Comments Add Comment

देउवाज्यू, राजधानी निर्विकल्प धनगढीमात्रै हो त ?

माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू ! सुदूरपश्चिम क्षेत्रको विकट गाउँमा जन्मिएर चार पटकसम्म देशको कार्यकारी प्रमुख हुने अवसर पाउनु तपाईका लागि मात्रै नभएर हामी सबै सुदूरपश्चिमबासीहरुका लागि गौरवको कुरा हो । तपाईको त्याग, समर्पण र लगानीले तपाई त्यस ठाउँमा पुग्नु भएको छ । पदीय जिम्मेवारीका हिसावले राजनीतिमा तपाई सफल व्यक्तित्व हुनुहुन्छ । त्यसका लागि धन्यवाद छ र थप सफलताका लागि शुभकामना पनि छ ।

म अब सिधै विषयवस्तुमा प्रवेश गर्छु । शनिबार तपाईले ‘नालायक’ भन्दै सरकारको कडा आलोचना गर्नुभयोे । बलात्कारीलाई पक्राउ गर्न नसक्ने सरकार भन्दै तीखो प्रहारसहित सरकार असफल भएको दाबी गर्नुभयो । निश्चितरुपमा वर्तमान सरकार असफल भएको भान आम जनतालाई पनि भएको छ भने पटकपटक देशको प्रधानमन्त्री भइसकेको व्यक्तिलाई त्यो भान नहुने कुरै भएन । लोकतन्त्रमा सरकारलाई खबरदारी गर्नु र रचनात्मक विरोध गर्नु प्रतिपक्षको धर्म पनि हो ।

एकातिर आम जनताले थाह पाउने गरी सरकारका गतिबिधिहरु कमजोर भईरहेका र अर्कोतिर प्रतिपक्षको धर्म पुरा गर्नु पर्ने भएका कारण तपाईले सरकारको आलोचना गर्नु अन्यथा होईन । तपाई आफु सरकारमा हुँदा पनि थुप्रै अपराधका घटनाहरु भएका छन्, त्यतिवेला पनि अपराधी पत्ता नलागेका घटनाहरु छन् र त्यतिवेलाका प्रतिपक्षहरुले पनि तपाईलाई असफल, असक्षम, नालायक भनेकै हुन । त्यसकारण तपाईले सरकारको आलोचना गर्नु स्वभाविकै हो ।

सरकारको आलोचना गर्ने क्रममै सुदूरपश्चिम प्रदेशको राजधानी “गोदावरी” तोकेकोमा पनि विरोध गर्नुभयो । सुदूरपश्चिमकै बासिन्दा भएका कारण तपाईले त्यो बिरोध गर्नु पनि स्वाभाविकै हो । यद्यपि नेपालको संविधानको हस्ताक्षरकर्ता तपाई पनि हो, जुन संविधानको धारा २८८ (२) मा प्रदेशको स्थायी राजधानी सम्वन्धित प्रदेश सभाको दुईतिहाई बहुमतले निर्णय गरेबमोजिम हुने व्यवस्था छ । तर, पनि जंगल फँडानी गरेर राजधानी बनाउन खोजिएकोप्रति तपाईको आपत्तिमा मेरो पनि सहमति छ र थुप्रै सुदूरपश्चिमबासीहरुको समर्थन छ ।

तमाम बिकल्प हुँदाहुँदै पनि जंगलमा लगेर राजधानी बनाउन थालिएको छ । प्रदेश राजधानीका संरचना बनाउनकै लागि अर्वौंको लगानी लगाउनु पर्छ । जनताले तिरेको कर जनताको सेवा र विकासमा भन्दा पनि अनावश्यक संरचना निर्माणमा खर्च हुन्छ भन्ने तपाईको तर्कसहितको आपत्तिलाई सलाम छ ।

तर, के राजधानीका लागि धनगढी मात्रै उपयुक्त हो त ? तपाईलाई मेरो मुख्य प्रश्न यो हो । ‘सबै प्रकारले राजधानीका लागि धनगढी उपयुक्त छ’ भन्नुभएको छ, ‘सबै प्रकारले’ भनेको के के हो ? के आधारमा धनगढीलाई मात्रै राजधानी बनाउनका लागि उपयुक्त देख्दै हुनुहुन्छ ? धनगढीको बिकल्प तपाईले साँच्चै नदेख्नु भएको हो वा राजनीतिक स्वार्थका आधारमा धनगढीको बिकल्प चाहानु हुन्न ?

धनगढी राजधानी हुनै सक्दैन भन्ने कुरा होइन । जनसंख्याको दृष्टिले, व्यापारिक केन्द्रका दृष्टिले, केही सरकारी भौतिक संरचनाहरु पनि भएका कारणले र तपाईले बनाइदिएको अस्थायी मुकाम धनगढी भएका कारणले एक प्रकारको सेटिङ्ग भएको छ, त्यसैले धनगढी हुनै हुँदैन भन्ने कुरा छैन । गोदावरी भन्दा धनगढी उपयुक्त छ । त्यो सर्वस्वीकार्य बिषय पनि हो ।

तर, के तपाईले भन्नुभएजस्तो धनगढी मात्रै उपयुक्त हो त ? तपाई स्वयं पहाडमा जन्मिनुभएको हो । बाल्यकाल, बिद्यालय उमेर पहाडमै बिताउनुभएको हो । ०४८ सालदेखि हालसम्म पहाडकै जनताको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । पटकपटक प्रधानमन्त्री पहाडकै जनताले दिएको अभिमतबाट हुनुभयो । तर, तपाईकै पालामा भएको एक निर्णयले पहाडको ईतिहास नामेट हुँदैछ, पहाड रित्तिदैछन् । तराईको उर्बर जमीन कंक्रिटमा परिणत हुँदैछ । तराईका आदिबासी जनजाति अल्पमतमा पर्ने अवस्था छ ।

यदि तपाई नेतृत्वको सरकारले ०७४ साल माघ ३ गते सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम साविकको सुदूरपश्चिम विकास क्षेत्र रहेको, उच्च अदालत भएको, राणाकालीन देशका चार गौंडामध्ये भौगोलिक रुपले सवैभन्दा बढी क्षेत्र ओगटेको गौंणा भएको डोटीमा तोकिदिएको भए आज गोदावरीको जंगल फँडानी हुने थिएन, तपाईले जंगल मासिन लाग्यो भनेर चिन्ता गर्नुपर्ने अवस्था थिएन । त्यो अन्याय तपाईले डोटीबासीप्रति, सुदूरपश्चिमका ७ पहाडी जिल्लाप्रति गर्नुभएको छ ।

लामो समयदेखिको इतिहास नामेट हुने गरी अस्थायी मुकाम तोक्दा तपाईका कार्यकर्ताहरुले “सुदूरपश्चिमका अन्य दलका नेताहरुको दबावमा अस्थायी मुकाम धनगढी तोकिएको हो” भन्ने अभिव्यक्ति दिएका हुन् र अहिले पनि त्यही अभिव्यक्ति दिइरहेका छन् । तर, के तपाईको पछिल्लो अभिव्यक्तिले त्यो कुरा झुटा सावित गरेन र ? कि त अहिले पनि तपाईलाई अरु दलका नेताहरुले त्यसो भन्न दबाव दिइरहेका छन् ?

यदि तपाई राजनेता हो र बर्तमान नेकपाका नेताहरुले वा प्रदेश सभाले गलत निर्णय गरेको हो भन्ने हिम्मत राख्नुहुन्छ भने प्रदेश राजधानी दिपायल उपयुक्त हो भन्न सक्नुपर्छ । अरुलाई गल्ती गर्‍याे भनेर धारे हात लगाउनेले आफुले अस्थायी मुकाम तोक्दा अन्याय गरेको हुँ पनि भन्न सक्नु पर्छ ।

इतिहास, भौगोलिक समदुरी, सरकारी भौतिक संरचना, सामरिक महत्व, समावेशी विकासको अवधारणा, बातावरण जस्ता सवै कुराहरुले दिपायल राजधानी हुनु उपयुक्त होइन र ? तपाई त झन डोटीबाटै शिक्षा लिएको व्यक्ति हो । तपाईको मावली पनि डोटी हो रे । तपाईले डोटीको इतिहास पढ्नुभएको छैन होला र ? तपाईले डोटीको भूगोल, डोटीमा भएका सरकारी भौतिक संरचनाहरु देख्नुभएको छैन र ? पटक–पटक आएर तिनै सरकारी भौतिक संरचनाहरुमा रात बिताउनुभएको छ, के ती संरचनाहरु अस्थायी मुकामका लागि उपयुक्त थिएनन् र ?

आदरणीय नेताज्यू,

मैले माथि नै भनिसकें धनगढी राजधानी हुनै सक्दैन भन्ने कुरा छैन, हुन सक्ने आधारहरु छन् धनगढीमा पनि । तर, तपाईका लागि धनगढीमात्रै उपयुक्त हुनुको एउटा कारण हुन सक्छ, त्यो हो परिवारको दबाव । विगतमा पनि तपाईले अस्थायी मुकाम धनगढी तोक्न अरु कुनै दलका नेताले दवाव दिएनन् । आदरणीय नेता आरजू राणा (देउवा) ले दिनुभएको थियो भन्ने कुराको पुिष्ट तपाईको पछिल्लो अभिव्यक्तिले गरेको छ । आरजूलाई राजनीति गर्नका लागि भूगोल आवश्यक छ । ०७० सालको संबिधानसभा निर्वाचनमा दुई क्षेत्रबाट चुनाव लड्ने क्रममा तपाईले धनगढीबाटै जित्नु र ०७४ संसदीय निर्वाचनमा तपाईकी धर्मपत्नीले धनगढीबाटै चुनाव लड्नुले उनको “पोलिटिकल ग्राउण्ड” धनगढी हो भन्ने प्रष्ट भएको छ ।

त्यो ग्राउण्डलाई आफ्नो कव्जामा राख्नका लागि राजधानी उपयुक्त हतियार हो । त्यसकारण मात्रै तपाईले सात पहाडी जिल्लालाई अपमान गर्दै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी मात्रै उपयुक्त देख्नुभएको त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment