+
+
WC Series
पोखरा एभेन्जर्स 2025
22/1 (3.6)
VS
९६ बलमा १४४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

चितवनका थारु समुदायले मनाए यमोसा पर्व

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १७:४८

२३, असोज, चितवन । चितवनका थारु समुदायहरुले मंगलबार यमोसा पर्व (पितृ औंशी) मनाइएका छन् । थारु बस्ती रहेको पूर्वी चितवन, पश्चिम चितवन र माडी क्षेत्रमा थारुहरुले यो पर्व मनाएका हुन् ।

घर अगाडि पितृ स्थापना गरी सम्पूर्ण पितृहरुलाई तर्पण गरी यो पर्व मनाईरहेको थारु अगुवा जोखा चौधरी बताउँछन् ।

यस पर्वमा आफन्तजनलाई बोलाएर पिठो परिकार खुवाएर रमाईलो साथ यो पर्व मनाईछ । यो पर्व अघि कुनै घरमा व्यक्तिको निधन भएमा ती घरमा बली चढाएर यमोसा पर्व मनाउने प्रचलन छ ।

आजको दिन औंसी पर्ने भएकोले यस पर्वलाई पितृऔंशी पनि भनिन्छ । यो पर्व असोज महिनाको औंसीको दिन पर्दछ । दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । थारु वस्तीमा यमोसा पर्व दुई दिन धुमधामसँग मनाइन्छ ।

यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ ।

अर्को दिन अर्थात् यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन् ।

त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाई धोई पखालेर घर अगाडि गाईको गोबरले पोतेको ठाउमा पिर्का वा कुर्चीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारु भाषामा ‘पहुनी बेठोइ’ भनिन्छ । पहुनीलाई विभिन्न थरीका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ ।

पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गर्ने चलन छ ।

हातमा कुश लिई पानी चढाउँदै ‘ले रे बुबा पानी , ले री बिदाओ पानी’ भन्दै मृत्यु भैसकेका पितृगण, हजुरबा र हजुरआमाको मृत आत्मालाई तर्पण गरिन्छ ।

नुहाइधुवाइ गरीसकेपछि नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने गरिन्छ । त्यसलाई ‘छाकी चढोइ’ भनिन्छ । त्यसपछि मात्र खानपिन सुरु हुन्छ । सर्वप्रथम छोरी-ज्वाई वा कुनै पाहुना बोलाई मिठो परिकार खुवाउने चलन छ ।

यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोई’ भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आफूले खाने गरिन्छ । यता युवतीहरुले पाहुनाको कपालमा तेल लगाई काइँयोले कोरीदिने गरिन्छ ।

त्यसपछि सफा उल्टो नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई ‘पित्पित्रायन खेदई’ भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउनुपर्छ ।

यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । उता गाउँका सबैजना एकै ठाउँमा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ ।

पहिले पहिले एउटै रुखमा पाँच छ वटा पिङ लगाइन्थ्यो । यता युवाहरुले साँझपख गाउँको बाटोको महत्वपूर्ण ठाउँमा ‘म्वार्‍हा’ गाड्छन् ।

गाउँको बीच बाटोमा एक मिटर जति गहिरो खल्डो खनी खाल्डोमा लाम्चो फलाम वा बलियो काठ तेर्सो पारी पुरिन्छ र त्यसमै बाँधिएको बलियो डोरी खाल्डो बाहिर ल्याई अल्झाउने खालको फन्दा बनाइन्छ ।

बलिया र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । उखेल्न सक्नेलाई गाउँकै पहलमानको दृष्टिले हेरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?