Comments Add Comment

पाचन यन्त्र सुधार्ने ६ प्राकृतिक काइदा, शरीरलाई गराउनेछ रोगमुक्त

दशैंको मिठो-मसिनो परिकार । देख्दै खान मन लाग्छ । हामी मुख बार्दैनौं । भरपेट खाइदिन्छौं । आफ्नोमा होस् वा आफन्तकहाँ, जहाँ पनि खाइन्छ । ‘जे आउँछ मज्जाले पचाउँछ’ शैलीमा खाइरहन्छौं । तर, यसरी खाइएको खानेकुरा पचाउन सकिएला ?

खाना खाइरहँदा हामी जिब्रोको आज्ञा मान्छौं । जिब्रोले जति मिठो मान्छ, उत्तिनै खाइदिन्छौं । तर, यसरी खाएको खानेकुरा पेटमा पुगेपछि के भए होला ? कति पोषण तत्व शरीरले ग्रहण गरे होलान् । कति विकारयुक्त खानेकुरा दिशा-पिसाबको माध्यामबाट निष्कासन गरे होलान् । कति विकार शरीरमै रहे होलान् ।

अक्सर खानेकुरा खाइरहँदा हामी यो कुरा सोच्दैनौ कि, त्यो खानेकुरा मेरो पेटमा पुगेपछि के होला ? पाचन प्रणालीले त्यसलाई कसरी पचाउँछ होला ?

किनभने, जब कुनैपनि खानेकुरा पच्दैन, त्यो शरीरभित्र विकार बनेर रहन्छ । यस्ता विकार दिसा-पिसाब, पसिना आदिको माध्यामबाट बाहिर निस्कन्छ । तर, सबै विकार शरीरले निष्कासन नगर्न पनि सक्छ । यसरी शरीरभित्रै रहेका विकारले भित्री अंगहरुको कार्य संचालनमा बाधा पुर्‍याउँछ । शरीरलाई विषाक्त बनाइदिन्छ । हामीलाई रोग लाग्ने एक मूल कारण यही हो ।

जब शरीरका भित्री अंगको कार्य चुस्त हुँदैन, तब रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यस्तो अवस्थामा सानोतिनो रोगले पनि ठूलो रुप लिन्छ । त्यसैले हाम्रो पाचन यन्त्र बलियो र तन्दुरुस्त हुनुपर्छ । पाचन यन्त्र बलियो भएमा, चुस्त भएमा शरीरले आवश्यक पोषण तत्व ग्रहण गर्छ । शरीर निरोगी हुन्छ ।

खानेकुरा पेटमा पुगेपछि के हुन्छ ?

पाचन क्रिया हाम्रो शरीरको महत्वपूर्ण हिस्सा हो । यसले हाम्रो शरीरमा पुगेको खानेकुरालाई पचाउँछ र त्यसलाई उर्जामा बदल्छ । एक स्वस्थ्य पाचन क्रियाले शरीरमा गएको खानालाई पचाएर त्यसबाट अधिकतम पोषक तत्व शरीरको हरेक भागमा पुर्‍याउँछ । तर, सधै यस्तो हुँदैन ।

बेलाबखत हाम्रो पाचन यन्त्रले सही ढंगले काम गरिदिदैन । खासगरी हामीले अनियन्त्रित खानेकुरा खाइरहँदा त्यसको भार पाचन यन्त्रले झेल्नुपर्छ । यस्तो अवस्थामा पाचन यन्त्रको कार्य-सम्पादन सही रुपमा हुन पाउँदैन । अनियन्त्रित खानपान, मदिरापान, औषधी जस्ता थुप्रै कुराले यस्तो समस्या ल्याउन सक्छ । साथै निस्त्रिmय जीवनशैलीले पनि पाचन यन्त्रमा नकारात्मक असर पुग्छ ।

आयुर्वेदमा पाचन तन्त्रलाई अग्नि समान मान्ने गर्छ । पाचन तन्त्रलाई शरीरमा उर्जाको स्रोत मानिन्छ । शरीरमा उत्पादित हरेक शक्तिको स्रोत पाचन तन्त्र नै हो । यस्तो अवस्थामा हामीले सोच्नुपर्छ कि, कसरी पाचन यन्त्र चुस्त र बलियो बनाउने ?

वास्तवमा पाचन यन्त्र बलियो बनाउनका लागि कुनै औषधी वा शल्यक्रियाको आवश्यक छैन । खानपान र जीवनशैलीमा गरिने समुचित सुधार नै यसको सबैभन्दा राम्रो ओखती हो । अतः यहाँ त्यस्तै काइदा बताइएको छ ।

१. स्वस्थ्य र एकाग्र भएर खाने

अहिले हामी काम, करियरको धपेडीमा छौं । विहान निद्रा खुलेदेखि नै पैसा कमाउने वा करियर बनाउने चक्करमा लाग्छौं । यस्तो अवस्थामा हामीलाई खाना खाने फुर्सद मिल्दैन । खाना खाइरहँदा पनि हाम्रो मनमा भने अनेक तर्क-वितर्क खेल्छ, अनेक योजना बन्न थाल्छ । समस्या यहीबाट सुरु हुन्छ ।

किनभने खाना खाइरहँदा एकदम शान्त र एकाग्र भएर खानुपर्ने बताइन्छ । हरेक गाँसमा स्वाद लिएर वा त्यसको स्वाद अनुभव गरेर खानुपर्छ । राम्ररी चपाएर विस्तारै खाइने खानाले पाचन यन्त्रलाई बोझ पुर्‍याउँदैन । यसरी खानामै केन्दि्रत भएर खाइरहँदा हाम्रो मस्तिष्कलाई हाम्रो खानाको बारेमा सही जानकारी मिल्छ । हल्का, सादा खाना, सुपाच्य खाना एवं सात्विक खाना हाम्रो अग्नीलाई उर्जावान राख्नमा सबैभन्दा बढी प्रभावकारी हुन्छ ।

२. पेटलाई सास्ती दिने खानेकुरा

धेरै मसेलेदार, तारेको, भुटेको, मदिरा, कोल्ड डि्रंक जस्ता खान्कीलाई पचाउनका लागि पाचन यन्त्रलाई निकै गाह्रो हुन्छ । यस्ता खान्कीमा पोषक तत्वको मात्रा कम हुन्छ र विकारयुक्त पदार्थ बढी हुन्छ । यसले कलेजो, मिर्गौंला जस्ता अंगमा प्रत्यक्ष असर गर्छ । यसरी पाचन यन्त्रलाई कष्ट दिने खानेकुरा नखाएकै राम्रो । साथसाथै लामो समयसम्म सुत्नु, आवश्यक्ताभन्दा बढी खानु पनि पाचन यन्त्रका लागि प्रतिकुल कार्य हुन् ।

३. आफ्नो अग्नीलाई सुधार्ने

हामीले आफ्नो पाचन यन्त्र बलियो बनाउने उपाय खोज्नुपर्छ । खाना खानुअघि हल्का हिँडडुल गर्नु पाचन यन्त्रलाई सुधार्ने एक सरल र प्रभावकारी उपाय हो । विहान उठ्नसाथ दुई गिलास पानी पिउँदा पनि पाचन यन्त्रलाई फाइदा पुग्छ । साथै केही यस्ता व्यायाम र योगासन छन्, जसले प्रत्यक्ष रुपमा पाचन यन्त्रलाई फाइदा पुग्छ ।

४. गुणस्तरयुक्त खानेकुराको छनौट

हामी दिनभरमा के कस्ता खानेकुरा सेवन गर्छौं ? वा हाम्रो खानपान शैली कस्तो छ ? त्यसको प्रत्यक्ष असर पाचन यन्त्रमा पर्छ । केही खानेकुरा, जो पाचन यन्त्रका लागि अत्यान्तै लाभदायक मानिन्छ । जस्तो मेवा, मुला, फाइबरयुक्त हरियो सागपात, फलफूल । यस्ता खानेकुराले पाचन यन्त्र सुधार्छ । हामीले खानेकुरा सेवन गरिरहँदा यस्ता खान्कीलाई बढी सामेल गर्नुपर्छ ।

५. नियमित तालिका

हामीसँग अहिले खाना खाने टुंगो हुँदैन । कामको धपेडीले गर्दा खाना खानै पाइदैन । यसको नतिजा निकै भयानक हुनसक्छ ।

किनभने खानेकुरा सेवन गर्नका लागि निश्चित समय हुनुपर्छ, जसलाई हामीले हरेक दिन आफ्नो नियमित तालिकाभित्र सामेल गरेको हुनुपर्छ । विहान कतिबजे खाने, राती कुन समयमा खाने ? यस्तो तालिका निर्धारण गरेको हुनुपर्छ । यसरी निश्चित अवधीमा तालिका मिलाएर खानेकुरा सेवन गर्दा पाचन यन्त्रलाई सहज हुन्छ ।

६. शारीरिक सक्रियता

गुणस्तरिय वा पोषिलो खानेकुरा खाएर मात्र पुग्दैन । यस्ता खानेकुरा पचाउनका लागि शरीर चलायमान हुनुपर्छ । सक्रिय हुनुपर्छ । यसका लागि हामी एकै ठाउँ बसिरहने, सुतिरहने बानी राम्रो होइन । केही न केही शारीरिक काम गरिरहनुपर्छ । कार्यलयमा काम गरिरहँदा पनि बेलाबखत उठ्ने, हिँडडुल गर्ने अभ्यास गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment