News Summary
Generated by OK AI. Editorially reviewed.- नाइजेरियन जोन क्लबले नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
- नाइजेरियन जोन क्लब र जेविएम फुटबल एकेडेमी लखनउबीच आइतबार अपरान्ह ४ बजे फाइनल खेल हुने आयोजकले जानकारी दिएका छन् ।
- प्रतियोगिताको विजेताले नगद ७ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछन् ।
५ बैशाख, नेपालगन्ज । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार सम्पन्न निकै प्रतिष्पर्धात्मक अन्तिम सेमिफाइनलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन क्लब ‘एम्टी एरिना’ फाइनलमा प्रवेश गरेको हो ।
नाइजेरियाको तर्फबाट ३९औं मिनेटमा ताजुदिन अकिनसोला र ७८औं मिनेटमा ओेलाबी अफिजले गोल गरे । फोर ब्रदर्स एफसीबाट अभिषेक महतोले एक गोल फर्काए ।
यस खेलमा नाइजेरियन जोनका ३ र फोर ब्रदरका २ खेलाडीले पहेँलो कार्ड पाएका थिए ।
फाइनल प्रवेशसंगै नाइजेरियन टोलीले जेविएम फूटबल एकेडेमी लखनउसंगको उपाधि भिडन्त पक्का गरेको हो । दुबै विदेशी टोली हुन् ।
फाइनल खेल आइतबार अपरान्ह ४ बजे सुरु हुने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
नाइजेरियन जोन क्लबले नकआउट चरणमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो भने आयोजक न्यू डाँफे स्पोर्ट्स क्लब खजुरालाई १–० गोल अन्तरले हराउँदै जेविएमले सेमिफाइनलको यात्रा तय गरेको थियो । खजुरा-४ डि-गाउँस्थित मिनी रंगशालामा प्रतियोगिता भइरहेको छ ।
न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।
प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लिलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ । वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन् । आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष बालाराम खत्रीले सहयोग रकम प्राप्त भइसकेको बताए । थापाले आफ्नो पिता स्व. गजबहादुर सिजालीको स्मृतिमा सहयोग गरेको बताए । प्रतियोगिताका सञ्चालनका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एम्टी एरिना लगायतले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4