Comments Add Comment

बाह्रविसे नगरपालिकाले शुरू गर्‍याे अतिक्रमित टहरा हटाउन

१४ असोज, सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाले बजारलाई व्यवस्थित बनाउन सडक अतिक्रमण गरेर निर्माण गरिएका अस्थायी टहरा हटाउन शुरू गरेको छ ।

बाह्रविसे बजारलाई व्यवस्थित बनाउन नगरपालिकाले सडक पेटी छेउमा निर्माण गरिएका टहरालगायत संरचनाहरु भत्काउन थालेको हो ।

नगरपालिकाले यसअघि बजारबासीलाई आफ्नो घर छेउको टहरा र पेटी मिचेर बनाएको अस्थायी संरचना हटाउन अनुरोध गरेको थियो । नगरपालिकाले अनुरोध गरेसँगै खोर्सानीबारी र साँधीखोला आसपासमा स्थानीयले स्वतः स्फुर्त रुपमा घर छेउको संरचना हटाउन शुरू गरेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बाह्रविसे बजारको राम्चे खण्डमा समेत स्थानीय आफैंले आफ्नो घर छेउको टहरा लगायत अन्य संरचना हटाएको मेयर शेर्पाले बताए । सडक पेटी अतिक्रमण गरेर निर्माण गरिएको टस, कम्पाउण्ड वालसमेत भत्काएर बजारलाई व्यवस्थित बनाउन लागिएको मेयर शेर्पाले जानकारी दिए ।

यसैबीच, जिल्लाका तीन नगरपालिकामध्ये बाह्रविसे नगरपालिकाले नगर प्रहरी राखेर बजारलाई थप व्यवस्थित बनाउन शुरू गरेको छ । नगरपालिकाको आफ्नै स्रोतमा हाललाई चार जना नगर प्रहरी राखिएको मेयर शेर्पाले जानकारी दिए । नगर प्रहरीले बिहान १० देखि ५ बजेसम्म सडकमा ड्युटी गर्ने जानकारी मेयर शेर्पाले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment