्छ ।
व्याँस गाउँपालिका २ तम्पाकु र थीभीर क्षेत्रमा पहिरोका कारण बाटो अबरुद्ध भएको वडाध्यक्ष धिरनसिँह बुढाथोकीले जानकारी दिए ।

अपी हिमाल आरोहण टोली फिर्ता

२० वर्षपछि अपी हिमालको आरोहणका लागि गएको पर्वतारोही टोली पहिरोका कारण फिर्ता भएको छ । सदरमुकाम खलंगाबाट भदौ २७ गते हिमाल आरोहणका लागि गएको चेक रिपब्लिकको टोली आधार शिविरमै नपुगी फर्किएको हो ।

७ हजार १ सय ३२ मिटर अग्लो हिमाल आरोहण दलमा ८ जना विदेशी नागरिकसहित नेपाल पर्यटन बोर्डका अधिकृत प्रेमकुमार पन्थी र कुबिर तमाङ पनि थिए ।

दुईओटा वैकल्पिक रुट

अपीहिमाल गाउँपालिकामा पर्ने अपी हिमाल आरोहणका लागि जिल्लामा ३ ओटा रुट रहेका छन् । खलंगाबाट हुती, सुन्सेरा, राप्ला, व्यास हुँदै अपिको आधार शिविर पुगिन्छ । नेपाल, भारत र चीनको त्रिदेशीय सीमाक्षेत्र पर्ने हुँदा विदेशी आरोहीको प्राथमिकतामा यो बाटो पर्दैन । चेक रिपब्लिकको टोलीले भने यही बाटो प्रयोग गरेर आधार शिविरको यात्रा तय गरेको थियो ।

अर्को बाटो खलंगाबाट खार, सिप्टी र सितोला हुँदै अपीको आधारशिविर पुग्न सकिन्छ । सुन्दर दृश्यावलोकन गर्दै आधारशिविर पुग्न सकिने भए पनि बाटो र वासको व्यवस्था नहुँदा यो पर्यटक र आरोहीको रोजाइमा पर्दैन ।

त्यस्तै, तेस्रो बाटोको रुपमा गोकुलेश्वरबाट लटिनाथ, गुल्जर, घुसाको बाटो प्रयोग गर्न सकिन्छ । यो रुटबाट ४ दिनमै आधार शिविर पुगिन्छ । प्रायः अपी आरोहण र ट्रेकिङमा आउने पर्यटकले यही बाटो प्रयोग गर्दै आएका छन् ।

यहाँ पर्यटकको मन लोभ्याउने थुप्रै जीवजन्तु, प्राकृतिक स्रोत साधनले भरिपूर्ण भए पनि यातायातको असुविधा, पर्यटकीय पदमार्गको अभाव, दक्ष गाइड र उपयुक्त बसोबासको व्यवस्था, पर्यटकीय क्षेत्रको प्रचारप्रसार अभावलगायत कारणले पर्यटक अपि नाम्पा संरक्षण क्षेत्रमा पुग्न सकेका छैनन् ।

जिल्लाकै एकमात्र गोकुलेश्वर विमानस्थलको सञ्चालन, पर्यटकीय पदमार्ग निर्माण र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुनसके पर्यटकको लागि अपी हिमाल र अपी नाम्पा संरक्षण क्षेत्र उचित गन्तव्य बन्न सक्ने पर्यटन कार्य समूहका अध्यक्ष सुरेन्ऽबहादुर पालको भनाइ छ ।

७८ वर्षमा ९ आरोहण टोली

अपी सुन्दर हिमाल भए पनि चढ्नेहरू भने कमै छन् । सन् १८९९ मा पहिचान भएको अपी हिमाल चढ्न सन् १९५३ मा मात्रै पहिलोपटक स्कटल्यान्डका एचडब्लू मुरेले प्रयास गरेका थिए । उनी सफल नभए पनि सन् १९६० मा जापानको अल्पाइन क्लबको टोलीले आरोहण गरेको थियो । त्यसयता नौवटा टोलीले अपीको आरोहण प्रयास गरेका छन् ।

तीमध्ये सात टोलीका २३ जना आरोही शिखरमा पुग्न सफल भएका छन् । पछिल्लोपटक सन् २०१५ मा जापानको टोलीका तीन सदस्यले सफल आरोहण गरेका थिए ।

आधार शिविरसम्म पुग्ने बाटो राम्रो नभएकाले रोजाइमा नपर्ने गरेको अपीनम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । त्यस्तै, पर्यटकलाई वासको व्यवस्था पनि नभएको उनको भनाइ छ ।

अपीको प्रचारप्रसार हुन नसकेका कारण पर्यटक आउन नसकेको नेपाल पर्वतारोहण संघ अपी हिमाल शाखाका अध्यक्ष देवसिंह धामीले बताए ।

घुसा खण्डेश्वरी क्षेत्रमा पर्यटकलाई बसोवासको व्यवस्था गर्न थालिएको अपिनाम्पा उपभोक्ता समितिका सदस्य पोखरसिंह रोकायले बताए । यो बाटो प्रयोग गर्दा गोकेलेश्वर-पारीबगडसम्म सवारी साधन प्रयोग गर्न सकिने अवस्था छ ।

तिंकरमा चामलको भाउ आकाशियो

दुम्लिङ-व्याँस जोड्ने बाटो अबरुद्ध हुँदा व्याँस गाउँपालिका १ व्याँस क्षेत्रमा चामलको भाउ आकाशिएको छ । तिंकरमा चामलको प्रतिकिलो १ सय ५० रुपैयाँ तिर्नुपरेको नौगाड गाउँपालिकाका वासिन्दा हरकसिँह ठगुन्नाले बताए ।

व्याँस गाउँपालिकाको तिंकर क्षेत्रमा भेडा बाख्रा चराउदै आएका उनले बाटो अवरुद्ध हुँदा त्यस क्षेत्रमा खाद्यान्नको मूल्यवृद्धि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment