Comments Add Comment

ओस्टियोपोरोसिस, जसले हड्डीलाई जर्जर बनाइदिन्छ

२६ असोज, काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार मु्टुरोगपश्चात विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य समस्या हो, ओस्टियोपोसिस । तर, यो रोगको विषयमा कमै मानिसहरुलाई मात्र जानकारी छ ।

सामान्य अर्थमा ओेस्टियोपोसिस भनेको शरीरको हड्डी कमजोर हुनु हो । यसले हड्डीलाई यति कमजोर बनाइदिन्छ कि साधारण चोटपटकले पनि भाँच्चिन सक्छ । ओस्टियोपोरोसिस भएमा कुहिना, नाडी वा ढाडको हड्डी भाचिने गर्छ । साधारण गतिविधिका क्रममा समेत यी भागका हड्डी भाँच्चिन सक्छन् ।

ओस्टियोपोरोसिसले महिला वा पुरुष भन्दैन । तर रजनोवृत्ति भएका महिलालाई ओस्टियोपोरोसिसको सम्भावना अत्याधिक हुने गर्छ । नेपालमा यस रोगबाट ग्रसित मानिसहरुको यकिन तथ्यांक छैन । तर ४० वर्ष उमेर पार गरेका मानिसहरुमा यो समस्या धेरै भएको पाइन्छ ।

ओस्टियोपोरोसिसका मुख्य चार प्रकार हुन्छन् ।

प्राइमरी ओस्टियोपोरोसिस

ओस्टियोपोरोसिसको सामान्य प्रकार हो, प्रारम्भिक वा प्राइमरी ओस्टियोपोरोसिस । यस प्रकारको ओस्टियोपोरोसिस उमेरसँगै बढेर जान्छ । महिलाहरुमा रजनोवृत्ति पश्चात्त हड्डी कमजोर हुन थाल्छ ।

सेकेन्डरी ओस्टियोपोरोसिस

हाइपरथाइराइडिज्म, हाइपरप्यारायडिज्म वा ल्युकेमिया लगायतका कारण सेकेन्डरी ओस्टियोपोरोसिस हुने गर्छ । हड्डी कमजोर बनाउने औषधी रस्तन क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीको सेवनले पनि यो समस्या कुनै पनि उमेरमा उत्पन्न हुनसक्छ ।

ओस्टियोजेनेसिस इम्पफेक्टा

ओस्टियोजेनेसिस इम्पफेक्टा ओस्टियोपोरोसिसको एक दुर्लभ समस्या हो, जुन जन्मजातै उत्पन्न हुने गर्छ । यो रोग लागेमा विनाकारण पनि हड्डी भाँचिने गर्छ ।

इडियोप्याथिक जुवेनाइल ओस्टियोपोरोसिस

यो पनि एक किसिमको दुर्लभ समस्या हो । आठदेखि चौध वर्षको उमेर समूहका बालबालिकामा धेरै देखिने यो रोगको कुनै खास कारण छैन । यो समस्या भएमा कि त शरीरमा कम हड्डीको विकास हुने गर्छ । अन्यथा, हड्डीमा अत्याधिक मात्रामा कमजोरी हुने गर्छ । यो अवस्थामा हड्डी भाच्चिने सम्भावना पनि उच्च हुुन्छ ।

आस्टियोपोरोसिसको चरण

ओस्टियोपोरोसिसको जम्मा चारवटा चरण हुन्छन् । प्रारम्भिक चरण तीस वर्षको उमेरमा सुरु हुन्छ । तर यसमा ध्यान दिने खासै केही लक्षण हुँदैन । यसमा पुरानो हड्डी कमजोर हुने तथा नयाँ हड्डी बन्ने एकनाशले हुन्छ ।

दोश्रो चरणमा पनि यो रोग खासै पत्ता लाग्दैन । यो धेरैजसो ३५ वर्षको उमेर पार गरेपछि सुरु हुन्छ । समस्या तब सुरु हुन्छ, जब पुरानो तथा नयाँ हड्डीको सन्तुलन विग्रन थाल्छ । यस चरणमा नयाँ हड्डी बन्ने भन्दा पुरानो हड्डी भाँचिने क्रम तिव्र गतिमा हुन्छ ।

दोश्रो चरण पार गरी तेश्रो चरणमा पुगेपछि मात्र यो रोगको लक्षण देखा पर्न सुरु हुन्छ, जसले ४५ देखि ५५ वर्ष उमेर समूहका मानिसलाई बढी प्रभावित पार्छ । यस चरणमा हड्डी कमजोर भई सजिलै भाच्चिने गर्छ । र, यही चरणमा आएर नै ओस्टियोपोरोसिस रोगको उचार हुने गर्छ ।

यस चरणमा पनि रोगको सही उपचार नभएको खण्डमा हड्डीको फ्याक्चर धेरैभन्दा धेरै हुने गर्छ । यस चरणमा हड्डी दुख्ने समस्या निरन्तर हुने गर्छ । यसमा विकलाङ्गताको समस्या आम मानिन्छ ।

ओस्टियोपोरोसिसको लक्षण

प्रारम्भिक चरणमा ओस्टियोपोसिसको लक्षण सजिलै देखा पर्दैन । र, जबसम्म कुहिना, डाढ वा नाडीको हड्डी भाँच्चिदैन वा फ्याक्चर हुदैन, तब सम्म यसको लक्षण पनि पत्ता लाग्दैन । तथापी, केही लक्षणद्वारा हड्डीको कमजोरीको अन्दाज लगाउन सकिन्छ ।

-गिजा तथा बंगारा कमजोर हुनु

-हातले राम्ररी सामान नपक्डिनु

-नङ्ग कमजोर हुनु

-ढाड कुपि्रनु

-हड्डी फ्याक्चर हुनु तथा भाँच्चिनु

-गर्दन तथा ढाड दुख्नु

ओस्टियोपोरोसिसका कारण

नयाँ र पुरानो हड्डीबीच असन्तुलन कायम भएमा ओस्टियोपोरोसिस हुने गर्छ । हड्डीलाई मजबुत बनाउन शरीरमा क्याल्सियम तथा फोस्फेटको आवश्यकता पर्छ ।

शरीरले यी खनिज पदार्थको प्रयोगद्वारा नै हड्डीको निर्माण गर्छ । शरीरमा क्याल्सियमको कमी भएमा हड्डी कमजोर हुने तथा भाँच्चिने गर्दछ । उमेर बढेसँयै यो समस्या गम्भीर हुने गर्छ । केही मानिसहरुमा यो समस्या गम्भीर हुनसक्छ ।

ओस्टियोपोरोसिस विभिन्न कारणले हुनसक्छ

-लामो समयसम्म कार्टिकास्टिराइड औषधीको प्रयोग

-हर्मोन सम्बन्धि समस्या, सुन्निने समस्या लगायतका कारण

-परिवारमा कसैलाई ओस्टियोपोरोसिसको समस्या भएमा

-शरीरको ‘बडी माक्स इन्डेक्स’ कम भएमा

-अत्याधिक मदिरापान वा धुमपान

ओस्टियोपोरोसिसबाट बच्ने तरीका

-पर्याप्त क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन

-कम बोसोयुक्त डेरी प्रोडक्ट तथा हरिया साजसब्जी तथा फलफुलको सेवन

– नियमित व्यायाम

-धुमपान नगर्ने

-मदिरा त्याग्ने

जोखिम तत्व

ओस्टियोपोरोसिस हुनुमा विभिन्न तत्व जोखिम कारकको रुपमा रहेका छन् । त्यसमा उमेर, लिङ्ग परिवारिक इतिहास, हड्डीको संरचना, शरीरको वजन, केही रोग तथा विभिन्न रोगमा प्रयोग गरिने औषधी प्रमुख मानिन्छ ।

र, ओस्टियोपोरोसिस भएमा हड्डी भाँच्चिने, गतिविधि सिमित हुने, डिप्रेसन हुने तथा शरीरमा पिडा हुने गर्दछ ।

ओस्टियोपोरोसिस भएमा के नखाने ?

-प्रोसेस्ड मिट

-पिज्जा, बर्गर लगायतका फास्ट फुड

-फ्रिजमा राखेको खानेकुरा

-बोतलमा बन्द गरिएको पेय पदार्थ

-तारेको, भुटेको खानेकुरा

के खाने ?

ओस्टियोपोरोसिस भएमा दूध, दही, पनीर लगायतका क्याल्सियमयुक्त डेरी प्रोडक्टको सेवन गर्नु पर्छ ।

त्यस्तै, क्याल्सियमयुक्त पत्तेदार हरिया साजसब्जीको सेवनले पनि यो समस्या कम गर्न सकिन्छ । तुलसी, पुदिना सुप, दालचिनी, लसु, ज्वानोले पनि हड्डीलाई मजबुत बनाउने हुँदा यस्ता खानेकुराको सेवन पनि ओस्टियोपोरोसिसमा लाभदायक मानिन्छ ।

त्यसबाहेक, माछा, मासु, सुुन्तला, बदाम, तिल पनि क्याल्सियमको राम्रो स्रोत भएकोले यस्ता खानेकुरा पनि लाभदायक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment