+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेकपाको सचिवालय बैठकः माधव नेपालको परीक्षा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते २१:०६

२२ असोज, काठमाडौं । आइतबार बस्ने भनिएको नेकपाको सचिवालय बैठक सोमबार एकैछिन मात्र बस्यो । माधव नेपालले दर्ता गरेको असहमतिबारे छलफल गर्ने गरी अर्को बैठक बुधबार बस्दैछ । र, यो सचिवालय बैठक बरिष्ठ नेता नेपालका लागि एउटा परीक्षाजस्तै बन्ने सो समूहका नेताको विश्लेषण छ ।

‘माधव कामरेडका लागि बुधबारको बैठक ‘एसईई परीक्षा’ जस्तै हो,’ नेकपाका एक सचिवालय सदस्यले अनलाइनखबरसँग भने, ‘पार्टीमा उहाँले दर्ता गर्नुभएको लिखित असन्तुष्टिको सुनुवाई गर्ने संकेत अध्यक्ष केपी ओलीबाट आएको छैन, बरु माधव नेपाललाई पनि झलनाथ र वामदेवलाई जस्तै पेल्ने संकेत देखिएको छ ।’

देश डुब्न लाग्यो भन्दै पार्टी नेतृत्वसँग खुल्लारुपमै अन्तरसंघर्ष थालेका नेता नेपालले यसअघिको सचिवालय बैठकको निर्णय उल्टाउन सक्छन् या सक्दैनन् ? यही कुरामा नेता नेपालको परीक्षा निर्भर रहने नेपाल पक्षका नेताको विश्लेषण छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र बरिष्ठ नेता माधव नेपाल विदेश गएका बेला सचिवालय बैठकले प्रदेश इञ्चार्ज र अध्यक्षहरु तोकेको थियो । नेता नेपालले स्वदेश फर्केपछि पार्टीमा लिखितरुपमै असहमति दर्ता गरेका छन् ।

सचिवालयको सो निर्णय उल्टाउनुपर्ने र स्थायी कमिटीको बैठकबाट मात्रै प्रदेश कमिटीका पदाधिकारीहरु बरिष्ठताका आधारमा चयन हुनुपर्ने नेता नेपालको माग छ ।

तर, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अमेरिकाबाटै मिडियालाई दिएको प्रतिक्रियामा भनिसकेका छन् कि सचिवालयको निर्णय सही छ र त्यसमाथि पुनर्विचार हुँदैन ।

तर, माधव नेपालनिकटका नेता भन्छन्- ‘पार्टीको निर्णय गर्ने थलो सचिवालय नभएर स्थायी कमिटी हो, त्यसैले सचिवालयको निर्णय खारेज हुनुपर्छ र बरिष्ठतालाई नमिची स्थायी कमिटीबाट प्रदेश कमिटीहरुको चयन गरिनु नै समस्या समाधानको उपाय हो ।’

मुख्यमन्त्रीहरुलाई प्रदेश कमिटीको जिम्मेवारी दिइनु कुनै पनि हालतमा स्वीकार्य नहुने माधव नेपाल पक्षका नेताहरुको भनाइ छ । नेपाल पक्षका एक नेताले अनलाइनखबरसँग भने- ‘प्रदेश ५ मा युवराज ज्ञवाली र घनश्याम भुसाल लगायतका नेताहरु प्रदेश इञ्चार्जका दाबेदार हुँदाहुँदै मुख्यमन्त्री शंकर पोखरेललाई इञ्चार्ज बनाइएको छ, जुन युक्तिसंगत छैन ।’

झलनाथ र वामदेवपछि माधवको पालो ?

पछिल्लो समय नेकपामा चर्किएको आन्तरिक विवादलाई माधव नेपाल पक्षका नेताहरुले झलनाथ खनाल र वामदेव गौतमसँग जोडेर व्याख्या गर्न थालेका छन् ।

नेपाल पक्षका एक नेताले अनलाइनखबरसँग भने- ‘केपी ओलीजी पाँच वर्षसम्मै प्रधानमन्त्री पदमा रहन चाहनुहुन्छ, यसका लागि अब माधव नेपाललाई किनारा लगाउने उहाँको ध्येय देखिन्छ । यसअघि झलनाथ खनाल र वामदेव गौतमलाई किनारा लगाइसक्नुभएको छ, अब नेपालको पालो आएको छ ।’

त्यसो त संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर र्फकने क्रममा प्रधानमन्त्री ओलीले विमानस्थलबाटै भनिसकेका छन्- यो सरकार पाँच वर्ष टिक्छ ।’

गतवर्ष असोजमा माओवादी र एमालेवीच पार्टी एकता हुँदै गर्दा आलोपालो प्रधानमन्त्री चलाउने प्रचण्ड र ओलीवीच भद्र सहमति भएको चर्चा चलेको थियो । सुरुको तीन वर्ष ओलीले र त्यसपछि प्रचण्डले प्रधानमन्त्री चलाउने अनौपचारिक सहमति दुई नेतावीच भएको भनिए पनि ओलीले माधव नेपाललाई कमजोर पारेपछि प्रचण्डसँगको भद्र सहमति तोड्न सक्ने अनुमान नेपाल पक्षका नेताहरुको छ ।

विगतमा ओलीले एमालेमा ‘एक व्यक्ति एक पद’ को वकालत गर्दै आफू पार्टी अध्यक्ष हुने र वामदेव गौतमलाई संसदीय दलको नेता बनाउने आश्वासन दिएका थिए । तर, महाधिवेशनमा गौतमलाई उपयोग गरेपछि भद्र सहमति तोडिएको गौतमले गुनासो गर्दै आएका छन् ।

ओली पक्षका नेता भन्छन्- यो समस्या सिरियस हैन

पछिल्लो समय नेकपाभित्र चर्किएको अन्तरविरोधलाई माधव नेपाल पक्षले परीक्षाका रुपमा विश्लेषण गरे पनि ओली पक्षका नेताहरु चाहिँ दुई नेतावीचको असमझदारी आगामी बैठकबाट सहजै समाधान हुने दाबी गर्छन् ।

नेकपाका महासचिव विष्णु पौडेलले अनलाइनखबरसँग भने- ‘धेरै सिरियस कुरा छैन, बाहिर आएकाले मात्रै यो समाचारको विषय बनेको हो, आन्तरिकरुपमा बसेर, छलफल गरेर हामी यसलाई टुंग्याउँछौं ।’

अहिले बोलाइएको सचिवालयको बैठक नियमित बैठक भएको महासचिव पौडेलले अनलाइनखबरलाई बताए । साथै सचिवलाय बैठकले स्थायी कमिटीको बैठक डाक्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?