+
+
Shares

मधेसी महिलाहरु कठोर पर्व ‘जितिया’ मनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १३:३१

१५ असोज, सप्तरी । तराई/मधेसका महिलाहरुले श्रद्वापूर्वक तीन दिनसम्म मनाउने कठोर पर्व ‘जितिया’ सोमबार सुरु भएको छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म यो पर्व मनाइन्छ ।

सप्तमीको दिन नुहाएर खाने, अष्टमीको दिन थुकसमेत ननिली उपवास बस्ने र नवमीको दिन पारन गरिसकेपछि ब्रत समाप्ति गर्ने चलन छ । पर्वको पहिलो दिन आज ब्रतालुहरु नजिकको पोखरी, खोला, नदी नदीसहिततका जलाशयमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् ।

ब्रतालुहरु पोखरी, नदी तथा जलाशयमा स्नान गरी पूर्वतिर फर्केर सूर्यलाई अर्घ्य दिन्छन् र तेल तथा पिना पनि चढाउँछन् । संगै त्यो तेल र पिना आफ्नो छोराको टाउकामा लगाई दिने प्रचलन छ ।

छोराको दीर्घायुको कामनाका साथ महिलाहरुले गाईको गोबरले आँगन लिपेर पवित्र पारी शालिबाहन राजाका पुत्र जिमुतवाहन कुशको प्रतिमा बनाएर कलशको जलमा स्थापना गरी कलशको चारैतिर सुसज्जित पारेर पोखरीको निर्माण गर्छन् ।

त्यसपछि ‘पाकैर’ अर्थात पाकरी रुखको हाँगा ल्याई त्यसलाई रुखको रुपमा रोपेर सोमाथि माटोको ‘चिल्होरि’ अर्थात बाझको आकृति बनाई तल ‘गिदरनी’ को आकृति बनाउँदै दुवैको टाउकोमा सिन्दुर लगाई फूलमाला, अक्षत, धुपदीप, नैवेद्य जसमा ‘केराउ र खिरा अनिवार्य राखिन्छ । यो पर्वमा बाँसको पातको पूजा पनि गरिन्छ । बाँसको पातको पुजा गर्नाले वंशको बृद्धि हुने र पुत्रको जे जति ग्रह, चक्र भए पनि त्यसबाट मुक्ति मिल्नुका साथै सबै प्रकारको मनोरथ पूरा हुने जन विश्वास छ ।

मिथिलाञ्चलमा यो ब्रत गर्नेहरु एक दिन अघिदेखि ‘सधवा’ अर्थात श्रीमान जिवितै रहेको महिला ले ‘माछ-मडुवा’ (माछा र कोदो) खाने चलन छ भने विधवाले ‘अर्बा-अर्वाइन्’ खाने चलन छ ।

जितिया ब्रतको शुरुवात हुनुअघि र अष्टमी तिथिको शुरुवात भन्दा पहिले चुडा दही खाने चलन छ जसलाई मैथिलीमा ‘ओठगन’ भनिन्छ ।

पानीसम्म नखाई निराहार ब्रत बस्नुपर्ने भएकोले जितिया पर्व गर्न गाह्रो छ र दुई दिन सम्म्ा उपवास बस्नुपर्ने भएकोले अष्टमी तिथिको शुरुवात हुनुअघि दही च्युरा खाने गरिन्छ । प्रायः अष्टमी तिथिको शुरुवात विहान ३-४ बजे पछि हुने गर्दछ र त्यतिबेला बाल बच्चाहरु सुतिरहेका हुन्छन् ।

त्यसैले मैथिलीमा भनिएको छ ‘जितिया पावनि बड भारी, धियापुता केँ ठोकी सुतेलनी अपने खएलनी भरी थारी ।’

जितिया ब्रतको पहिलो दिन ब्रतालु महिलाहरुले जिमुतबाहनको कथा सुन्ने र कथा वाचन गर्नेलाई दक्षिणा दिने चलन रही आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?