Comments Add Comment

माधव नेपाल चीन जानुअघि सिंगापुरबाट प्रचण्डले के भने ?

१५ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको असन्तुष्टि कार्यकर्ता तहमा पोखिन थालेपछि अध्यक्ष प्रचण्डले असन्तुष्ट नेता माधवकुमार नेपाललाई सम्झाउने प्रयास गरेका छन् । नेपाल चीन जानुअघि प्रचण्डले सिंगापुरबाट टेलिफोन गरी स्थायी कमिटी बैठकबाट असन्तुष्टि सम्बोधन हुने आश्वासन दिएको स्रोतले जनाएको छ ।

आफू नभएको बेला केन्द्रीय सचिवालय बैठकबाट प्रदेश पदाधिकारी एकलौटी रुपमा चयन गरिएको र कार्यवाहक आध्यक्षसमेत नदिइ दुवै अध्यक्ष विदेश गएपछि नेपालले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले स्थायी कमिटी सदस्यहरुलाई भेलासमेत गरेपछि नेकपाको विवाद बाहिर आएको हो ।

अध्यक्ष प्रचण्डले माधव नेपाललाई टेलिफोन गरेको कुरा नेपालका प्रेस सल्लाहकारसमेत रहिसकेका नेकपा केन्द्रीय सदस्य बिष्णु रिजालले पनि पुष्टि गरे । दुई नेताबीच कुराकानी भएको पुष्टि गरे पनि के विषयमा कुरा भयो भन्ने जानकारी नभएको उनले बताए ।

स्रोतका अनुसार प्रचण्डले प्रदेश पदाधिकारी चयनको विषय यो हदसम्म विवादित होला भन्ने आफूले नसोचेको बताएका थिए । सचिवालय बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र ईश्वर पोखरेलको धेरै जोडबलमा अर्का अध्यक्ष ओली समेतको चाहना बुझेर आफूले निर्णयमा साथ दिएको प्रचण्डको भनाइ थियो ।

आफ्नो दोस्रो बरियता खोस्न माधव नेपालले ओलीलाई साथ दिएपछि रुष्ट भएका नेता खनाल पछिल्लो समय आफ्नै गुट बनाउन सक्रिय छन् । उनले माधव नेपालले बोलाएको स्थायी कमिटी सदस्यहरुको भेलासमेत औचित्यहीन भन्दै सहभागी भएका थिएनन् । खनालले सचिवालय बैठकको निर्णयको बचाउ गर्दै आएका छन् ।

प्रचण्डसँगको कुराकानीपछि नेपाल चीन भ्रमणमा गएका छन् । ओली र नेपाल एकै दिन स्वदेश फर्किने कार्यक्रम छ । नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनको निर्णय अस्वीकार गरेपनि नेपाल निकट प्रदेश इन्चार्जहरुले आ-आफ्नो प्रदेशका बैठक राखिसकेका छन् ।

प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले तल्ला कमिटीहरुको एकीकरण प्रक्रिया अघि बढाउन गृहकार्य सुरु गरिएको बताइन् । त्यस्तै नेपाल निकट मानिने सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले पनि बैठक राखेर जिल्ला कमिटी एकीकरण कार्यदलहरुलाई रिपोर्ट बुझाउन निर्देशन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment