Comments Add Comment

मनाङः उपाधि रक्षाको आशा छ, ढुक्क छैन

१० असोज, काठमाडौं । मनाङ मस्र्याङ्दी क्लब ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन हो । तर, उसले यो उपाधि जितेको चार वर्ष भइसक्यो ।

ए डिभिजनको अर्को वर्ष भएको राष्ट्रिय लिगमा मनाङ तेस्रो हुन पुगेको थियो । थ्रीस्टारले उपाधि जित्दा आर्मी दोस्रो भएको थियो । यो बीचमा थुप्रै नकआउट प्रतियोगितामा पनि आर्मी र थ्रीस्टारले मनाङलाई फाइनलमा हराएका छन् ।

त्यसैले चार वर्षपछि हुन लागेको ए डिभिजन लिगमा मनाङलाई उपाधि रक्षा सजिलो छैन । यसलाई स्वीकार गर्दै मनाङका प्रशिक्षक टोपे फुजा भन्छन्, ‘हाम्रो लक्ष्य उत्कृष्ट खेल्दै उपाधि हात पार्ने हो । आशावादी छौं तर ढुक्क छैनौं ।’

मनाङले ए डिभिजनलाई लक्षित गर्दै नाइजेरियाका फुजालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

उनका अनुसार टिममा प्रतिभावान खेलाडीहरु रहे पनि अभ्यासको कमी देखिएको छ । भन्छन्, ‘पहिलो प्राथमिकता फिटनेस हो, त्यसपछि पोजिसनमा जोड दिइरहेको छु ।’

कप्तान विराज महर्जन भने अभ्यास राम्रो भइरहेको बताउँछन् । ए डिभिजनकै लागि भनेर अभ्यास थालेको धेरै नभए पनि छोटो समयमै धेरै कुरामा सुधार आएको उनको तर्क छ । ‘अरु टिमले पनि मिहिनेत गरिरहेका छन्, तर हामी विगतदेखि नै उत्कृष्ट टिम हौं । उपाधिको लागि सक्षम छौं’ उनले भने ।

विदेशी प्रशिक्षकले आधुनिक प्रविधि र शैलीलाई अपनाउने हुँदा निकै फाइदा भएको खेलाडीहरु बताउँछन् ।

मनाङलाई रोक्न गाह्रो

मनाङसँग सँधै झै यसपाली पनि केही उत्कृष्ट खेलाडी छन् । राष्ट्रिय टिमबाट सफलता हात पारेकादेखि घरेलु लिगमा राम्रो प्रदर्शन गरेका खेलाडीहरुलाई उसले अनुवन्ध गरेको छ । साथमा तीन नाइजेरियन खेलाडी पनि छन् ।

राष्ट्रिय टिमका कप्तान विराज महर्जनसँगै सुजल श्रेष्ठ, अन्जन विष्ट, विशाल राई, विशाल श्रेष्ठ, कमल श्रेष्ठ, दोड्न थापा, बिमल राणा, विमल बस्नेत, जस्ता अनुभवि खेलाडीको उपस्थिति टिममा छ । त्यस्तै नाइजेरियन खेलाडी अफिज ओलावाले, भिक्टर अमोबी र सोमिडे आलुवाउम्रीले टिमलाई थप बलियो बनाएका छन् ।

ए डिभिजनको पूर्वसंध्यामा भेट्रान स्ट्राइभर अनिल गुरुङ भने मनाङ छाडेर थ्रीस्टार गएका छन् ।

यसका बाबजुद मनाङ यसपाली पनि पुरानै लयमा बग्यो अन्य टिमहरुलाई आपत् पर्न सक्छ । यसको डिफेन्स, मिडफिल्ड र फरवार्ड लाइन तीनै पक्ष शशक्त देखिन्छ ।

प्रशिक्षक फुजा सबै पक्षमा टिम बलियो भएको बताउँछन् । मनाङको मुख्य प्रतिद्धन्दीका रुपमा उनले थ्रीस्टार, पुलिस र आर्मीलाई लिएका छन् । ‘हामी सबै कुरामा बलियो छौं । यसपाली एट्रयाकिङ अझ बलियो छ’ प्रशिक्षक फुजाले भने ।

यसमा विराज पनि सहमत छन् । ‘पहिलेको टिम सेटभन्दा अहिले अलिक परिवर्तन छ,’ उनी भन्छन्, ‘डिफेन्स र मिड्फिल्ड बलियो छ, तर अफिस ओलावाले करिब १ वर्षपछि टिममा कमब्याक गरेकाले फरवार्ड लाइन झनै सशक्त भएको छ ।’

प्रतिबन्धले जन्माएको टिम

व्यापारका सिलसिलामा मनाङ जिल्लाका केही युवाहरू २०२० को दशकमा काठमाडौं आएका थिए । काठमाडौं बस्दा उनीहरुले फुटबल सिके र ठमेल देउराली क्लबबाट खेल्न थाले ।

क्लबमा खेलाडीको अभाव उनीहरुले पूर्ति गरिदिएका थिए । २०३८ सालमा बी डिभिजन लिगमा देउराली र थ्री स्टारबीच प्रतिस्पर्धा थियो । खेल चलिरहेकै बेला दुई क्लबका खेलाडी र समर्थकबीच झगडा भयो । यहि घटनालाई लिएर एन्फाले ठमेल देउराली क्लबलाई १ वर्षको प्रतिबन्ध लगायो । थ्री स्टार क्लब भने बी डिभिजनको विजेता बन्दै ए डिभिजनमा उक्लियो ।

ठमेल देउराली क्लब प्रतिबन्धमा परे पनि मनाङे युवाहरूले हार मनेनन् । फुटबलको लत बसिसकेको थियो । फलस्वरुप उनीहरुले मिलेर २०३९ सालमा मस्र्याङ्दी मनाङ क्लब स्थापना गरे । पछि यो क्लबको नाम मनाङ मस्र्याङ्दी भयो ।

क्लब स्थापना गर्दा त्यतिबेला केसी गुरूङ, टासी घले, खमसुङ गुरुङ, हरिबहादुर लामिछाने, जिम्मी गुरुङ, कप्ली गुरुङ, छेकेल गुरुङ, कर्म मिच्युङ र टासी बुलुङ घलेजस्ता युवाहरु रहेका थिए ।

सफलताको श्रृंखला

क्लबले सुरुवातमा डी डिभिजन क्लबबाट खेल्न थालेको थियो । त्यसपछि क्रमस सी र बी हुँदै ए डिभिजनमा उक्लियो । मनाङको नाममा थुप्रै घरेलु रेकर्ड छन् । बी डिभिजनबाट ए डिभिजनमा बढुवा हुँदा यसले एउटा पनि गोल खाएको थिएन ।

२०४३ सालमा भएको ए डिभिजन लिगमा पहिलो पटक मनाङले सहभागिता जनाएको थियो । पहिलो सहभागितामै यसले उपाधी जित्न सफल भयो ।

२७ वर्षमा ७ पटक विजेता

मनाङ मस्र्याङ्दीले हालसम्म सर्वाधिक सातपटक शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० मा उपाधि जितेको थियो ।

 

मनाङले उपाधि नजितेको कुनै घरेलु प्रतियोगिता छैन । राष्ट्रिय लिग, पोखरा कप, महेन्द्र गोल्डकप, तिलोत्तमा गोल्डकप, आहा रारा गोल्डकप, सिमरा गोल्डकप, एनसेल कप, खुकुरी कप, बुढा सुब्बा गोल्डकप, कोका कोला कप, खप्तड गोल्डकप लगायतका उपाधि यसले आफ्नो पोल्टामा पारिसकेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको हकमा मनाङले भुटानमा सम्पन्न किंग्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

अनुबन्धित खेलाडी

गोलकिपरः

विशाल श्रेष्ठ, अशोक बराल

डिफेन्डरः

विराज महर्जन, कमल श्रेष्ठ, विमल बस्नेत, सुरज विश्वकर्मा, प्रवेश दनुवार, कर्मा गुरुङ, मिलन गुरुङ

मिड्फिल्डरः

सुजल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, हेमन गुरुङ, दोना थापा मगर, पुजन उपरकोटी, रामकृष्ण बस्नेत

फरवार्डः

विमल राना, दिपक राई, अफिज ओलावाले, सोमिडे ओलुवावुन्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment