News Summary
Generated by OK AI. Editorially reviewed.- इलाममा सुरु भएको तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पथरी ११ मोरङले आयोजक रेडहर्स फुटबल क्लबलाई पराजित गरेको छ ।
- प्रतियोगितामा दुई विदेशी सहित ८ टोली सहभागी छन् ।
- प्रतियोगिताको विजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँसहित पुरस्कार पाउनेछन् ।
५ बैशाख, इलाम । इलाममा शनिबारदेखि सुरु भएको तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पथरी ११ मोरङले विजयी सुरुवात गरेको छ ।
इलामको स्थानीय खेलमैदान ठूलो टुँडिखेलमा भएको खेलमा आयोजक रेडहर्स फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै पथरी ११ ले सुखद सुरुवात गरेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइब्रेकरबाट भएको हो ।
खेलको तेस्रो मिनेटमै रेडहर्सका सन्देश खड्काले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल देखिएको थियो । निर्धारित समयसम्म रेडहर्सले अग्रता जोगाइरहे पनि थप गरिएको इन्जुरी समयमा पथरी ११ का सौर्य राउतले गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो ।
टाइब्रेकरमा पथरी ११ मोरङले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका पथरी ११ मोरङका आशिष लावती प्लेअर अफ दि म्याच घोषित भए ।
खेलअघि पूर्वी पहाडकै प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा परिचित यस गोल्डकपको उद्घाटन इलाम निर्वाचन क्षेत्र नं. २ का सांसद सुहाङ नेम्वाङले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा आइतबार रोलिङ स्पोर्टिङ क्लब धुलाबारी, झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिस्पर्धा हुनेछ ।
रेडहर्ष फुटबल क्लबको आयोजनामा भएको यस प्रतियोगिताको विजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
गैरआवासीय नेपाली संघ -एनआरएनए) मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालको चर्चित टिमहरूमा मच्छिन्द्र फुटबल क्लब, न्यूरोड टिम (एनआरटी), चितलाङ फुटबल क्लब, फिदिम स्पोर्टिङ पाँचथर, रोलिङ क्लब झापा र आयोजक रेड हर्ष क्लब सहभागी छन् । यस्तै मलेसियाको एन पेनाङ एफसी र भारतको जर्जियन फुटबल क्लब कालेम्पुङले समेत यस संस्करणमा सहभागी भएका छन् ।
विगतमा धुलोयुक्त मैदानका कारण खेलाडीलाई असहज हुने समस्या देखिएपछि यस वर्ष मैदानमा हरियो दुवो रोपेर स्तरोन्नति गरिएको आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि अस्थायी बाँसका प्याराफिटसमेत निर्माण गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडी तथा खेल कभरेजका लागि खटिने सञ्चारकर्मीहरूको दुर्घटना बीमासमेत गरिएको आयोजकले जानकारी दिएको छ । करिब २ लाख रुपैयाँ बराबरको बीमा सुविधा प्रदान गरिएको जनाइएको छ ।
करिब ७८ लाख रुपैयाँ बराबरको आयव्यय अनुमान गरिएको प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया 4