Comments Add Comment

दशैं मनाउन घर फर्केका सांसद जनगुनासोको ज्वारभाटामा

१ कात्तिक, काठमाडौं । अधिकांश सांसदहरु दशैं मनाउने सिलसिलामा यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा छन् । तर, उनीहरुलाई दशैंमा रमाइलो गर्नभन्दा जनताको गुनासो सुन्न र प्रश्नको जवाफ दिँदैमा ठिक्क छ ।

जनताले प्राय गर्ने अधिकांश प्रश्न उही बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, नागरिकताका विषयमा हुन्छन् । तर, यसपाली दुई नयाँ विषय थपिएका छन् । ती हुन्– स्थानीय सरकारले अन्धाधुन्ध उठाउन थालेको कर र प्रदेश राजधानी ।

बझाङे्लीको मागः शिक्षा, सडक र खानेपानी

बझाङका सांसद प्रकाश रसाइली यतिबेला गाउँघर डुल्दै जनतालाई ‘कुरा बुझाउन’ व्यस्त छन् । आफ्नो क्षत्रका जनतालाई विकास निर्माणको बढी चासो रहेको उनले बताए ।

‘बझाङ्का जनताले खासै राष्ट्रिय राजनीति बुझेका छैनन् वा चासा राखेका छैनन्’ उनले अनलाइनखबरसँग भने, ‘उनीहरुको सरोकार विकास निमार्णमा छ ।’

खासगरी शिक्षा, बाटो र खानेपानीका विषयमा जनताले प्रश्न गरिरहेको उनले सुनाए ।

दशैंको शुभकामना आदनप्रदान कार्यक्रमहरुमा व्यस्त रसाइली जनतालाई आश्वस्त पार्न भरमग्दुर प्रयास गरिरहेका छन् । ‘सुदुरपश्चिम प्रदेश शिक्षा क्षेत्रमा पछाडि छ, त्यस्तै मोटरबाटो, खानेपानी लगायतका पूर्वाधारको अवस्था पनि यहाँ गतिलो छैन,’ उनी भन्छन् ।

मूल्य बृद्धि, वलत्कार जस्ता घटनाका कारण राज्यसत्ताप्रति जनताले धेरै नैराश्यता प्रकट गरेको पनि सांसद रसाइलीले जानकारी दिए ।

रोक्कालाई पिरैपिर

रुकुम पूर्वकी सांसद कमला रोकालाई जनताले गर्ने प्रश्नले पिरोलिरहेको छ । जनताले आफूलाई गणतन्त्रको फल अहिलेसम्म पाउन नसकेको गुनासो गरिरहेको उनले सुनाइन् ।

‘गणतन्त्रको अभियान रुकुम, रोल्पाबाट नै सुरु भएको हो । त्यसैले समृृद्धिको अभियान पनि यहिँबाट सुरु हुनुपर्छ भन्ने मैले माग राख्दै आएको छु । जनताले पनि यहि प्रश्न गर्छन्,’ उनले भनिन् ।

केही दिनअघि मात्रै जनअभियानका नाममा आफ्नो निर्वाचन क्षेत्र र आसपासको भ्रमण गरेकी सांसद रोका दशैंलगत्तै फेरि डुल्ने बताउँछिन् । ‘अभियानका क्रममा जनताले राखेका गुनासाहरुप्रति म गम्भीर छु,’ उनले अनलाइनखबरसँग भन्छिन्, ‘दशैंलगत्तै अभियानकै रुपमा एउटा टिम लिएर जनतामा जाँदैछु ।’

बुझाउनै गाह्रो भोः सांसद शाही

हुम्लाका किसानहरु अहिले बालीनाली भित्र्याउने र लगाउने काममा व्यस्त छन् । तर, गाउँमा आफ्ना जनप्रतिनिधि आउँदा उनीहरु जत्ति नै बितेको भए पनि समय निकालेर भेट्छन् र सोध्छन् हाम्रो गाउँमा बाटो कहिले आउँछ ?

‘निवेदनहरुको चाङ छ । जनतालाई बुझाउन गाह्रो हुन्छ । उनीहरुलाई नीति निमार्णको विषयमा वास्ता हुँदैन । खाली हामीलाई बाटो चाहियो, बिजुली चाहियो भन्छन्,’ हुम्लाबाट निर्वाचित सांसद रंगमती शाही भन्छिन् ‘हाम्रो पार्टीको सरकार छैन भनेर पन्छिन सक्ने अवस्था छैन ।’

कोही–कोही त श्रीमान–श्रीमतीको झगडा पर्दा पनि आफूकहाँ आउने सांसद शाहीले सुनाइन् ।

गोरखाली जनताको चासो पुनर्निर्माण

२०७२ वैशाखको विनाशकारी भुकम्पको केन्द्रबिन्दु गोरखा जिल्लामा पुनर्निमाणले तिव्रता पाएको दावी सरकारी निकायको छ । तर, दशैं मनाउन गएका जनप्रतिनिधिहरुसँग गोरखाली जनताले भने पुनर्निमाणमा ढिलाई भएको गुनासो राखिरहेका छन् ।

‘भुकम्प गएको यत्रो समय भइसक्यो, क्षती भएका भौतिक संरचा पुनर्निमाण कहिले भइसक्ने हो भन्ने जनताको मुख्य चासो छ,’ गोरखाका सांसद चुणामणी खड्काले अनलाइनखबरसँग भने ।

निर्वाचनमा गरेको बाचा र चुनावी घोषणापत्रका सन्दर्भमा पनि प्रश्नको सामना गर्नुपरेको उनी बताउँछन् । ‘हामी भर्खर स्थिर सरकार बनेको छ, क्रमैसँग सबै काम हुन्छ भनेर जवाफ दिन्छौं,’ सांसद खड्काले भने ।

काठमाडाैंवासीको चिन्ता– धुलो र हिलो

प्रदेश तीन अन्तर्गत रहेको देशको राजधानी काठमाडौंमा भने धुवाँ र धुलोको विषयमा जनगुनासो बेसी छ । काठमाडौं क्षेत्र नम्बर ८ का सांसद जीवनराम श्रेष्ठ भन्छन्, ‘काठमाडौंवासीको धुलो र हिलोको विषयमा बढि चासो छ । स्वच्छ खानेपानीको पनि धेरै समस्या छ ।’

यसबाहेक ढल, सडक लगायत विकास निर्माणको विषयमा कुरा उठ्ने गरेको उनी बताउँछन् ।

तर, दोलखाकी सांसद शान्तिमाया तामाङ पाख्रिनले भने तीन नम्बर प्रदेशका जनताको चासो प्रदेश राजधानीतिर बढी केन्द्रित भएको अनुभव गरिन् ।

दशैंका अवसरमा भएका कार्यक्रमहरुमा मकवानपुर बाहेक अन्य जिल्लाका जनताले हेटौंडा राजधानी पायक नपर्ने भनेर खबरदारी गरिरहेको उनको भनाई छ । करका विषयमा पनि व्यापक जनगुनासो आइरहेको उनले अनलाइनखबरसँग बताइन् ।

प्रदेश २ मा रोजगारी माग

प्रदेश २ मा मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालको सरकार छ । प्रदेश सरकारले वेरोजगारीको समस्या समाधान गर्न नसकेको भन्दै जनताको गुनासा धेरै आउने गरेको सर्लाहीकी सांसद चन्दा चौधरीले बताइन् ।

‘समग्र प्रदेशकै मूख्य समस्या बेरोजगारी हो । स्थानीय सरकारले मात्रै सकेन भनेर धेरै गुनासाहरु आएका छन् । अरु सडकसहित विकास निमार्ण र स्थानीय तहले लिने करका विषयमा पनि गुनासाहरु आउँछन्,’ उनले भनिन् ।

सांसदको भूमिका के हो भन्ने जनतालाई थाहा नभएर स्थानीय सरकारले गर्ने धेरै विषय आफुहरु कहाँ आइपुग्ने गरेको उनी बताउँछन् । चौधरीले सांसद विकास कोषसँग जोडिएर पनि कतिपय विषय आउने गरेको जानकारी

सुनारलाई राष्ट्रिय राजनीतिका प्रश्न

प्रदेश नम्बर एक अन्तर्गत पर्ने ओखलढुङ्का जिल्लाका सांसद यज्ञराज सुनुवारले जनतामा राष्ट्रिय राजनीतिप्रतिको चासो बढेको आफुले पाएको बताए ।

एकै दिन ६ वटासम्म कार्यक्रममा आफुले सहभागिता जनाइरहेको भन्दै अनलाइनखबरसँग उनले भने, ‘दशैंका अवसरमा पनि सांसद फुर्सदिला भएका छैनन् । गुनासाका धेरै पोका बोकेर जनत आउँछन् । धेरैले काठमाडौको राष्ट्रिय राजनीतिप्रति चासो देखाएका छन् । अब के हुन्छ भन्ने नै आम चासो रहेको पाएँ ।’

त्यसको अलावा समग्र प्रदेश नम्बर एकका जनताको मुख्य चासो विकास निर्माण नै रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment