Comments Add Comment

दशैंको कपडा बाटोमै छ !

१० असोज, काठमाडौं । सुपरमार्केट तथा पसलहरुमा दशैंका लागि सपिङ गर्नेहरुको चहलपहल सुरु भइसकेको छ ।

व्यापारीहरु याे सिजनमा धेरै व्यापार हुने आशामा हुन्छन्  । कपडा, जुत्ता, खाद्यान्नलगायतका व्यापारीहरु त वर्ष भरीकै राम्रो आम्दानी गर्ने सोचमा हुन्छन् । तर, यसवर्ष भने चिनियाँ सामानका व्यापारीहरु तनावमा छन् ।

अघिल्लो वर्षमा असोज पहिलो सातादेखि नै मारामार व्यापार भएको थियो । तर, योपटक असोजकाे दोस्रो साता शुरु भइसक्दासमेत व्यापार फष्टाउन नसकेको व्यापारीहरु बताउँछन् । यसको एउटै कारण हो–चीनबाट कपडा बोकेका ट्रक–कन्टेनर आउन नसक्नु ।

विनाशकारी भूकम्पपछि बन्द भएको तातोपानी नाका अझैसम्म खुलेको छैन । चिनियाँ सामान आयात गर्ने एउटा मात्र नाका केरुङ जाने बाटो पहिरोले अवरुद्ध भयो । बाटो खुलाउन झण्डै एक महिना लाग्दा दशैंका लागि लक्षित गरेर मगाइएका सामानहरु सीमा पारी नै थन्किएको व्यवसायीहरु बताउँछन् ।

चिनियाँ सामानहरु आउन नसक्दा व्यापार फष्टाउन नसकेको राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष एवं कोटेश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा बताउँछन् । दैनिक रुपमा जति सामान नेपाल भित्रिनु पर्ने हो त्यसअनुसार नआएको भन्दै उनले व्यवसायीहरुका लागि यस वर्षको दशैं उल्लासमय नहुने देखिएको बताए ।

प्रकृतिले नै साथ दिएनः अध्यक्ष पौडेल

चीनबाट हुने आयातलाई प्रकृतिले समेत साथ नदिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल बताउँछन् । केही समय अघि गएको पहिलोले चनिबाट सामान बोकेर आउने र नेपालबाट जाने ट्रक तथा कन्टेनर बाटोमै रोकिँदा व्यापारमा प्रत्यक्ष असर परेको पौडेलले बताए ।

‘तातोपानी नाका पनि बन्द थियो । केरुङ नाका पनि समयसमयमा पहिरोका कारण अवरुद्ध हुनपुग्यो’ उनले भने, ‘पहिरोका कारण अवरुद्ध सडक खोल्न निकै समय लागेका कारण विगतको जस्तो सामान आयात हुन सकेको छैन ।’

दशैं अगाडि नै आइपुग्नुपर्ने धेरै कन्टेनरहरु यसपाली दशै पछिमात्रै आउने सम्भावना रहेको उनले सुनाए । उनका अनुसार दशै अगाडि २५ सयको हाराहारीमा ट्रक कन्टेनरहरु नेपाल आउनु पर्ने हो तर, अहिलेसम्म थोरै मात्रै आएका छन् ।

‘भन्सार चेकजाँच भनेको नियमित प्रक्रिया हो, जसका कारण ट्रक–कन्टेनर छुट्न समय लाग्छ’ उनले भने, ‘अहिले रोकिएका कतिपय ट्रक–कन्टेनरहरु दशैंपछि मात्रै नेपाल भित्रिने छन् ।’

उनी दाबीका साथ भन्छन्, दशैंमा व्यापार घट्न पक्का हुन्छ । महंगी बढ्नु र व्यपारीहरुले चिनियाँ सामान समयमा ल्याउन नसक्नु यसको कारण भएको उनी बताएँछन् ।

व्यापारीहरुको छाता संस्था राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटवाल भने सरकारकै लापरबाहीका कारण पनि व्यापारीहरु मार्कामा परेको बताउँछन् । ‘दैनिक ५० देखि ६० वटासम्म ट्रक–कन्टेनर नाकाबाट छुट्नु पर्ने हो’ उनले भने, ‘अहिले दैनिक ६ वटा ट्रक–कन्टेनरमात्रै छुट्ने गरेका छन्, अनि कसरी हाम्रो व्यापार हुन्छ ?’ नाकाबाट सामान नआएका कारण व्यापारै गर्न नपाएर पसलमा झिँगा भन्किन थालेको उनी बताउँछन् ।

सरकारले काम गरेर खाने माहोल नबनेको भन्दै सरकारसँग गम्भीर हुन उनले आग्रह गरे ।

चीनबाट नेपाल भित्रिने नाका–नाकामा समेत सिण्डिकेट रहेको अध्यक्ष कटवाल बताउँछन् । ‘चीनबाट नेपाल भित्रिने नाकामै सिन्डिकेट छ’ उनले भने, ‘म नाम त लिन चाहान्न तर, त्यहीँ सिण्डिकेटका कारण व्यवसायीहरु मारमा परेका छन् ।’

पहिरो हटाएर बाटो खुलाउन समेत सरकारले ढिलाइ गरेका कारण समस्या उत्पन्न भएको उनी बताउँछन् । महासंघको तर्फबाट भन्सार कार्यालय, परराष्ट्र मनत्रालय, अर्थमन्त्रालयको ध्यानाकर्षण गराएपछि लामो समयपछि मात्रै बाटो खुलाएको उनको भनाइ छ । चाडपर्वका बेला २४ सैं घण्टा भन्सार हुने व्यवस्था नभएसम्म व्यवसायी मारमा पर्ने भन्दै उनले दशैंका लागि मात्रै भए पनि सरकारले २४ घण्टानै भन्सार गरेर सामान आयात गर्नुपर्ने बताए ।

नेपालीको रोजाइमा चाइनिज सामान

चीनबाट धेरै लत्ता कपडा नै भित्रिने गरेका छन् । चिनियाँ नाकाबाट कपडा, जुत्ता, ब्लांकेटहरु धेरै आयात हुन्छ भने थोरबहुत इलेक्ट्रोनिक्स सामानहरु समेत आयात हुने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष पौडेल बताउँछन् ।

दशैंको बेलामा कपडा तथा जुत्ता धेरै खपत हुने भएकाले पनि व्यवसायीहरु मार्कामा परेका छन् । यस्ता सामानहरु भारतबाट पनि ठूलो मात्रामा आयात हुने भएपनि नेपाली उपभोक्ताको रोजाइमा चिनियाँ सामग्री पर्ने गरेको व्यापारीहरु बताउँछन् ।

चिनियाँ सामाग्रीहरु सस्तो पर्ने भएका कारण पनि नेपालीहरुले खरिद धेरै गर्ने गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा चीनबाट १४ अर्ब ९३ करोड ९२ लाख ४ हजार रुपैयाँ बराबरको सामान नेपालमा आयात भएको ३६ अर्ब ५२ करोड ४१ लाख ५७ हजार रुपैयाँको सामान चीनबाट आयात भएको थियो ।

भन्सारमा नाका यहीँ हिसाबले कडाइ हुने हो भने ५० प्रतिशत पनि आयात नहुने महासंघका अध्यक्ष कटुवाल बताउँछन् । नेपाल आफैंले उत्पादन गर्न नसक्ने र आयात गर्नै पर्ने बाध्यता भएकाले यसतर्फ सरकारले ध्यान दिनु पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment