Comments Add Comment

राधेश्याम दाइले दिएको त्यो बुट

क्रिकेटको कुरा गरौं कि फुटबलको ? कि एथ्लेटिक्सको कुरा गरौं ? मेरा अरु कामका कुरा पो सुनाउँ कि । कुराहरु यति छन्, सबै सुनाउँदा त वर्षौं बित्ला !

७७ वर्षको भएँ । यो उमेरमा कहिलेकाहीँ पछाडि पर्खेर हेर्दा रमाइलो लाग्दो रहेछ । के-के गरियो के-के । सबै त सम्झनामै पनि छैनन् । यद्यपि, कुनै सन्दर्भ निस्किदा झट्ट याद आइदिन्छन् ।

हरेक मानिसको जीवनमा एउटा महाभारत जस्तो कथा हुन्छ । तीन-तीन वटा खेलमा राष्ट्रको प्रतिनिधित्व गरेको एक खेलाडीको कथा त झनै कति रोमाञ्चक होला ?

अरु कुराहरु थाँति राखेर यसपाली फुटबलको कुरा गर्छु । नेपालमा लामो समयपछि लिग फुटबल हुन लागेकोले पनि पुरानो फुटबलमा फर्कदा रमाइलो नै होला ।

०००

म खेलाडी कसरी भएँ ? भन्ने कुरा सुरु गर्दा काठमाडौंको डिल्लीबजारलाई सम्झनुपर्छ ।

म डिल्लीबजारमा नजन्मेको भए सायद यी उपलब्धीहरु पाउने थिइनँ । त्यहाँ नै खेलकुदलाई बुझ्ने मौका पाएँ । नेपाली खेलकुदको उर्बरभूमि हो जस्तो लाग्छ डिल्लीबजार ।

त्यो समय डिल्लीबजार माथिल्लो टोल र तल्लो टोलको रुपमा विभाजित थियो । अहिले विजय मेमोरियल माध्यमिक विद्यालय रहेको भवन कुनै बेला तत्कालिन राणा प्रधानमन्त्री भीमशम्शेरकी भान्जी भीमदिव्येश्वरीको दरबार थियो । म जन्मेको-हुर्केको त्यहीँ हो । मेरी आमालाई भीमदिव्येश्वरीले धर्मपुत्रीका रुपमा पालन-पोषण गरेकाले भएर मेरो बाल्यावस्था त्यो दरबारमा बित्यो ।

मेरो बुबा तल्लो टोलमा बस्ने हुनाले उहाँसँग पढ्नका लागि म जाने गर्थें । तल्लो डिल्लीबजारमा जाँदा बिहान ६ बजे नै भोगटे, टेनिस बल, झुम्रोको बल, पोकोसोको हिर्काउन सुरु भइसकेको हुन्थ्यो । त्यो बेलामा मोटर गाडी धेरै थिएनन् । एक घण्टामा एउटा मोटर आउँथ्यो होला । मोटर आउँदा एकछिन छेउ लागेर बसेपछि घण्टौं सडकमै फुटबल चल्थ्यो ।

फुटपाथ जति केटाकेटीको कब्जामा हुन्थ्यो । मुख्य सडकमा भने ठूला मान्छे खेल्थे । सडक, फुटपाथ सबै भरिएको हुन्थ्यो । सडक भनेपछि पिच रोड सम्झनुभयो होला । त्यस्तो होइन । त्यो बेला त धेरै कच्ची सडक नै हुन्थे । उबडखावड सडकमा जोसिएर खेल्दा खुट्टामा घाउ भएर विजोग नै हुन्थ्यो । यति तन्मयका साथ खेलिन्थ्यो कि कुरै नगर्नुस् ।

बिहान ८, साढे ८ बजे त्यो फुटबल सकिन्थ्यो । किनभने स्कूल त जानै पर्‍यो । स्कूल नजानेको पनि अरु केही न केही काम भइहाल्थ्यो ।

हेर्दा हेर्दै म पनि हरेक बिहान त्यसमा लागिसकेको थिएँ । त्यसरी नै झुम्रो भोगटेबाट खेलेको हाम्रो फुटबल अब भने लात्ती बलमा पुग्दै थियो । त्यो बेला फुटबलको भित्री बाहिरी भन्ने हुन्थ्यो । भित्री फुटेपछि कतिले त्यो बाहिरी फालेका हुन्थे । टुन्टी कस्नेवाला बल हो त्यो ।

त्यही बलको बाहिरी भेट्टाएर एकपटक हामीले चार खाल अड्डाबाहिर फालेका नेपाली कागजका टुक्रा कोचेर त्यसलाई सिलायौं । झुम्रो, पराल पनि त्यसमा कोचेका थियौं । त्यसैलाई हामी लात्तीबल भन्थ्यौं ।

त्यस्तो बललाई कसेर हान्दा खुट्टा कस्तो दुख्ला । भित्र हावा हालेर बनाउनुपर्ने बलमा कागज कोचेर हान्दा त खुट्टा झनन भइहाल्थ्यो ।

०००

सडकमा खेल्दाखेल्दै हामी ठूला दाइहरुले डिल्लीबजारमा खेल्ने दुई तीन-वटा खुला ठाउँमा पनि जान थाल्यौं । एउटा पद्मकन्या क्याम्पसको चौर, अर्को चारखाल अड्डानेरको गुर्जुको चौर र तेस्रो चारखाल अड्डाभित्रको चौर । चौरमा नै गएर खेल्ने भएपछि हामीले त्यो झुम्रो, र कागज कोचेको बल छाडेर साँच्चैको फुटबल किन्ने सोच्यौं ।

हामी पसल खोज्दै इन्द्रचोकमा गयौं र सोध्यौं । एउटा फुटबललाई पाँच रुपैयाँ पर्ने रहेछ । त्यो ठूलो होइन, एक नम्बरको बल थियो । हामीले साथी-साथीबीच पैसा उठाएर त्यो बल किन्यौं ।

बिहान ११ बजे बल किन्न गयौं र बेलुका ४ बजे खेल्न गयौं । त्यो पनि कहाँ भने टुँडिखेलमा । हामी पुग्दा टुँडिखेलमा भिड यति थियो कि हामीले खेल्ने ठाउँ नै पाएनौं ।

टुँडिखेल पनि अहिलेको जस्तो सानो थिएन । रत्नपार्कमा एउटा सानो बाटो थियो । त्यसको छेउमा भक्तपुर जाने ट्रलीहरु रोकिराखेको हुन्थ्यो । त्यहाँदेखि अहिले दशरथ रंगशाला भएकोसम्म एउटै टुँडिखेल थियो । त्यत्रो टुँडिखेलमा खेल्ने मान्छे पूरै भरिएका थिए । अहिलेको दशरथ रंगशाला रहेको ठाउँलाई हामी सानो टुँडिखेल भन्थ्यौं । त्यहाँ कमलको पोखरी पनि थियो ।

त्यत्रो टुँडिखेलमा पनि ठाउँ नपाएपछि हामी कहाँ जाने कहाँ जाने भयौं । भर्खर किनेको फुटबल कहिले हानौं जस्तो भइरहेको थियो । खोज्दै जाँदा अहिले आर्मीको पेट्रोल पम्प भएनेर छेउमा सानो ठाउँ पाइयो । नजिकै काँडाको तारले बेरेको रहेछ । एउटा साथीले पहिलो पटक हान्दा नै बल त तारमा लागेर फुटिहाल्यो ।

हुनसम्म नमिठो लाग्यो । त्यस्तो रहरले बल्लतल्ल किनेर ल्याएको बल फुटेपछि हामी सबै डाँको छोडेर रोयौं । डिल्लिबजार आइपुग्दासम्म पनि हाम्रो रुवाई थामिएको थिएन ।

०००

त्यो बेला काठमाडौंमा बालसखा दल फुटबल प्रतियोगिता हुन्थ्यो । साथै, देवीमाया मेमोरियल सिल्ड, शुभ राज्याभिषेक कपहरु हुन्थे । त्यो हाम्रा लागि फुटबलको एउटा जग नै हो । त्यही खेलेर नै हामीले फुटबलमा आफूलाई निखार्दै गयौं । त्यो बेला हामी बाल महावीरबाट खेलेका थियौं ।

फुटबल प्रतियोगिता सिंहदरबार भित्रको बिलियार्ड घरको मैदानमा हुन्थ्यो । त्यसलाई हामी ब्लेड घर भन्थ्यौं । राणाजीहरु त्यही बिलियार्ड घरको बालकोनिमा बसेर फुटबल हेर्ने गर्थे । उनीहरु आफ्नै टिम बनाएर बाहिरका मान्छेसँग पनि फुटबल खेल्थे ।

राणा प्रधानमन्त्री जुद्धशम्सेरका नाति नरशम्सेर जबराले नेपालमा फुटबल विकासका लागि निकै काम गरे । भारत कोलकताबाट सिकेर उनले नेपालमा फुटबलका लागि काम गरेका थिए । उनकै सक्रियतामा गठित नेपाल फुटबल संघले २००८ सालमा राम जानकी कप आयोजना गर्‍यो । त्यही नै पहिलो आधिकारिक लिग भयो । नेपाल पुलिसले राम जानकी कप लगातार तीन पटक जितेर २०१० सालमा कप नै पच पार्‍यो ।

त्यो बेला फुटबल प्रतियोगिता हेर्न १० पैसाको टिकट लाग्थ्यो । त्यो टिकट काट्ने पैसा नभएर मान्छेहरु नर्कटको र सिस्नुको झाडीमा लडिबुडी गरेर सिंहदरबारको मैदानमा फुटबल हेर्न हाम फाल्दै जान्थे । पर्खालबाट हाम फाल्दा चप्पल कता मान्छे कता हुन्थे ।

हामी भने पैसा जोगाउन कालिकास्थान तलको बाँसघारीबाट हेर्थ्यौं । त्यहाँबाट मैदानको आधा भाग मात्रै देखिन्थ्यो । मैदानको आधा भागमा बल आउँदा करायो, बल अर्कोतर्फ जाँदा त के भयो के भयो थाहा नै हुँदैन थियो ।

बेला-बेला १० पैसाको टिकट किनेर हेर्न जाँदा हुलमुलमा टिकट नै राम्ररी चेक नगरेको देख्यौं । कि त टिकट पूरै लगिदिन्थे कि त हेर्दै नहेरी च्यातिदिन्थे । यसैले हामीले जुक्ति लगायौं । च्यातेर फालिएका टिकटका टुक्रा जम्मा पार्न थाल्यौं । त्यो घरमा ल्याएर नम्बर नमिले पनि दुईवटा भिन्ना भिन्दै टिकट जोड्न थाल्यौं ।

जेरी बनाउने पसलमा खमेर भन्ने चिज पाइन्थ्यो । त्यो चिप्लो हुन्थ्यो । चारखाल अड्डाबाहिर फालेको नेपाली कागजको टुक्रा ल्यायो र टिकटको दुई टुक्राको बीचमा नेपाली कागज सानो पारेर त्यसमा खमेर दलेर टाँस्यो । हेर्दा नयाँ टिकट जस्तै देखिन्थ्यो । टिकटको बीचमा प्वाल हुने भएकाले त्यसका लागि हामीले लुगा सिउने मेसिनमा धागो नराखी खिट्थ्यौं । टिकट तयार ।

त्यही टिकट लिएर सिंहदरबारमा फुटबल हेर्न जान्थ्यौं । मान्छे कम हुँदा टिकट चिन्ला भन्ने डर हुन्थ्यो । फुटबल सुरु हुने बेेला मान्छेको चाप धेरै हुन्थ्यो । त्यही बेलामा भिडमा पस्थ्यौं । टिकट देखा टिकट देखा भनिरहेका हुन्थे । ल ल टिकट टिकट भनेर यसो देखायो । झ्वाट्ट च्यातिदिन्छ अनि कुद्यो भित्र । त्यसरी पनि धेरै नै फुटबल हेरियो ।

आफूले गर्दासम्म त ठीकै हो । तर साथीहरु त्यसरी टिकट बनाउँदै बेच्न पो थालेछन् । बेच्नै थालेपछि त नक्कली टिकट सबैले थाहा पाइहाले । त्यसपछि त्यो क्रम पनि रोकियो ।

सिंहदरबारको फुटबलको रोचकता नै अर्कै थियो । भिड धेरै हुने भएकाले हेर्न बस्दा लाइनमा मिलेर बस्नुपर्थ्यो । मैदान नजिकै भएका दर्शकले बेला-बेला बदमासी पनि गर्थे । खेलाडी कुदिरहेको बेला छाता तेर्स्याएर लडाइदिन्थे ।

कोही खेलाडी त आफूलाई कसले लडाउनेलाई ताकेर बलले हान्थे । त्यसपछि पिटापिट सुरु हुन्थ्यो । एकछिन खेलै रोकिन्थ्यो । जस्तो झगडा पर्दा पनि खेल भने पूरा नै खेलाइन्थ्यो ।

२०१० सालमा पुलिसले तीनपटक लगातार जितेर कप लगेपछि फुटबल नै रोकिएला जस्तो भएको थियो । २०११ सालमा याकथुम्बा आईजीपी हुनुहुन्थ्यो । उहाँले नै यसरी कप राख्दा त फुटबल नै नहुने भयो भनेर प्रहरीसँगै पैसा उठाएर कप बनाउनु भयो । त्यसलाई शहीद कपको नाम दिइयो । अनि सुरु भयो ‘शहीद स्मारक ए डिभिजन लिग’ फुटबल प्रतियोगिता ।

पहिलो शहीद स्मारक लिग जित्ने टिम महावीर क्लब नै बन्यो । त्यससँगै विभागीय टिमबाहिरबाट लिग जित्ने पहिलो टिम पनि भयो । त्यो बेला म त बाल महावीरमा नै थिएँ ।

हरेक वर्ष साना केटाकेटीका लागि पनि अरु थुप्रै प्रतियोगिताहरु हुन्थे । ती प्रतियोगिता खेलेपछि मैले २०१४ सालमा महावीर क्लबको युथ टिम योङ महावीरमा स्थान बनाएँ ।

०००

मैले सामान्य जुत्ताको ठाउँमा बुट नै लगाएर फुटबल खेलेको १४ वर्षको हुँदा हो । नेपाल फुटबल संघमा अध्यक्षसमेत बनेका र त्यो बेला महावीरका कप्तान रहेका विजयकुमार श्रेष्ठले मलाई एउटा बुट दिनुभएको थियो । हामी उहाँलाई राधेश्याम दाइ भन्थ्यौं ।

उहाँ मलाई पाँडे भनेर बोलाउनुहुन्थ्यो । एकपटक भेट हुँदा उहाँले बोलाउनुभयो – ए पाँडे यता आइज त ।

म सरासर गएँ ।

उहाँले भन्नुभयो – घरमा मसँग एउटा पुरानो बुट छ, भोलि लिन आइज ।

त्यति भनेर उहाँ जानुभयो । म पनि घर गएँ । आफूलाई भने रातभर भोलि कहिले आउला भनेर छट्पटी भइरह्यो । बुट ल्याएर लगाउने हतारो थियो । बिहान ६ बजे नै राधेश्याम दाइकोमा पुगेँ ।

तलैबाट बोलाएँ – ओ राधेश्याम दाइ …. राधेश्याम दाइ …. दाआइइइइ …

दाइले यसो झ्यालबाट हेरेर ‘ओहो आइसकिस्, ल माथि आइज’ भनेर बोलाउनुभयो ।

आफूलाई बुट हेर्न हतार भएको थियो । उहाँले च्या खान्छस् ? भनेर सोध्नुभयो ।

मैले यसो सोचेर ‘खान्छु’ भनें । उहाँले ‘ल बाहिर गएर च्या खाएर आउने’ भन्नुभयो ।

मैले भनें – बुट खै त बुट ? पहिले बुट दिनु न ।

उहाँले पुरानो रातो रंगको बुट निकाल्नु भयो । त्यो बुट बोकेर हामी चिया खान गयौं ।

दुईवटा बुटमा १२ वटा गोटी हुनुपर्नेमा एउटामा दुईवटा र एउटामा एउटा मात्रै बाँकी थियो । च्यात्तिएको पनि थियो । जस्तो भए पनि आफू भने बुट पाएकोमा मख्ख थिएँ ।

यसो लाएर हेरेको अलिअलि खुकुलो रहेछ । डबल मोजा लगाएपछि ठीक हुन्छ भन्ने सोचें ।

नेफु भन्ने एकजना दाइको डिल्लीबजारमा नै जुत्ता सिलाउने पसल थियो । म सिधै त्यहीँ गएँ । नेफु दाइको छोरा मेरो भोगटेको बल हान्ने बेलादेखिको साथी थियो । उसले निकै मेहनत गरेर मेरो जुत्ता बनाइदियो ।

चार बजे टुँडिखेलमा फुटबल खेल्न जानुपर्ने । १ बजेतिर बुट घर लिएर आएँ । कता कताबाट कसरी कसेर लगाउने हो भन्ने पनि थाहा थिएन ।

बुट पाएर असाध्यै खुसी भएको थिएँ । जसोतसो बुट लगाएर खाटमा चारवटा तकिया राखी त्यसमाथि खुट्टा पसारेर शानसँग सुतेँ । कहिले खुट्टा यता चलाएर हेर्थें, कहिले उता चलाएर हेर्थें । बडो गजब लागिरहेको थियो । त्यसपछि उठेर बुबाको पालिसले टिलिक्क बुट टल्काएँ र खेल्न गएँ ।

४ बजे टुँडिखेलमा खेल्ने बेला पो थाहा भयो बुटको दुःख । उनीको लामो मोजा लगाएको थिएँ । त्यस्तो मोजामा पहिलोपटक बुट । त्यसमाथि पानी परेको थियो । खेल्दा यति गह्रुँगो भयो कि कुरै नगरौं । खुट्टामा फोकै फोका आयो । अलिअलि खेलेर घर फर्किएँ । त्यस्तो दुख्दा पनि मलाई बुट फुकाल्न मन लागेको थिएन । टुँडिखेलदेखि डिल्लीबजारसम्म टकटक बुट बजार्दै आएँ । म जत्तिको त को होला र जस्तो लाग्यो ।

घर आइपुगेपछि बुट फुकालेँ । अनि मनतातो पानीमा नुन हालेर खुट्टा सेकाएँ र एकछिनमा फेरि नयाँ मोजा लगाएर बुट लगाएरै सुतें ।

खाना पनि त्यहीँ झुलभित्रै बसेर खाएँ । पूरा शान दिएर सुतें । बुट हेर्दा हेर्दै कुन बेला निदाएछु बिहान उठ्दा त खुट्टा असाध्यै दुख्यो । त्यही दुःखाइले तीन-चार दिन त खेल्न जानै सकिनँ ।

०००

एक वर्ष योङ महावीरमा खेलेपछि २०१५ सालमा १६ वर्षको उमेरमा म महावीरको सिनियर टिममा परिहालें । जुनियरबाट धिरेन्द्रकुमार श्रेष्ठ पनि सिनियर टिममा पुगेका थिएँ । हामीले त्यो बेला सिनियर टिमबाट पनि राम्रै खेल्यौं ।

त्यो बेला चलन कस्तो थियो भने राम्रो खेल्नेलाई कतै जाला भनेर कप्तान दिइहाल्ने । मलाई पनि २०१७ सालमा कप्तान बनाइदिए ।

कप्तानको काम भने कठीन नै थियो । खेल्ने जाने बेला सबैको जर्सी, बुट साइकलमा लिएर जानुपर्ने र खेल सकिएपछि घर ल्याउनुपर्ने हुन्थ्यो ।

त्यो बेला मैले दुईवटा प्रतियोगिता सिंहदरबारभित्र नै खेलें । त्यसपछि दशरथ रंगशालामा नै प्रतियोगिता सुरु भयो ।

२०११ सालमा लिग जिते पनि महावीरको हालत त्यसपछि असाध्यै खराब थियो । खस्कँदै गएको थियो टिम । म कप्तान हुँदा महावीरमा कहिलेकाहीँ त खेलाडी नपुगेर खोजेर पनि ल्याउनु पर्थ्यो ।

कतिसम्म गरियो भने थानकोटबाट आएको बसमा भारतीय सेनामा काम गर्नेहरु आउँछन् । तिनीहरु राम्रो खेल्छन् भन्ने सुनेर लिन पनि गइयो । तर लाहुरे भनेर ल्याएकाहरु मैदानमा पुगेपछि खेल्नै नजान्ने । सोध्दा राम्रो खेल्छु भन्ने, बल हान्न पनि नजान्ने ।

एकपटक त कतिसम्म भने खेल सुरु भइसक्यो । ११ जना खेलाडी नै पुगेनन् । त्यसैले हाम्रो लुगा, सामानहरु हेर्ने एउटा टीका भन्ने साथीलाई खेलाउने सोचेर मैले मैदानबाटै कराएँ, ‘ए त्यो टीकालाई भित्र पसा न ।’

उ भन्छ – कट्टु नै छैन कसरी खेल्ने ?

‘मेरो नयाँ पाइन्ट, नयाँ पाइन्ट’ भन्दै थियो, हामीले ब्लेड किनेर त्यसको पाइन्ट काटेर कट्टु बनायौं । कट्टु त पाइन्ट काटेर मिलाइयो । फेरि बुट छैन । टेनिस सुज लगाएर खेलाउन लागेको बिवाद होला जस्तो भयो । रेफ्रीले नै हिलोसिलो दलौं कसैलाई थाहा हुँदैन भनेर तरिका सिकाइदिए ।

जे होस् सोचेको भन्दा राम्रै खेल्यो । तर, नयाँ पाइन्ट काटेको भनेर रिसायो । त्यसैले हामी सबै मिलेर पैसा उठाएर त्यसलाई नयाँ पाइन्ट पनि किनिदियौं ।

पछि त त्यो खेलाडी पुग्दा पनि खेल्न खोज्थ्यो । तर, पाइन्ट काटेर खेलेको एक खेलभन्दा पछि त्यसले खेल्न पाएन ।

०००

पछि मैले कप्तानी छाडिदिएँ । किन छाडें भने मैले निकै प्रतिभाशाली खेलाडी भेट्टाएको थिएँ ।

टुँडिखेलमा खेलिरहँदा मैले त्यो केटाको खेल देखें । पहिलोपटक हेर्दा नै प्रभावित भएँ । त्यहाँबाट डिल्लिबजार घर फर्कदै गर्दा बागबजारनेर यसो पछाडि हेरेको त त्यही केटा आइरहेको रहेछ ।

पद्मकन्यानेर रोकेर मैले सोधें – ए भाइ, तिम्रो नाम के हो ?

उसले भन्योः अच्युतकृष्ण खरेल ।

– कहाँ बस्छौ ?

– यहीँ डिल्लीबजार, धोबीधारामा ।

– दाजुभाइ को छ ?

– यादव खरेलको भाइ हुँ ।

यादव खरेल र म पद्मोदय स्कूलमा सँगै पढेको । यस्तो राम्रो फुटबल खेल्ने केटा आफ्नै साथीको भाइ रहेछ भनेर खुशी लाग्यो । हामीले अभ्यास गर्ने ठाउँ देखेको छैनौं ? भनेर सोधें ।

उसले ‘खै कसैले वास्तै गर्दैन कता पो हो’ भन्यो । मैले ‘ल भोलिदेखि आउ, सँगै खेल्नुपर्छ’ भनेर सबै बुझाएँ । उ आउन थाल्यो ।

राम्रो खेल्ने खेलाडी अरु क्लबमा नजाओस् भनेर नै मैले आफ्नो कप्तानी नै उसलाई दिएँ । कप्तानी पाएपछि त अरु क्लब जाँदैन भन्ने थियो ।

०००

त्यो बेला हाम्रो लागि ‘डाइट’ भने पनि जे भने पनि पानी मात्र थियो । एकपटक म कप्तान हुँदा डाइट ख्वाउनुपर्‍यो भनेर जेरी-स्वारी ख्वाउन थालेको थिएँ । बिहान तातोतातो जेरी खान पाउँदा धेरै साथीहरु खेल्न आउँछन् भन्ने थियो ।

एक सिजन त्यसरी जेरी-स्वारी खाएर अभ्यास गर्दा पसलमा ६ सय रुपैयाँ उधारो पुगेछ । त्यो जमानामा ६ सय रुपैयाँले अनामनगरमा झण्डै एक रोपनी जग्गा आउँथ्यो ।

त्यो पसलेले बाटोमा हिँड्दा पनि हामीलाई हेरिरहेको हुन्थ्यो । पछि शुभजन्मोत्सव कप जितेर ‘यो जित कसको ? महावीरको… ‘यो जित कसको ? डिल्लीबजारको’ भन्दै जुलुस लगाएर आउँदा पनि खुब हेरिरहेको थियो ।

त्यसको भोलिपल्ट ‘ए दाइ, हाम्रो कति पैसा भयो कुन्नी, मसँग त पैसा पनि छैन’ भनें । उसले त ‘पर्दैन पर्दैन, तिर्न पर्दैन’ पो भन्यो ।

त्यत्रो पैसा किन पर्दैन भन्यो होला भनेको त हामीले फुटबल जितेर डिल्लीबजारको शान बढाएको ठानेर ऊ पनि मख्ख परेको रहेछ ।

०००

विस्तारै महावीर पुरानै र्फममा फर्किदै गयो । महावीरको प्रगति र मेरो व्यक्तिगत प्रगतिको एउटा कारण सम्झनैपर्ने हुन्छ ।

इजरायलले नेपालसँग दौत्य सम्बन्ध स्थापना भएको अवसरमा स्पोटर्स र फिजिकल एजुकेसनका लागि दुईवटा छात्रवृत्ति दिएको रहेछ । कसलाई पठाउने भनेर खेलकुद परिषदमा कुरा भइरहँदा फुटबलर मणि शाहका बुबा लक्ष्मण शाह र मेरो नाम पर्‍यो । लक्ष्मण शाह पनि नेपाली खेलकुदमा बिर्सनै नहुने नाम हो ।

हामी एक वर्ष इजरायल बसेर आउँदा धेरै कुरा सिक्यौं । यहाँ आएर उता सिकेका कुराहरु मैले आफै पनि सिकाउन थालें । त्यसले महावीरको खेलमा पनि फाइदा पुग्यो ।

२०२३ सालमा महावीरले शहीद स्मारक लिग जित्यो । १० टिम प्रतिस्पर्धामा थिए । त्यो बेला डबल लिग हुन्थ्यो ।

फुटबल खेल्न सुरु गर्दा गोलकिपरको भूमिकामा खेल्ने म पछि डिफेन्समा आएँ । हाल्फ ब्याकमा खेलें । त्यसपछि राइट आउटबाट खेलें । त्यसबेला पोजिसनहरु यस्तै हुन्थ्यो । लिग जितेको बेला म सेन्टर फरवार्डबाट खेलेको थिएँ ।

हामीले लिग जितेको बेला ४२ गोल गरेका थियौं । त्यसमा ३१ गोल त मैले नै गरेको थिएँ । पाँच वटा हृयाट्रिक गरेको थिएँ । पाटनको एउटा फ्रेण्ड्स युनियन भन्ने टिमलाई ५-० ले हराउँदा त पाँचै गोल मैले गरेको थिएँ ।

२०२३ सालमा लिग जितेपछि महावीरको पुरानो उचाइ फर्किएको थियो । बीच-बीचमा भइरहने शुभजन्मोत्सव कप त हामीले कति जित्यौं सम्झना पनि छैन ।

दाइ तपाईं अहिलेसम्म पनि राम्रो खेल्नुहुँदो रहेछ, खेलौं न खेलौं’ भनेर बोलाएपछि मैले एनआरटीबाट खेलेको थिएँ । त्यो बेला गणेश थापा पनि थिए ।

हामीले २०२६ सालमा पहिलोपटक त्रिभुवन च्यालेन्ज सिल्ड पन जित्यौं, फाइनलमा ठमेललाई हराएर । त्यही वर्ष हामीले शहीद स्मारक लिग पनि जितेका थियौं ।

त्यो बेला हामी उत्कृष्ट थियौं । त्यसको कारण भनेको हामीसँग दुईजना रसियन खेलाडी पनि थिएँ । रसियन दूतावासमा काम गर्ने स्लाभिन र युरा महावीरबाट खेलेका थिए ।

स्लाभिन त अति नै राम्रो खेल्थ्यो । भयानक नै लाग्थ्यो हामीलाई उसको खेल । हामीले त्यो बेला सुनेअनुसार स्लाभिन रसियामै पनि पहिलो स्तरको लिग खेल्ने खेलाडी थिए । दूतावासको जागिरले गर्दा नेपाल आएका थिए । उनीहरु अभ्यासहरुमा आउन नपाए पनि खेल भएका बेला सिधै मैदानमा आएर खेल्थे ।

२०२६ सालमा निकै राम्रो भएको महावीर त्यसपछि फेरि ओरालो लाग्न थालिहाल्यो । ०२७ र ०२८ सालमा राम्रै भए पनि ०२९ सालमा त विजोगकै अवस्थामा पुग्यो । डिल्लीबजारीया र नेपालको खेलकुद चलाउनेहरुबीच द्वन्द्व सुरु भएको थियो । कहिले टेबलटेनिसमा झगडा हुने, कहिले ब्याडमिन्टनमा झगडा हुने त्यही झगडा सरेर फुटबलसम्म आइपुग्ने ।

हुँदा हुँदा महावीर ध्वस्त नै भयो । डिल्लीबजारमा भएको खेलकुदको जग नै भत्कियो । जरा कुहिएपछि बोट सुके जस्तै भयो महावीर ।

२०२४ सालदेखि मैले शिक्षा मन्त्रालय अन्तर्गतको सानोठिमीमा रहेको टे्रनिङ सेन्टरमा काम गर्न थालिसकेको थिएँ । काममा पनि राम्ररी ध्यान दिनुपर्ने र महावीरमा चलखेल सुरु भएपछि मलाई खेलिरहन पनि मन लाग्न छाड्यो । त्यसपछि विशेष त काममा नै व्यस्त हुन थालें ।

लिगमा नै पछिल्लो पटक खेलेको चाहिँ २०३९ सालमा हो । एनआरटीबाट १५ मिनेट खेलेको थिएँ । त्यो बेला म आरएनएसीमा जागिर गर्थें । एनआरटीका केटाहरु पनि त्यहाँ काम गर्थें । म आरएनएसीको टिममा दुई वर्ष प्रशिक्षक भएको थिएँ । त्यो उनीहरुलाई थाहा थियो ।

‘दाइ तपाइँ अहिलेसम्म पनि राम्रो खेल्नुहुँदो रहेछ, खेलौं न खेलौं’ भनेर बोलाएपछि मैले एनआरटीबाट खेलेको थिएँ । त्यो बेला गणेश थापा पनि थिए । मैले खेल्ने बेलाको भन्दा फुटबल शैली निकै फेरिएको थियो । मेरो खेल राम्रो भएन ।

०००

सन् १९६३ मा नेपाली टिम अागा खाँ गोल्डकप खेल्न जाँदै गर्दा विमानस्थलमा ।

मेरो खेल जीवनमा बिर्सन नहुने घटना के भने सन् १९६३ सालमा हामी तत्कालीन पूर्वी पाकिस्तानको ढाकामा आयोजित आगा खाँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा नेपालको प्रतिनिधित्व गरेर खेल्न गएका थियौं ।

त्यसअघि भारत कोलकातामा पनि फुटबल खेल्न नेपाली टोली गएको थियो तर त्यो अन्तर्राष्ट्रिय प्रतियोगिता थिएन । त्यो बेला म अलि सानै थिएँ । आगा खाँमा भने इरान, इन्डोनेसिया, मलेसिया, सिंगापुर पनि खेल्थे ।

आगा खाँ गोल्डकप खेल्न कसरी गइयो भन्ने कुरा पनि रमाइलो छ । महेन्द्र गोल्ड कप खेल्न हामी काठमाडौंको टिम विराटनगर गएका थियौं । त्यहाँ भागलपुर टिमसँग हामी हारेका थियौं । भागलपुर टिममा कोलकाताका खेलाडी पनि थिए ।

त्यही बेला नरशम्शेरले आगा खाँबाट हामीलाई खेल्न बोलाइएको सुनाउनुभयो । तर प्रतियोगिता सुरु हुन पाँच दिन मात्रै बाँकी थियो ।

यति दिनमा कसरी टिम बनाएर जाने भन्ने भयो । हामीले मोरङ-११ र काठमाडौं-११ बाट मिलाएर टिम बनायौं । काठमाडौं आएर पासपोर्ट बनाउने, पैसा साट्ने कामहरु गर्दा गर्दै पाँच दिन त बितिहाल्यो ।

मोरङ र काठमाडौंका खेलाडीको शैली नै मिल्दैन थियो । मिसमास गरेर बनाएको टिम एक दिन पनि अभ्यास नगरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गयौं ।

गएको दिन नै सिधै मैदान हेर्न पुग्यौं । खेल भइरहेको रहेछ । बंगबन्धुको त्यो मैदान हेर्दा दंग पर्यौं । हामीसँग प्रशिक्षक नै थिएनन् । नरशम्शेरले जे जे भने त्यही त्यही गर्‍यौं । उनले सिकाउने भनेको दुई कुरा थिए, दौडी र बल हान ।

पहिलो खेलमा पाकिस्तानसँग हामी नराम्ररी हार्‍यौं । हामी पाँच फिट ५ इन्चका, उनीहरु ६ फिटका । अग्ला-अग्ला भएकाले हाइ बलमा नै धेरै गोल हाने । त्यो बेला हामीलाई त किपर अगाडि बढ्न मिल्छ भन्ने नै थाहा थिएन । लाइनमा बसेर किपरले बल रोक्न खोज्दा हाइ आएको बल भित्र छिरिहाल्थ्यो । ७ गोलजति खाइयो । दोस्रो खेल पनि हारियो ।

सन् १९६३ मा अागा खाँ गोल्डकप खेलेको नेपाली टिम ।

अन्तिम खेल पाकिस्तानकै अर्को टिमसँग खेल्नुअघि हामीले पनि अलिकति बुझिसकेका थियौं । नरशम्शेरले कोलकाताको मोहोमोर्दन स्पोर्टिङका रामातुल्लालाई हाम्रो प्रशिक्षक पनि बनाएका थिए । उनले गराउने कुरा र हामीले गरिरहेका कुरामा मेल खाएको त थिएन तर उनले पनि केही कुरा सिकाए । अन्तिम खेलमा आएर बल्ल हाम्रो तर्फबाट प्रकाशबिक्रम शाहले एक गोल गरे र हामीले खेल जित्यौं ।

पहिलो खेलमा हाम्रो समर्थनमा धेरै नै दर्शक आएका थिए । दोस्रो खेलमा दर्शक आधाले घटे । तेस्रो खेल हुँदा त पाँच सात जनामात्रै आएका थिए । गोर्खाली टिम भनेर हाम्रो राम्रै प्रचार भएको रहेछ । तर अन्तिम खेल हामीले जित्नुअघि त धेरै नै लाजमर्दो भएको थियो ।

०००

खेलकुदको व्यवस्थापन पक्षमा भने म कहिल्यै लागिनँ । हुन त इजरायलबाट फर्केपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) मा चार वर्ष काम गरेको थिएँ । तर त्यो काममा मेरो मन रमेन र छाडिदिएँ ।

जिन्दगीमा खेलकुदमा लागेर मैले गल्ती गरेछु भन्ने त कहिल्यै पनि लागेन । सम्झँदा सबै कुराले खुसी नै दिन्छ । खेलकुद नै मेरो जीवन हो जस्तो लाग्छ । महावीरको त्यो सेतो-कालो जर्सी अहिलेसम्म पनि याद आइरहन्छ ।

खेलाडी जीवन सम्झँदा खुसी लाग्ने अर्को कुरा के भने सन् १९६४ मा ओलम्पिक टर्च नेपाल ल्याउँदा त्यसलाई बोक्ने अवसर मैले नै पाएको थिएँ ।

इजरायल गएको समयमा इजरायल र इटलीको फुटबल हेर्न पाउँदा पनि निकै खुसी लागेको थियो । त्यहीबेला सन् १९६१ मा इंग्ल्याण्डको पि्रमियर लिग क्लब टोटनहृयामले इजरायलमा आएर खेलेको खेल हेर्न पाएको थिएँ । त्यो बेला प्रिमियर लिग टोटनहृयामले नै जितेको थियो । यसैले विश्व भ्रमणमा निस्किएको थियो ।

पछि २०१५ मा म अस्ट्रेलियाको सिड्नीमा हुँदा पनि टोटनहृयामकै खेल हेर्न पाएँ । एउटै प्रिमियर लिग टिमको खेल ५४ वर्षको फरकमा हेर्न पाउनु पनि मेरो भाग्य नै हो जस्तो लाग्छ । अस्ट्रेलियामा हुँदा हृयारी केनको खेल निकै राम्रो लागेको थियो । उसैको एक गोलले टोटनहृयामले सिड्नीलाई हराएको थियो ।

मलाई आफूले खेल्ने बेला एसियाली खेलकुद र ओलम्पिकमा भाग लिने इच्छा थियो । त्यो सौभाग्य भने कहिल्यै जुरेन । तर ठूला प्रतियोगिताहरु भएका धेरै ठाउँमा पछि जाने अवसर पाएँ ।

अस्ट्रेलियाको ओलम्पिक पार्कमा पुगें । ओलम्पिकमा भाग लिने इच्छा पूरा नभए पनि त्यहाँको स्वीमिङ पुलमा एक्लै पौडिएर धित मारेँ । मनमनै नेपालको प्रतिनिधित्व गरेर आएको सम्झेर १०० मिटरमा पौडिएको थिएँ ।

१९६२ को एसियाली खेलकुद भएको  इन्डोनेसियाको जकार्ता पनि पुगें । त्यहाँको ट्रयाक देख्ने बित्तिकै दौडन मन लाग्यो । त्यहाँ पनि एक्लै १०० मिटर र २०० मिटरमा दौडिएँ । भोलिपल्ट गएर ४०० मिटर पनि दौडिएँ । मनमा आनन्द आयो ।

खेलाडीको रुपमा सहभागी नभए पनि दर्शकको रुपमा एसियाली खेलकुद हेर्ने मौका दिल्लीमा सन् १९८२ मा मिलेको थियो । त्यो बेला नेपालले कुवेतलाई गरेको गोल प्रत्यक्ष हेरेको थिएँ । वाई बी घलेले गोल गरेका थिए । टाढैबाट वाइबीले हानेको बल गोलकिपरले बुझ्न नपाउँदै पोस्टमा छिरेको थियो ।

त्यसपछि नेपाली खेलाडीले एसियाली खेलकुदमा अहिलेसम्म गोल नै गर्न सकेका छैनन् । नेपालले त्यो खेलमा ६७ मिनेटसम्म गोल खाएको थिएन । विश्वकपमा इंग्ल्याण्डसँग बराबरी गरेर आएको कुवेतसँग अन्तमा ३-१ ले नेपाल हार्‍यो ।

त्यही बेला हामी खेलाडी भेट्न जाँदा रुपकराज शर्माले एउटा रमाइलो कुरा सुनायो ।

भएछ के भने अरु देशका खेलाडीले उनीहरुलाई ‘यु अल्वेज सिङ सिङ, नो प्ले ?’ भनेर जिस्काउँदा रहेछन् ।

हेर्नुहोस् भिडियो

नेपाली खेलाडीहरु बिहान ६ बजे उठेर अभ्यास गर्नुअघि राष्ट्रिय गान गाउने र खेलकुदको गीत पनि गाउने गर्थे । खेलकुद गीत भनेको के भने, ‘खेलाडी हुँ … खेलाडी हुँ’ भन्ने हुन्थ्यो ।

अरु टिमका खेलाडीहरु अभ्यासमा जाँदासम्म हाम्रा खेलाडी छाति तनक्क तन्काएर गीत गाइरहेका हुन्थे । राष्ट्रिय गान र अर्को गीत गाउँदा २० मिनेट जति त लागिहाल्थ्यो । यसैले खाली गीत मात्रै गाउँछौ, खेल्दैनौ भनेर जिस्काएका रहेछन् ।

नेपालले त्यो बेला कुवेत जस्तो टिमसँग प्रतिस्पर्धात्मक खेलेपछि बल्ल अरुले हाम्रो स्तर बुझेका थिए ।

०००

खेलकै कुरा गर्दा त ठूलो प्रतियोगितामा मैले फुटबलभन्दा पहिले क्रिकेट खेलेको हुँ ।

बाल्यकालमै सानो गौचरनमा क्रिकेट खेलेको देखेको थिएँ । त्यो समय त्रिलोकनाथ उप्रेती, कल्याण मणि, कुमार मणि त्यहाँ क्रिकेट खेल्थे । हामी बल टिप्ने काम गर्थ्यौं ।

दिउँसो १२ बजेदेखि त्यहाँ क्रिकेट चल्थ्यो । पछि सिंहदरबारभित्र पनि क्रिकेटको अभ्यास हुन थालेको थियो । युद्धबिक्रम शाले त्यहीँ एकपटक मलाई ‘ए मोहन, क्रिकेट खेल्छौ’ भनेर सोधे (मेरो नाम कोमल भए पनि खेलकुदमा मोहन भनेर चिन्थे) । उनले नै मलाई क्रिकेट सिकाए ।

त्यो बेला म १३ वर्षको थिएँ । प्रतियोगिता खेल्दा हामी क्यान ११ टिमबाट खेल्थ्यौं । मेरो खेल कसरी सुरु भएको भने, एउटा प्रतियोगितामा युद्धबिक्रमको टिमको ओपनिङ ब्याट्सम्यान नै घाइते भए ।

मलाई सट हान्न सिकाएकै थिएन । बल कसरी रोक्ने मात्रै सिकाएका थिए । त्यस्तोमा ओपनिङमा मलाई पठाए ।

अहिलेसम्म खेल्या छैन, कहाँ ओपन गर्ने भनेर सोचें । खुट्टा नै लुगलुग काम्यो । टाउकोमा लाग्यो भने के गर्ने भनेर डर लाग्यो ।

नेपाली खेलकुदमा मैले अहिले त जरा नै देखेको छैन । सबै टुप्पाबाट पलाएका जस्ता लाग्छन् । एक सयम सुधार हुँदै गएको थियो । तर, अहिले त अवस्था एकदमै खराब छ ।

पहिलो खेलमा नै ओपनिङ गर्न जाँदा पनि मैले १०८ मिनेट खेलेछु । अरु आउट भइरहँदा पनि म टिकिरहेको थिएँ । किनभने मैले हान्न जानेकै थिइनँ । रोक्न मात्रै जानेको थिएँ । त्यतिबेर खेलेर मैले बनाएको रन भने जम्माजम्मी ८ थियो ।

क्रिकेटमा नेपालको प्रतिनिधित्व गरेर बैंककमा खेल्न पनि गएका थियौं । म १०० मिटर दौडमा पनि राष्ट्रको प्रतिनिधित्व गर्थें । नेपालमा त्यो बेला दौडमा लक्ष्मण शाह र म च्याम्पियन नै थियौं । त्यसैले दौडमा भाग लिन देशको प्रतिनिधित्व गर्दै एकपटक कम्बोडिया पनि जान पाएको थिएँ । जहाँ नेपालको झण्डा बोकेर मार्चपास गर्ने अवसर पनि पाएँ ।

मेरो खेल जीवन कस्तो थियो भने वैशाखदेखि भदौसम्म फुटबल र दशैंपछि क्रिकेट र फागुनमा एथ्लेटिक्स हुन थाल्यो ।

०००

नेपाली खेलकुदमा मैले अहिले त जरा नै देखेको छैन । सबै टुप्पाबाट पलाएका जस्ता लाग्छन् । एक सयम सुधार हुँदै गएको थियो । तर, अहिले त अवस्था एकदमै खराब छ ।

सानो बेलादेखि नै खेलमा लाग्ने संस्कार भएन भने कहाँबाट राम्रो खेलाडी उत्पादन होलान् त ? विद्यालयमा राम्रो खेलकुद हुनुपर्‍यो, क्लबहरु हुनुपर्‍यो, उनीहरुले अभ्यास गर्न मैदान हुनुपर्‍यो ।

विद्यालय भन्या छ, चार वटा कोठामा चलाइरहेको छ । क्लब भन्या छ सानो छिँडी र अगाडि राखेको बोर्डबाहेक केही छैन । यस्तोमा फुटबल कसरी राम्रो होला त । सरकारले चाहने हो भने काठमाडौंमै पनि खेल्ने ठाउँ कति छन् कति । त्यसमा विचार त गर्नुपर्‍यो नि । काठमाडौंबाहिर त अझै मैदानका लागि काम गर्ने हो भने सहज हुन सक्छ । ध्यान दिएर कसैले हेरेकै छैन ।

देश विकासको एउटा माध्यम खेलकुद हो भनेर खै कसले पो सोचेको छ र ? भएको मैदानमा पनि कतै आर्मी, कतै पुलिस, कतै सशस्त्र छन् । हेर्दा हेर्दै जनताको टुँडिखेल आर्मीको भयो । अरुमा पनि हालत त्यस्तै छ । सर्वसाधरणले खेल्न नपाएर बन्द गरेर राखेको मैदानको के काम ? सबैको पहुँच त हुनुपर्छ नि हैन र ?

अब बल्ल बल्ल चार वर्षपछि लिग फुटबल हुन लागेको छ । त्यसमा पनि फुटबलको मर्म नै मर्ने गरी रेलिगेसन नै नहुने रे । मलाई यो कुरा चित्त बुझेको छैन ।

हुन त केही कुरामा अहिले अवस्था सुधार हुँदै गएको छ । आर्थिक रुपमा केही राम्रो हुँदै छ । व्यावसायिकता बढेको छ । हाम्रो पालामा खेलमा लागेपछि फलानो त बिग्रियो भन्ने भइहाल्थ्यो । घरमा पनि खेल्ने भनेपछि राम्रो मान्दैन थिए । पढाइभन्दा बाहेक अरु केही पनि सोच्न हुँदैन थियो ।

मेरो माइला भाइ घरमा सधैं पढेको पढ्यै गर्ने । ऊ १५ घण्टा पढ्थ्यो । म १५ घण्टा खेल्थें । घरमा जहिले कचकच । हुने बेला परीक्षामा हामी दुवै पास मात्रै हुन्थ्यौं ।

सानोठिमीमा मैले राष्ट्रिय व्यवसायिक तालिम केन्द्रमा अर्थशास्त्र र शारीरिक शिक्षा पढाउँथे । त्यही कामको सिलसिलाले अमेरिका जाने अवसर पनि मिल्यो । त्यहाँ गएर युनिभर्सिटीमा पढ्थें र फुटबल पनि खेल्थें ।

०००
सबै कुरा फर्केर हेर्दा अहिले पनि जीवनमा उर्जा मिल्छ । अहिलेसम्म कुनै नौजवान भन्दा कम फुर्तिलो छैन म । हरेक मिनेट केही न केही गरिरहेकै हुन्छु । गल्फमा लागिरहेकै छु ।

म जे छु र जे भएँ त्यसमा निकै खुसी लाग्छ । सबै मिलेको खेलकुदले नै हो । चलचित्रको दृश्य जस्ता लाग्ने आफ्नै विगतले दिने सन्तुष्टि र त्यसैले वर्तमानमा मिल्ने खुसी भन्दा ठूलोे जीवनमा अरु के होला र ?

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment