+
+

जुवा अपरेशनमा दुईको मृत्यु प्रकरणः भवितव्य कि प्रहरी लापरबाही ?

गौरव पोखरेल गौरव पोखरेल
२०७५ असोज २० गते २३:०७

२० असोज, काठमाडौं । राजधानीका थुप्रै घरमा मिनी क्यासिनो चलिरहेको तथ्य छिपेको छैन । बेलाबेला प्रहरीले छापा मार्छ, केही पक्राउ पर्छन् तर, केही दिनमै छुटछ्न् ।

शुक्रबार राति पनि प्रहरीले त्यस्तै जुवाखालमा छापा हान्यो । तर, यो पटक जुवाडेहरु पक्राउ मात्र परेनन्, दुई जना मारिए पनि । प्रहरीका अनुसार छापा हान्ने क्रममा भागदौड मच्चियो । केही मानिस तीन तले घरको छतबाट नजिकैको घरमा हाम फाले ।

त्यसक्रममा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सरोज तामाङ र सोमलाल तामाङ छन् ।

जुवाखालमा प्रहरीले अपरेशन चलाएको र त्यसक्रममा दुई जना मारिएको खबर शनिबार विहानै आयो । निर्मला हत्याकाण्डमा अपराधी पत्ता लगाउन नसक्दा आलोचित बनेको प्रहरीले जुवाखालमै भएपनि ‘सफलता’ पायो ।

तर, घटना भएको २४ घन्टा नवित्दै दुई जनाको ज्यान जाने गरी चलाइएको प्रहरीको जुवा अपरेशन विवादमा परेको छ । प्रहरी अपरेशनमाथि त्यसबेला शंका उब्जियो, जब जुवा अखडा भनिएको कोठामा रगत लतपत्तिएको तस्वीरहरु सार्वजनिक भयो ।

झट्ट हेर्दा घटना भवितव्य जस्तो पनि देखिन्छ । प्रहरी आयो भन्दै भाग्दा नै छतबाट खसेको हुनसक्छ । तर, प्रश्न उठाउने ठाउँ पनि प्रशस्तै छ । अपरेशन चलाउनुअघि पूर्व तयारी राम्रो भयो भएन मात्र होइन, मुलपानीको बिरामीलाई जोरपाटी, बौद्ध, चाबहिल, बानेश्वर सबैतिरका हस्पिटल छाडेर बी एण्ड बी नै किन लगियो ?

एक पूर्व उच्च प्रहरी अधिकारी भने जुवा अखडामा छापा मार्दा दुई जनाको मृत्यु हुनु ‘बिडम्बनापूर्ण’ भएको बताउँछन् ।

मृतकका दाजु भन्छन् – छतमा झर्दा मृत्यु हुँदा कोठामा कसरी रगत ?

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार बिहीबारदेखि नै मुलपानीस्थित एक जना भोटे थरका व्यक्तिको घरमा धेरै मानिसहरुको भिडभाड हुने गरेको सूचना आएको थियो । सूचनादातासँग छलफलपछि प्रहरीले त्यहाँ जुवाको अखडा भएको निष्कर्ष निकालेको थियो ।

त्यहाँ स्थानीय प्रहरी युनिट पनि नभएको होइन । तर, बौद्धका डिएसपी श्यामकुमार राईकै संरक्षणमा त्यो जुवा अखडा सञ्चालन भइरहेको सूचना पाएपछि परिसरबाट डीएसपी होमेन्द्र बोगटीको नेतृत्वमा सादा पोशाकको प्रहरी टोली खटाइएको थियो ।

एसएसपी लामाकाअनुसार शुक्रबार राति जुवा अखडामा प्रहरी पुगेर चेन गेट खोल्न खोज्दा खोज्दै भागदौड मच्चियो । र, त्यसक्रममा ३ तलामाथिबाट हाम फाल्दा सरोज घले र सानुलाल तामाङ गम्भीर घाइते भए । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल ग्वार्को पठाइयो । यद्यपि, त्यहाँ चिकित्सकहरुले दुवै जनालाई मृत घोषणा गरे ।

तर, मृतक सानुलालका दाजु प्रेम तामाङले भने घटनामा प्रहरीको नियतमाथि नै प्रश्न उठाएका छन् । उनले भने, ‘प्रहरीले तीन तलामाथिबाट हामफाल्दा घटना भएको भनेको छ । तर, त्यसो हो भने जुवा खेलाइएको कोठामा कहाँबाट रगत आयो ?’

जुवा खेलाइएको कोठामा भेटिएको रगत र भाँच्चिएको ह्याण्डिल ।

शनिबार दिउँसो घटना भएको घरमा जाँदा कोठाभित्र दराजको ह्यान्डल भाँच्चिएको भेटिएको बताए । उनले त्यहाँका विभिन्न स्थलमा रगत समेत भेटिएको जनाए ।

‘घटनास्थल हेर्दा कोठामा नै कुटाकुट भएको जस्तो देखिन्छ । तीन तलाबाट झरेको भनेको छ तर, टाउकोमा मात्र चोट छ । त्यत्रो माथिबाट झर्दा अन्य ठाउँमा पनि चोट लाग्नु पर्ने हो’, उनले प्रश्न गरे, ‘३ तलामाथिबाट हामफाल्ने मान्छेको कञ्चटमा मात्र चोट लाग्छ ?’

‘त्यसमाथि हाम फाल्दा जस्तामा ठोक्किँदै तल साइकलमा पनि लागेको भनेको छ’, उनले थपे ।

उनले घटनाको सत्य, तथ्य विवरण बाहिर नआएसम्म भाइको शव नबुझ्ने अडान लिएका छन् ।

‘मुलपानीमा भएको घटना हो । त्यहाँबाट नजिक पनि विभिन्न हस्पिटलहरु थिए’ उनले भने, ‘त्यहीको हस्पिटल लगेको भए हुन्थ्यो तर, प्रहरीले ग्वार्को पुर्‍यायो । मुलपानीबाट ग्वार्को पुग्न थुप्रै हस्पिटल कट्नुपर्छ । यसमा पनि शंका गर्ने ठाउँ छ ।’

सानुलालका मामा मिलनले पनि घटनामा शंका गर्ने ठाउँ प्रशस्त भएको बताउँदै छानबिन गर्न माग गरेका छन् । उनले भने, ‘प्रहरीभित्र छिरेपछि त्यहाँ कुटाकुट भएको घरबेटीले हामीलाई बताएका छन् । त्यसैले यो घटना बाहिर देखिए जस्तो समान्य छैन ।’

मृतकका परिवारले शनिबार साँझसम्म शव बुझेका छैनन् र छानबिन समिति गठन गर्न माग गरेका छन् ।

पूर्वप्रहरी भन्छन् – प्रहरीको लापरबाही

यो घटना दुर्घटना मात्रै हुनसक्छ । मृतकका आफन्तले दाबी गरे जस्तो नियोजित नहुनसक्छ । तर, एक पूर्वडीआईजीको भनाइमा यो घटनाले प्रहरीको लापरबाही पनि झल्काउँछ ।

अब पनि प्रहरीले पाठ नसिके हरेक घटनामा विवादित बन्दै जाने र संगठन नै धरासायी हुनसक्ने उनको निष्कर्ष छ ।

हरेक घटनामा प्रहरीले काहीँ न काहीँ शंका गर्ने ठाउँ छाड्ने गरेको उनले सुनाए । ‘यहाँ मान्छेको त भ्याल्लू नै भएन । कहिले दुई जनालाई समातेर लगेर मार्दियो । कहिले के गर्‍यो’ उनले थपे, ‘हुँदा हुँदा जुवा अपरेशनमा पनि मान्छे मर्न थाले । कसैलाई केही मतलबै छैन ।’

प्रहरीले तत्काल यो विषयको यर्थाथ विवरण सार्वजनिक गर्नुपर्ने र पीडित पक्षलाई विश्वासमा लिन सक्नु पर्ने उनले बताए ।

कहाँ चुक्यो प्रहरी ?

वर्षेनि नेपाल प्रहरीका विभिन्न टोली यूएन शान्ति मिसनमा खटिन्छन् । त्यहाँ उनीहरुलाई प्रारम्भमै भनिन्छ, ‘एनालाइज सेक्यूरिटी फस्ट एण्ड देन अपरेट । ईफ एनिथिङ रङ रिपोर्ट सडन ।’

अर्थात्, पहिले सुरक्षा विश्लेषण गर्नुस्, त्यसपछि मात्रै अपरेशनमा जानुस् । केही समस्या हुने भए तत्कालन रिपोर्ट गर्नुस् ।

तर, नेपाल प्रहरीमा त्यो सिस्टम छैन । जसरी पनि ‘हाकिम’लाई परिणाम देखाउनु पर्ने चुनौति अनुसन्धानकर्ता समक्ष हुन्छ । ‘हाकिम’ पनि उनीभन्दा माथिल्लो निकायले दिएको परिणाम पेश गर्ने चुनौतिबाट पेलिएका हुन्छन् ।

प्रहरीको विभिन्न तहमा ‘प्रेसर’ जेरी झैं जेलिएको छ । ‘कसरी हुन्छ थाहा छैन तर, परिणाम आउनु पर्‍यो’ भन्दै हरेक माथिल्लो निकायको आदेश हुन्छ । त्यही दबावमा प्रहरी चुक्छ ।

शुक्रबार रातिको घटनामा पनि अपरेशन चलाउनुअघि पूर्वतयारी कमजोर भएको स्वयंम प्रहरी अधिकारीहरुको विश्लेषण गरेका छन् ।

जुवा अपरेशनको घटनामा मात्र नभइ अन्य घटनामा पनि परिणामको विश्लेषण नगरी अघि बढ्दा गम्भीर समस्या निम्तिएको घटना प्रशस्तै छन् । जसको पछिल्लो उदाहरणमा निर्मला पन्त हत्या प्रकरणमा दिलिप विष्टलाई हतारहतार सार्वजनिक गर्नु पनि हो ।

‘यो नियतवश भएको घटना नभइ प्लानिङको अभावले भएको घटना हो’, एक अनुसन्धान अधिकारी भन्छन् ।

उनकाअनुसार अपरेशनमा जानु अघि प्रारम्भमै केही व्यक्ति रेकी गर्न पठाइनु पर्थ्यो । त्यसपछि सवारी साधान लगायतका सामग्री हेरेर कति मान्छे छन् भन्ने अनुमान लगाउनु पर्थ्यो ।

‘त्यसपछि घेराबन्दी गरेर सरेन्डर गर्न लगाउनु पर्थ्यो’, उनले थपे, ‘तर, एक्कासि प्रहरी पुग्दा त्यहाँ भागदौड भयो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सकेन ।’

प्रहरीले अपरेशनमा जानु अघि भागेर जान सक्ने स्थानहरुको पनि पहिचान गरेर योजना बनाउने पर्नेमा त्यसो नभएको उनको भनाइ छ । ‘छतबाट भाग्न सक्ने स्थिति छ भने त्यो पनि पहिल्यै सोच्नु पर्ने हो । जुन अनुसन्धानको एउटा सिद्धान्त पनि हो’, उनले थपे ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?