+
+
Shares

उपन्यास अंशः युवा बिग्रिए बिहे गरिदेऊ !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते ८:४०

साँझपख आँखा खुले । टाउको गह्रौँ भएको आभास भयो । उठ्न खोजेँ । तर, सकिनँ ।

आकाशले सुनाएको प्रसूनाको बिहे हुने कुरा मन–मस्तिष्कमा सलबलाउन थाल्यो । शरीरमा कम्पन महसुस भयो । आँखाबाट आँसुका धारा बगे । एनआरएनका लागि उसले मेरो प्रेमको बलि दिएकी थिर्इ । जुन कुरा मेरा लागि असह्य थियो, पीडादायी थियो ।

मलाई विश्वास लागेन । उसले खाएका वाचा, कसमहरू याद आए । मसँग बिताएको पहिलो रात याद आयो । त्यस बेला उसले भनेका कुराहरू याद आए ।

पानीको जसरी कुनै आकार, प्रकार हुँदैन, मायाको पनि केही भर हुँदैन भन्थे, हो रहेछजस्तो लाग्यो । जसरी मोड्यो त्यतै मोडिने । जहाँ राख्यो, त्यसकै आकार लिने । हामीमा रहेको प्रगाढ माया, एक–अर्काबिना बाच्नै नसक्ने गरी जोडिएको सम्बन्ध अनि सजाइएका मीठा सपना । एकैछिनमा चकनाचुर भए । हो, मेरा सपना उसले चकनाचुर पारिदिई । आफ्नो नयाँ संसारका लागि ।

प्रसूनाले मलाई धोका दिएर एनआरएन रोजेपछि बाँच्नुको कुनै अर्थ छजस्तो लागेन । मरिसकेको मान्छेलाई जगाएर उसले अन्तिममा त्यही मसानघाटमा लगेर छाडिदिई । एक्लो, बेसहारा बनाएर । उसले हात समाएर नउठाएको भए मेरो साथमा रक्सी र चुरोट त हुन्थे ।

बिहान आकाशलाई भेट्न उसकोमा गएको थिएँ । त्यहाँबाट निस्किएपछिको क्षण सम्झन थालेँ । त्यहाँबाट निस्किएर नजिकैको होटलमा छिरेको, भर्जिन र चुरोट पिएकोसम्म याद थियो । त्यसपछि केही याद आएन ।

त्यहाँ के भयो, कसरी घरसम्म आएँ ? भन्ने प्रश्न मनमा खेलिरह्यो ।

त्यत्तिकैमा आकाशको फोन आयो । ‘होस खुल्यो ?’ फोन उठाउनासाथ उसले सोध्यो ।

‘कस्तो होस् ?’ मैले प्रश्न गरेँ ।

‘रक्सी धेरै खाएर होटलमै पल्टेको थिइस् । म गएर तलाई घरसम्म लगिदिएको हुँ । ममी तेरो त्यस्तो हालत देखेर निकै निराश हुनुहुन्छ ।’ उसको कुरा नसकिँदै मैले फोन काटिदिएँ ।

मलाई अञ्जलीको निकै याद आयो । बिचरी अञ्जली, मैले उसको भावनासँग खेलबाड गरेको थिएँ । उसले मलाई कति धेरै माया गर्थी । त्यसको बदलामा मैले उलाई के दिएँ ? विश्वासघात । धोका ।

त्यसकै बदलास्वरूप प्रसूनाले मसँग मायाको नाटक गरेकी त होइन ? मैले पनि त स्वस्तिकासँगको बदला लिनका लागि अञ्जलीसँग मायाको नाटक गरेको थिएँ । मैले उसको चोखो प्रेमलाई रङ्गमञ्चमा प्रस्तुत गरिने नाटक जस्तै काल्पनिक र म त्यस नाटकको धोकेबाज पात्र बनेर निभाएको थिएँ, कतै प्रसूनाले पनि…? मनमा विभिन्न प्रश्नहरू खेलिरहे ।

एउटी नारीकोे जीवनसँग खेलेर उसलाई ‘युज एन थ्रो’ गर्नु मेरो ठूलो भुल थियो । आफ्नो गल्तीको प्रायश्चित गर्न मोबाइल झिकेर अञ्जलीलाई फोन गर्न खोजेँ । तर, उसको नम्बर मसँग थिएन । कुनै समय महत्वहीन भनेर मेटाइदिएको त्यही चिज पुनः उत्ति नै महत्वपूर्ण बनिदिन्छ भन्ने के थाहा ? तर, जब म अञ्जलीको नम्बरका लागि तड्पिएँ र जति तड्पिए पनि पाउन सकिनँ सो कुरा महसुस भयो ।

‘जाबो नम्बर नपाउँदा त म यसरी तड्पिएको छु भने उसले मलाई नपाउँदा कति तड्पिई होली ?’ मनमनै सोचेँ । हात, टाउको पालैपालो भित्तामा बजारेँ । बजारिरहेँ ।

ममीबुबासँगै कोठामा छिर्नुभयो । मैले हत्तपत्त आँसु पुछेँ । दुवै मिलेर निकै गाली गर्नुभयो । सम्झाउनुभयो । बिहानै छोरो रक्सीले मातेर अरूले बोकेर घरमा ल्याएको देख्दा खुसी हुने कसका बाबुआमा होलान् र ?

बिहे गरेपछि सुध्रिन्छ भन्दै बुबाले बिहेको कुरा निकाल्नुभयो । ममीले पनि होमा हो थप्नुभयो । अब बिहे नगरी म न त काठमाडौँ जान पाउने भएँ, न खर्चका लागि पैसा नै ।

उहाँहरु कोठाबाट गएपछि कापीमा अञ्जलीको नाममा एउटा पत्र लेखेँ । अनि उसको भट्टी पसलतिर लागेँ । त्यही भट्टी पसल जहाँ रक्सी खाने बहानामा म घण्टौँ उसलाई हेरेर बस्थेँ । त्यही भट्टी पसल जहाँ मैले आफ्नो कौमार्य र उसको कुमारित्व तोडेको थिएँ । हो, त्यही भट्टी जहाँ मैले अञ्जलीलाई प्रेमप्रस्ताव राखेको थिएँ अनि बिछोडको पत्र छाडेको ।

भित्र छिर्नासाथ मेरी अञ्जली देखिई । कति दुब्लाएकी रहिछे ऊ । भन्न मन थियो, ‘अञ्जली अब तिम्रा दुब्लाउने दिन गए । हो, म तिमीलाई लिन आएको । हामीले छुट्टै संसार बसाउनुपर्छ ।’ सायद भन्थेँ पनि होला, तर उसको बाबु त्यही भएकाले केही बोल्न सकिनँ ।

मलाई देख्नासाथ ऊ त्यहाँबाट कोठाभित्र छिरी । मैले बियर र चुरोट मगाएँ ।

‘खान छाडेको होइन र ?’ उसको बाबुले मतिर हेर्दै भन्यो । म नसुनेझेँ गरेर बसिरहेँ ।

खेल्दै गरेको अञ्जलीको भाइलाई बोलाएँ । ऊ मेरो नजिक आयो । उसको हातमा बीस रुपैयाँ थमाइदिएँ । र, चिठी दिँदै ‘दिदीलाई दिनु है’ भनेर त्यहाँबाट निस्किएँ ।

घरमा आएर प्रसूनाले दिएको वाटर प्रुफ बोल्यानो घडी ढुङ्गाले हानेर फुटाइदिएँ । फोनबाट उसका म्यासेज र फोटाहरू सबै डिलिट गरेँ । अनि अञ्जलीले मायाको सौगातस्वरूप दिएको उपहार लगाएँ । कान्छीऔँलामा औँठी घुसारेपछि एक पटक चुमेँ । अनि अञ्जलीसँगका ती दिनहरू सम्झिएर टोलाउन थालेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?