२४ असोज, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा च्यासल र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको सातौं मिनेटमा नै च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल बारमा लागेर बाहिरिएपछि अग्रता बनाउन बाट चुकेको थियो ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको च्यासलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै गोल गर्ने अवसर सिर्जना गरेको थियो । एकपछि अर्को आक्रमक खेल खेले पनि गोल गर्न सकिरहेको थिएन ।
खेलको ७५औं मिनेटमा बिमल घर्तिमगरलाई डिबक्सभित्र फल गरेपछि च्यासलले पेनाल्टी पाएको थियो ।
पेनाल्टी प्रहार गर्न हेमन्त थापामगर आए । तर, हेमन्तले प्रहार गरेको बल गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो ।
पोष्ट म्याच कन्फ्रेन्समा च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीले राम्रो खेलेपनि गोल नभएको बताए । उनले भने, ‘खेलाडीले राम्रो खेले । तर, हामीले गोल गर्न चुक्यो ।’
मछिन्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले च्यासललाई रोक्ने रणनीतिको साथ खेलेको र सफल भएको बताए । उनले भने, ‘धैर्यताको साथ डिफेन्सिप खेल्यौ । आगामी खेलहरूमा पनि राम्रो गर्नेछौं ।’
लिगमा बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा फ्रेन्ड्स क्लबले थ्रीस्टार क्लबसँग ११ बजे एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा गर्नेछ । दिउँसो ३ बजे जाउलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4