+

ए डिभिजन लिग : मनाङ मर्स्याङ्दीको विजयी सुरुवात

२०७५ असोज  २६ गते १७:११ २०७५ असोज २६ गते १७:११
ए डिभिजन लिग : मनाङ मर्स्याङ्दीको विजयी सुरुवात

२६ असोज, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई ३-१ ले पराजित गरेको हो । मनाङको जितमा हेमन गुरुङ र अफिज ओलावालेले गोल गरे । यता, ब्रिगेड ब्वाइजका लागि भने रजत तिवारीले गोल गरे ।

खेलको २९ औं मिनेटमा ब्रिगेड ब्वाइज क्लबका रजत तिवारीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले डी बक्सबाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

४३ औं मिनेटमा मनाङले राम्रो अवसर पाएको थियो । तर मनाङले प्रहार गरेको बल ब्रिगेड ब्वाइज क्लबका सागर रायले रोकेका थिए । पहिलो हाफको अन्तिम समयमा अञ्जन विष्टले राम्रो अवसर पाएका थिए । तर, उनले बललाई नियन्त्रण लिन नसक्दा मनाङले बराबरी गर्ने मौका गुमायो ।

खेलको ४६ औं मिनेटमा नै मनाङका मिड्फिल्डर हेमन गुरुङले प्रहार गरेको बल डिफ्लेट भएर गोलमा परिणत भयो । कमल श्रेष्ठले खेलको ५१ औं मिनेटमा प्रहार गरेको बल बि्रगेड ब्वाइजका गोलकिपर सागर रायले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ५६ औं मिनेटमा अन्जन विष्टले प्रहार गरेको बलमा गोलकिपर सागर फेरी बाधक बनेका थिए । तर खेलको ५७ औं मिनेटमा भने मनाङले गोल गर्न सफल भयो । मनाङका लागि अफिज ओलावालेले गोल गर्दै २-१ गोलको अग्रता दिलाएका थिए ।

खेलको ५९ औं मिनेटमा हेमन गुरुङले प्रहार गरेको बल गोलकिपर सागरले उत्कृष्ट बचाउ गरेका थिए । यता, खेलको ७६ औं मिनेटमा ऋतिक खड्काले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएपछि ब्रिगेड ब्वाइजले बराबरी बनाउनबाट चुकेको थियो । त्यस्तै खेलको अतिरिक्त समयमा गोल ओलावालेले गोल गर्दै मनाङलाई ३-१ गोलको जित दिलाए ।

त्यस्तै, ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार नै भएको खेलमा हिमालयन शेर्पा क्लबले विभागीय क्लब एपीएफलाई बराबरीमा रोकेको छ । दुबै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय