Comments Add Comment

पछि हटे वामदेव, काठमाडौं ७ बाट चुनाव नलड्ने

२५ असोज, काठमाडौं । चतर्फी आलोचनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । पार्टी सांसदलाई राजीनामा गराएर आफू उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाएका थिए । लगतै सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गरे ।

तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएपछि नेताहरु आश्चर्यमा परे । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहसंख्यक नेता गौतमलाई चुनाव लडाउने पक्षमा देखिएनन् ।

चौतर्फी आलोचनापछि पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले बुधबार साँझ सचिवालयका नेताहरुसँग परामर्श गरे । उनले प्रधानमन्त्री एवं अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गरेका थिए ।

नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निर्णयमा पुगेका छन् । नेकपाको उच्च स्रोतले भन्यो, ‘पार्टी भित्रबाटै असहयोग हुने र चुनाव हारिने देखेपछि गौतम स्वयंमले काठमाडौं ७ बाट चुनाव लडि्दन भन्नु भएको छ ।’

अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा नेकपाका महासचिव विष्णु पौडेलले पनि गौतम काठमाडौं ७ बाट उम्मेदवार हुन नहुने बताएका छन् ।

गौतम काठमाडौं ७ मा मात्र चुनाव नलड्ने हो वा उपचुनावबाटै नआउने हो प्रष्ट भएको छैन ।

बर्दिया १ मा चुनाव हारेका गौतम त्यसपछि लगातार संसदमा आउने प्रयासमा थिए । सुरुमा उनले डोल्पाका धनबहादुर बुढालाई राजीनामा दिन सहमत पनि गराएका थिए । तर, बुढा पछि हटेपछि गौतमले दैलेख र बाँकेतिर आँखा लगाए ।

सबैतिर सकारात्मक वातावरण नबनेपछि काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन सहमत गराएका थिए । तर, यो प्रयास पनि असफल भएको छ ।

काठमाडौं ७ का प्रदेशसभा सदस्य बसन्त मानन्धरले पनि गौतम अब काठमाडौं ७ बाट चुनाव नलड्ने बताए । आफ्नो गौतमसँग फोनमा कुराकानी भएको भन्दै उनले भने, ‘उहाँले चुनाव नलड्ने निर्णय लिएँ भन्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment