Comments Add Comment

बुढेसकालको लौरी

सबैका छोराछोरी हुर्किसके, आफना भने साना भन्टयाङ भुन्टुङ नै छन्, अझै । सबैजना बुढेसकालका लौरी हुन् छोराछोरी भन्छन् । हामी बुढो हुँदा त यी नावालकै हुन्छन् कि क्या हो । छोरालाई लिटो खुवाउँदै श्रीमतीले भनेको हिजो जस्तो लाग्छ । छोरा अमेरिका जाने दिन पनि आयो । हामी छोरालाई एयरपोर्टसम्म पुर्‍याउन गयौँ । साईतको लागि हामीले लगाइदिएको टीका उसकाे निधारमा टलक्क टल्केको थियो । आँखा रसिला बनाएर छोराले बिदा माग्दा हामी बुढाबुढी किन हो किन असाध्यै पाक्कियौ । मैले त आँसु रोक्न नै सकिन । बुढी सम्हालिदै थिइन् वा मनलाई कठोर बनाएकी थिइन् । म जस्तो भल्भल्ती रोएकी भने थिइनन् ।

बाबा, हजुर के हुनुभएको मामु रुनु भएको छैन । छोराले मेरो आँखाको डिलको आँसु पुछिदिदै सम्झायो “पढेर फर्किहाल्छु नि” ।

बिदाईको आँसु हो छोरा, तिमी राम्रोसँग जाउँ । मैले सकिनसकी रुञ्चेस्वरमा छोराको शीरमा हात राख्दै भने ।

श्रीमतीले मौनतामा नै छोराको शीरमा हात राखिन् । छोरा हामीलाई ढोगेर टर्मिनलभित्र पस्यो । हामीले हाम्रा गरुङ्गा हातहरु उठाएर बिदाइका लागि विस्तारै हल्लायौं ।

छोराको जहाज नउडेसम्म घर फर्किन मन लागेन । एयरपोर्टको एउटा छेउमा बसेर हामी ल्पेन उडने समय पर्खेर बसिरहयौँ ।

छोरी अष्ट्रेलिया जाँदा छोरा साथमा थियो । म त्यति धेरै भावुक बनेको थिईन् । छोरी गएको पनि दस वर्ष पुगिसक्यो, काम गर्दै पढ्दै गर्दा त पढेर कहिल्यै सकिँदोरहेनछ । बस्दाबस्दै गाडी किन्न मन लाग्नेरहेछ । ऋणमा गाडि किनेपछि खानलगाउन, कलेज भर्नाको अतिरिक्त गाडीको किस्ता तिर्नुपर्ने दायित्व थपिँदोरहेछ, छोराछोरीहरुमा । त्यसपछि पैसाका लागि काम काम भन्दा भन्दै पढाई त छाडिँदोरहेछ, कता कता । गोरेको सेवामा निर्लिप्त हाम्रा छोराछोरी वर्षौ काम गर्दा पनि बाउआमालाई भेटन घरसम्म आउने पैसा र समयको जोहो गर्न सक्दोरहेनछन्, बिचरा । मैले जापान, अमेरिका, अष्टे«लियामा बसेर पढनेहरु भेट्दा बुझेको गुह्य कुरा । म टोलाई नै रहेको थिएँ । हजुरले यति धेरै पीर मान्नुहोला जस्तो मानेको थिइनँ, मैले । श्रीमतीले मेरो टाउको मुर्सादै सोधिन् ।

छोरी अष्ट्रेलिया जाँदा छोरी फर्किन्छिन् भन्ने लाग्थ्यो मलाई । छोरीको बाध्यता र हाम्रो रहरको कहिल्यै भेट भएन । त्यसैले म भावुक बनेको हुँ । छोरा पनि जान्छ र त्यही भासमा खस्छ । छोराछोरी जन्मदाको खुसी सम्झ त एकपटक । रगत पसीना खर्चेर हुर्कायौँ पढायौँ, आफना सबै सपना र ईच्छाहरुलाई एकातिर पन्छाएर । न छोराछोरी आफूलाई हुने भए न त देशलाई नै । यो कस्तो वातावरण बन्यो, बन्यो, छोराछोरी हुर्कने अनि उडने, चराहरुको जस्तै । मैले आफैलाई सम्झाउन सकिरहेको थिइनँ ।

मेरो कुरा सुनेपछि श्रीमती भक्कानिँदै मेरो काखमा घोप्टो परिन् । बाबा ! मैले पनि सकेर हो र छोराले पिर मान्ला भनेर मात्रै दबाएर राखेकी थिएँ, सबै पीडा ।

हामी बुढाबुढी धेरैबेर एयरपोर्टमा नै बस्यौँ । बाबामामु ! एकैछिनमा अब ल्पेन उडछ । छोराले फोन गर्‍याे । हामी दुबैले राम्ररी जाउँ, पुगेपछि फोन गर है भन्दै आर्शिवाद दियौँ ।

रातको एक बज्दै थियो । आकाशलाई झंकृत गर्दै जहाज दक्षिणबाट उड्यो र काठमाडौंलाई एक फन्को लगाएर पश्चिम हानियो, त्यसपछि मात्रै हामी घर फर्कियौँ ।

घर पुग्दा थाहा भयो हाम्रो मुटु छुटेछ, एयरपोर्टमा नै । शून्य घर, शून्य मन, जताततै शुन्यै शुन्य । छोराछोरीसमेतका लागि बनाएको घर छोराछोरी नै विदेशिएपछि त डङरङ्ग ठुलो लाग्यो । सर्बत्र अध्याँरो थियो, दुईसय वाटको बल्वले पनि अध्याँरो फाल्न सकिरहेको थिएन । यसो र उसो गर्दा गर्दै रात सकिएछ, निद्रा पनि छोरासँगै गएझै पो भयो, हामीलाई ।

बिहान भयो । मर्निङवाक गर्न जान पनि मन लागेन । भित्तामा छोराले किनिदिएको लौरी मलाई हेरेर भनिरहेको थियो “मर्निङवाक त छोडनुहुँदैन नि”।

बाबा ! “मर्निङवाकमा जाँदा यो लौरी टेक्नु होला । यसमा चारवटा खुट्टा छन् । हत्तपत्त चिप्लिँदैन । छोराले हिजो सम्झाएको थियो ।

म लठ्ठीको भरमा हिँडने गरेको त थिइन् । छोराले भविष्यको चाँजोपाँजो मिलाएको थियो होला । म मन लागि नलागी बाहिर निस्केँ ।

ल तपाईलाई बधाई छ है सर । छोरा अमेरिका गएछ । छोराछोरी दुबै विदेश गए ।  तपाईहरु त कस्तो भाग्यमानी मान्छे । छिमेकीहरुको बधाईको ओइरो नै लाग्यो ।

धन्यवाद हजुरहरुलाई । म औपचारिकता निभाउँदै अगाडि बढेँ ।

दुई छोराछोरी दुबै विदेश गए । जान त पढन भनेर गएका हुन् । तर, छोरी पढी सिध्याएर पनि नफर्केको कारण हाम्रो मन अत्यन्दै कमजोर बनेको थियो । किन हाम्रा छोराछोरीलाई विदेश जानुपर्ने बाध्यता आयो ? एक पेट खान र एक हर लाउन त प्रसस्तै छ, सम्पति पनि । हामी नै उचालिरहेका छौं कि हाम्रा छोराछोरीहरुलाई, प्रत्यक्ष वा परोक्षरुपमा । म सोच्न थालेँ । कतिपय विषय त म आफैं पनि बुझ्दथेँ । कतिपय विषयहरु युवा पिढीं नै जान्दछ होला । पढन जानु ठीक छ, तर पढेपछि उतै हराउनु त आश्चर्य नै हो नि । नेपालमा पनि त अवसरै अवसर छ गर्नेहरुलाई । धेरै कुराहरु कल्पनाको सागरमा पौडिरहे ।

रानीवारीको जंगल एकचक्कर लगाएर म फर्के ।

हजुरले पकाउने भए पकाउनुस् मलाई त भात पकाउन नै मन लागेन । शून्यले निल्ला जस्तो भयो मलाई त । श्रीमती निकै झोक्राएकी थिइन् ।

उनले सारै धेरै पिर माने जस्तो लाग्यो ।

खान त मलाई पनि मन छैन । थोरै पकाउला नि त म । तिमी आराम गर । आखिर हामी बुढाबुढी त हौ, एकअर्काको भर । छोराछोरी त पाउना झैं आए, पाहुना झैं गए । म खाना पकाउन भान्छातिर लागेँ ।

छोरीले बुग्लीबुग्ली मामु भन्दै गाला तानेको र छोराले छुच्ची मामु भन्दै जिस्क्याएको सम्झेर म त भुतुक्कै भएँ । हजुर बाहिर गएको बेलामा त, म एक्लै बेस्सरी रोएँ । श्रीमती मलाई अँगालो हाल्दै सुँक्सुँकाइन् ।

हुर्काउने पढाउने हामी, हाम्रा छोराछोरीहरुको काम कमाई खाने चाँहि विदेशी । भोलिका लागि हाम्रो देशका कर्णधारहरुको पलायन समस्या होइन र  ? राज्यले सोच्नुपर्ने होइन ? हाम्रो सीमाको रक्षा कसले गर्ने ? हाम्रो सम्पतिको सुरक्षा कसले गर्ने ? हामी बुढो हुँदा कसले हेर्ने ? हाम्रा छोराछोरी हाम्रो देशका लौरी हुन् । देशको भाग्य निर्माता हुन् । विदेशमा गएर ऋणको फन्दामा परेका हाम्रा सन्तानलाई निखन्ने कसले ? पढेर आएका हाम्रा सन्तानलाई मिल्दो रोजगारी वा व्यवसाय गर्ने वातावरण मिलाउने कस्ले बाबा ? स्वदेश आएपछि यतै रमाउन न उनीहरु । श्रीमतीलाई छोराछोरी विदेश गएर परेको पीर भकभकी उम्लिरहेको थियो ।

बुढी ! अन्तराष्ट्रिय बसाईसराई आजको विश्वमा आम प्रवृति बनेको छ । धेरै देशका युवायुवतीहरु पढेर वा सीप सिकेर फर्कन सरकारले नै उत्प्रेरणाका सुविधा दिएको हुन्छ । तर, हाम्रो देशमा स्वदेश फर्कने वातावरण नै बन्न सकेन । टाठाबाठा मुग्लान पसेकै राम्रो भन्छन् कि कसो राजनीति गर्नेहरुले त ।  हिलो, धुलो, धुवाँ, अपराध र अस्थिरता बन्द हडताल हाम्रा शत्रु हुन् । यी शत्रुलाई पराजित नगरेसम्म विदेशिएका हाम्रा छोराछोरी फर्कंदैनन् । म बुढीलाई सम्झाउँदै खाना बनाउन थालेँ ।

छोरा अमेरिका गएको पनि पाँच वर्ष पुगेछ । चाडबाड आयो, विरामी पर्‍याे की छोराछारी संझिन्छ मन । तर छोराछोरी आउन मिल्दैन भन्दै पन्छनछन् । कस्ता देश रहेछन् अष्ट्रेलिया अमेरिका भनेका ? छुटदै नछुटने मोहनी लगाउने ।  के गर्नु के नगर्नु ? बुढाबुढी छिनमा टोलाउथ्यौँ, छिनमा बहुरिन्थ्यौँ । छोराछोरी कहिलेकाँही फोन गर्दथे । हामी अत्तालिन्थ्यौं हामी नै गर्दथ्यौँ, धेरै फोन ।

दिनहरु बितेर गए । एकदिन, श्रीमती मर्निङवाकमा निस्कँदा घरको पिढींमा चिप्लेर लडिन् । गोडा फयाक्चर भएछ । मैले अस्पताल लगेर प्लाष्टर गरेर ल्याएँ । छोरासँग सम्पर्क हुन सकेन । छोरीलाई खबर गयो । छोरीको जागिर एकैदिन पनि छोड्न नमिल्ने रहेछ । छोरीले सरी बाबा ! म आउन सक्दिनँ । मामुको गोडा त फयाक्चर भएको हो नि मिलाउनुसन् भन्न थालिन् । तिमीलार्इ गाह्रो हुन्छ भने नआउन त, बाबाले गरिहाल्नु हुन्छ, सबै । श्रीमतीले छोरीलाई मुक्त गरिदिइन् ।

श्रीमतीको गोडा ठीक भएको हप्ता दिनपछि छोरासँग सम्पर्क भयो । मैले श्रीमतीको गोडा भाँच्चिएको कुरै गरिनँ । श्रीमतीले नै सुनाइन् । मामु ! थाहा पाएको भए पनि म आउन सक्दिनथेँ, नथाहा भएकै ठीक भयो । छोराले आफनो बाध्यता सुनायो ।

छोराको जबाफले श्रीमती अत्यन्त खिन्न भइन् । छोराछोरी दुबैले बाबामामुको मन पढन सकेनन् । हामी छोराछोरीको व्यवहारले मर्माहत भयौँ । तर, पीर कस्तो भने कसैलाई भन्न नसकिने । भन्यो भने खुचिङ खाइस् । छोराछोरी विदेश गएका छन् भन्दै फूर्ति गर्थ्यो । बल्ल पाए स्वाद भन्छन्, छरछिमेकी, बन्धुवान्धव सबै ।

लौरोको भरमा हिँडडुल गर्नुपर्ने दिनहरु पनि आए । छोराले किनेर छोडको लौरीको भरमा म साँझ बिहान हिँड्रने गर्थेँ । एकदिन, बाथरुममा चिप्लिएर म लडेँ । बेहोस भएछु । श्रीमतीले रुँदै र फहराउँदै अस्पताल पुर्‍याइछन् । भगवानको कृपा म बौरिएँ । छोराछोरीलाई फोन गर्दा सम्पर्क हुन नै सकेन । छोराछोरी नै नआएपछि छरछिमेकी र दाजुभाइले पनि खासै चासो दिएनन् ।

छोराछोरी पनि के भएका हुन् । यहाँ हुँदा त कति माया गर्थे, बाबामामु भन्दा त भुतुक्कै हुन्थे । श्रीमती छक्क परिरहेकी थिइन् ।

छोराछोरी विदेश गए भनेर रमाउन कहिल्यै सकिएन । पहिले मुटुको गयो  भनियो । पछि मुटुको टुक्रा फर्किएन भन्दै रोइयो । यसै यसै गरी हाम्रा आँखाहरु धेरै रोए, मनसँगै ।

बुढेसकालमा छोराछोरीको आश गर्नु नै गल्ती हो त सबैले भन्ने गर्दछन् । तर, उनीहरु सानो छँदा राम्रोसँग हुर्काउनु बढाउनु पढाउनु पनि गल्ती हो त कसैले भन्दैन् । बाबुआमा छोराछोरी सानो हुँदाका लौरी हुन् भने छोराछारी बाबुआमा बुढो हुँदाका लौरी हुन् नि, भर दिने । खोई बुझेका हामीले ? कसरी रोक्ने हाम्रा छोराछारीलाई देशमा ।

दिनरातको चक्र घुमिरहयो । स्वदेशी लौरीहरु विदेशमा हराउने खेलो चलिरहयो । देशमा शासन गर्ने, देश निर्माण गर्ने लौरीहरु विदेशमा हराइरहे । बाबुआमा चाहेर नचाहेर लौरीको पर्खाइमा बस्ने क्रम भने भङ्ग भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment