+

लिभरपुलसँग किन डराउँछन् गार्डिओला ?

२०७५ असोज  २१ गते १९:०८ २०७५ असोज २१ गते १९:०८
लिभरपुलसँग किन डराउँछन् गार्डिओला ?

२१ असोज, काठमाडौं । ‘उनीहरुलाई देख्दा मलाई असाध्यै डर लागेको थियो । मैले यसै भनेको हैन । साच्चै उनीहरु असाध्यै खतरनाक छन्’
लिभरपुलको अट्याकिङ फुटबललाई लिएर म्यानचेष्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले भनेको यो कुराले निकै चर्चा पायो ।

गएको सिजन इंग्लिस पि्रमियर लिगमा कीर्तिमानी जित पाएपछि म्यानचेस्टर सिटीको यात्रालाई समेटर बनाएको वृत्तचित्र ‘अल अर नथिङ’ को छैठौं भागमा उनले भनेका थिए ।

गार्डिओला पूरा वृत्तचित्रमा विश्वस्त भएर बोलेका देखिन्थे । मात्रै लिभरपुलको प्रसंगमा भने उनको भनाइमा वास्तविक डर देखिएको थियो ।

प्रिमियर लिगको खेलमा मात्रै होइन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा समग्रमा ५-१ ले हराएर लिभरपुलले म्यानचेस्टर सिटीमा डर अझै बढाएको थियो । यसैले लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपको जीवनी लेखेका राफेल होनिगस्टेन क्लोपको टिम गार्डिओलाका लागि प्रमुख डर भएको बताउँछन् ।

गार्डिओलाको डर मुख्य त लिभरपुलसँग भन्दा क्लोपसँग ज्यादा छ । डर नलागोस् पनि ? सन् २०१३ मा क्लोपको बोरुसिया डर्टमुण्डले गार्डिओलाको बायर्न म्युनिखलाई जर्मन सुपर कपमा नराम्ररी हराएपछि स्पेनिस गार्डिओलाको चलिरहेको ‘ब्राण्ड फुटबल’मा नराम्रो धक्का लागेको थियो ।

त्यो खेलपछि क्लोप र गार्डिओलाले १४ पटक आमनेसामने भए, जसमा क्लोपले आठ खेल जितेका छन् । एक खेल बराबरी भएको छ । पाँच खेल मात्र हारेका छन् । बार्सिलोनामा लोभलाग्दो सफलता हात पारेपछि सबैको नजरमा परेका गार्डिओलाविरुद्ध कुनै पनि प्रशिक्षकले निकालेको यो सबैभन्दा राम्रो नतिजा हो ।

जर्मन फुटबलमा दुई वर्षमा क्लोपको डर्टमुण्ड र गार्डिओलाको बायर्नबीच आठ पटक भेट हुँदा भने दुवैले चार/चार खेल जितेका थिए ।
गएको सिजन भएको चार प्रमुख भेटमा लिभरपुल र म्यानचेस्टर सिटीबीच १८ गोल भएका थिए । यसैले पनि क्लोपको लिभरपुल र गार्डिओलाको म्यानसिटीबीचको खेल यो सिजन प्रमुख प्रतीक्षाको विषय बनेको छ ।

यो सिजनको पहिलो भेटमा नेपाली समय अनुसार आइतबार राति ९ः१५ मा म्यानचेस्टर सिटी र लिभरपुलबीच खेल हुँदै छ ।

सात/सात खेलमा दुवैले ६/६ खेल जितेका छन् र एक/एक खेल बराबरी खेलेका छन् । गोल अन्तरका आधारमा सिटी शीर्ष स्थानमा छ । यसैले आइतबारको खेलले पि्रमियर लिगमा ठूलो हेरफेर हुन सक्नेछ ।

गार्डिओलाको टिमविरुद्ध खेल्दा धेरैजस्तो प्रशिक्षक डिफेन्स लाइनदेखि नै बल पोसेसन बनाइ राख्ने र पाएको अवसरमा काउन्टर गर्ने ध्याउन्नमा हुन्छन् । तर, क्लोप मात्र त्यस्ता प्रशिक्षक हुन् जो गार्डिओलाविरुद्ध पनि लगातार आक्रमण गर्ने शैलीमा खेल्छन् । जसमा लागि उनको अट्याक लाइन पनि बलियो छ ।

यसैले क्लोपको तरिका पनि रोकिएर बस्ने होइन । गार्डिओला जस्तै क्लोप पनि रिक्स लिन तयार रहन्छन् । प्रेसिङ गेममा लागिपर्ने र ट्याकटिकल भिजन बनाएर अगाडि बढ्ने क्लोपसँग गार्डिओला यसै डराएका पनि होइनन् । क्लोप सिटीविरुद्ध मैदानमा लगातार आगो बाल्न तयार रहन्छन् ।

‘यदि तपाईं बहादुरीका साथ सोच्नुहुन्छ, गल्ती गर्न तयार रहनुहुन्छ भने तपाईँको जितको आधार तयार हुन्छ’ गत सिजन च्याम्पियन्स लिगमा सिटीविरुद्ध खेल्नुअघि क्लोपले भनेका थिए, ‘सिटीविरुद्ध बहादुरी देखाउन पनि सहज छैन किनभने तपाईँ कष्टमा पर्ने सम्भावना बढ्छ । तर, पछाडि हट्नु सिटीविरुद्ध झनै घातक हुन्छ ।’

प्रिमियर लिगमा गएको सिजन सिटीसँगको पहिलो भेटमा गार्डिओलालाई निराश पार्ने क्लोपको तरिकाले काम गरेको थिएन । पहिलो खेलमा सिटीले लिभरपुललाई ५-० ले हराएको थियो, जसमा ३७ औं मिनेटमा लिभरपुलका सडियो माने निस्किएपछि सिटीले चार गोल थपेको थियो ।

त्यसपछिका भेटमा भने क्लोपले गार्डिओलाको रणनीतिलाई विफल बनाए । प्रिमियर लिगमा नै सिटीलाई ४-३ ले हराएको लिभरपुलले च्याम्पियन्स लिगमा पनि समग्रमा ५-१ को जित निकालेको थियो । गएको सिजन लिभरपुलको पास एभरेजलाई हेर्दा पनि क्लोपले म्यानसिटीविरुद्ध अपनाएको तरिका थाहा हुन्छ । गएको सिजन लिभरपुलको समग्र पास एक्युरेसी सिटीविरुद्ध खेल्दा भने आधा थियो । क्लोप सिटीविरुद्ध डाइरेक्ट हुन्छ र अट्याकमा लगिहाल्छन् ।

पासको लम्बाइलाई हेर्ने हो भने पनि सामान्यतः गएको सिजन लिभरपुलको पास लम्बाइको एभरेज १० मिटर थियो भने सिटीविरुद्ध भने १५ मिटर थियो । लामो पास गर्ने र छोटो समयमा बल अट्याक गरिहाल्ने सोचमा क्लोप रहन्छन् ।

गार्डिओलाको ट्याकटिकल फर्मुलाले धेरै वर्षदेखि काम गरिरहेको छ । त्यही फर्मुला क्लोपको लिभरपुलविरुद्ध भने गएको वर्ष त्यति फापेन । यो वर्ष उनले त्यसमा केही परिवर्तन गर्लान् त ? गार्डिओलाले लिभरपुलविरुद्ध खेलाउने खेलाडीलाई हेर्दा उनको शैलीमा परिवर्तन भएको भान हुँदैन ।

अर्को कुरा गार्डिओला त्यस्ता प्रशिक्षक हुन्, जो जस्तोसुकै परिस्थितिमा पनि आफ्नो तरिका सही छ भनेर त्यसमा लागिरहन्छन् र त्यही अपनाउँछन् । प्राय त उनको शैलीले काम गरेकै हुन्छ तर, सधैं समय आफैसँग रहँदैन । उनलाई विफल पार्न क्लोपको योजना पनि नौलो बनिदिन सक्छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय