Comments Add Comment

विराटनगर रिङरोडः दुई दशक बित्यो, ट्रयाक समेत खुलेन

४ कात्तिक, मोरङ । विराटनगरमा ४२ किलोमिटरको रिङ रोड निर्माण थालिएको दुई दशक वितिसके पनि अझै निर्माण पूरा भएको छैन ।

बिराटनगरको ट्राफिक व्यवस्थापनमा टेवा पुग्ने भन्दै तत्कालीन योजना तथा भौतिक यातायातमन्त्री  विजयकुमार गच्छदारले २०५४ सालमा चक्रपथको शिलन्यास गरेका थिए ।

तर, त्यसवेला निर्माण थालिएको रिङरोडको अहिले दुर्इ दशक वितिसक्दा पनि ट्रयाक खोल्ने काम समेत पूरा भएको नभएको हो ।

व्यवस्थित विराटनगर निर्माणका लागि सवारी साधनको चाप कम गर्न दुई दशक अघि निर्माण सुरु गरिएको रिङरोडको काम पूरा नहुँदा विराटनगरमा सधैँ ट्राफिक जाम हुने गरेको छ ।

बाइपासको सडकका रुपमा निर्माण गरिएको रिङरोड निर्माण नहुँदा जाम बढेको हो । अझै रिङरोडको करिब तीन किलोमिटर ट्रयाक खोल्न बाँकी छ ।

रिङरोड निर्माणका लागि विराटनगरका उद्योगी व्यवसायी, नागरिक समाजले बारम्बार पहल गर्दा समेत सरकारको प्रथमिकतामा नपरेपछि अधुरै रहेको हो ।

सडक आसपास व्यवस्थित शहरी बस्ती विकासको योजनासहित स्थानीयबासीबाट मुआब्जा विना नै सडक निर्माणका लागि जग्गा अधिग्रहण गरिएको थियो ।

तर, चक्रपथका लागि पर्याप्त बजेट नभएका कारण निर्माण सम्पन्न हुन नसकेको विराटनगर महानगरपालिका मेयर भीम पराजुली बताउँछन् । विराटनगर पूर्वतर्फको क्षेत्रमा मुद्दा परेकाले रोकिएको बताउँदै उनले चाँडै रिङरोड निर्माण गरी सञ्चालनमा ल्याउने आश्वसन दिए ।

विराटनगर पूर्व झोराहाट खण्डमा तीन किलोमिटर ट्रयाक खन्न बाँकी रहेको रिङरोडको करिब ३८ किलोमिटर क्षेत्र ग्रावेल गरिएको छ । ग्राबेल गरिएको सडकमा सवारी सञ्चालन गर्न सकिन्छ ।

तर, बिराटनगर रानी पश्चिममा तीन वटा घर, पुरानो सलाई उद्योग र क्षेत्रीय प्रहरी कार्यालयको पर्खाल भत्काउन नसक्दा ग्राबेल गरिएको सडकमा समेत सवारी आवतजावत गराउन समस्या छ ।

कहिले जग्गा मुआब्जा विवाद त कहिले बजेट अभावका कारण १६ वर्षमा पनि ट्रयाक खोल्ने काम पूरा नहुँदा स्थानीय निराश छन् ।

चक्रपथ लागि सुरूवातमा सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको थियो । तर, पछि सो जिम्मेवारी सहरी विकास कार्यालयलाई दिइयो । त्यसक्रममा विसं २०५४ सालदेखि २०६४ सालसम्म १० वर्ष सडक डिभिजन कार्यालयले चक्रपथ निर्माणका लागि खासै चासो देखाएन ।

सडक डिभिजन कार्यालयले आवश्यक चासो नदेखाएपछि २०६४ सालमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको थियो ।

चक्रपथका निर्माणका लागि मात्रै २ सय ११ बिघा जग्गा आवश्यक पर्छ । त्यसका लागि आवश्यक जग्गा सर्वसाधारणबाट निःशुल्क रूपमा प्राप्त हुनेछ ।

स्थानीयबाट प्राप्त जग्गामा निर्माण गरिएको सडकको चौडाइ ३४ मिटर रहनेछ भने चक्रपथको सहायक सडक ८ देखि १० मिटरको हुनेछ । सहायक सडकको जग्गा घडेरीको रुपमा बिकास गरी स्थानीयबासीलाई हस्तान्तरण गरिने छ ।

चक्रपथले कटहरी, झोराहाट, लखन्तरी, टंकीसिनवारी, हात्तीमुडा, भाथिगछसहित विराटनगर महानगरपालिकालाई समेट्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment