Comments Add Comment

कतारबाट यसरी चल्छ नेपालमा सुनको धन्दा !

६ कात्तिक, कतार । हाल काठमाडौंमा बस्दै आएका एकजना लोक गायकका आफन्त कतारमा रोजगारी गर्छन् । उनले दशैंका बेला काठमाडौंमा अलिकति सुन पठाए । उनले ५/५ तोलाका बाला बनाएर विभिन्न व्यक्तिलाई लगाइदिएर काठमाडौंमा आफन्तसमक्ष पुर्‍याइदिन आग्रह गरे ।

एकै दिन ४/५ जनाले ल्याएको सुन लोकगायककी श्रीमतीले राजधानीका विभिन्न ठाउँमा पुगेर ‘कलेक्सन’ गरिन् ।

सूत्रहरुका अनुसार कतारबाट त्यसरी ५ तोला अर्थात करिब ५० ग्रामसम्म सुन ल्याएर बेच्दा १५ हजार रुपैयाँ फाइदा हुन्छ । एकैदिन ५ जनाबाट बोकाएर २५ तोला ल्याइयो भने ७५ हजार रुपैयाँसम्म नाफा बस्छ ।

कतारमा रोजगारी गर्न गएका नेपालीहरुका लागि ५ तोलासम्म सुन ल्याउने छुट सरकारले दिएको छ । त्यहाँबाट नेपाल र्फकने कामदारले चुरा वा माला बनाएर वा नबनाई ५ तोलासम्म सुन निर्वाधरुपमा ल्याउन पाउँछन् ।

सरकारले दिएको यही सहुलियतलाई दुरुपयोग गर्दै कतिपयले कतारबाट नेपाल आउने युवाहरुलाई सुन पठाउने गरेका छन् । ‘घरपरिवार र आफन्तका लागि’ भन्दै विभिन्न व्यक्तिलाई सुनको बाला पहिर्‍याएर पठाउने गरिएको स्रोत बताउँछ ।

नेपालको विमानस्थलमा खास गरी युएईबाट सुन तस्करी हुने गरेको गोरेको गिरफ्तारीपछि पर्दाफास भइसकेको छ । तर, कतारको सुरक्षा व्यवस्था अलि कडा हुने गरेकाले दोहा विमानस्थलबाट अबैध तरिकाले नेपालमा सुन भित्र्याउन सम्भव नभएको कतारमा बस्ने नेपालीहरु बताउँछन् ।

तथापि प्रतिव्यक्ति ५० ग्राम सुन बैधानिक बाटोबाटै ल्याउन पाउने भएकाले सुन कारोबारीहरुले ५/५ तोलाका दरले नेपाली युवालाई सित्तैमा भरिया बनाएर काठमाडौं पठाउने क्रम बढेको स्रोतको भनाइ छ ।

नेपालीहरुको प्रमुख रोजगार गन्तव्यमध्येको एक मानिने कतारमा अहिले व्यवसायिक मन्दी आएको छ । कतारले नाकाबन्दी व्यहोर्नुपरेपछि यहाँका कन्स्ट्रक्सन कम्पनीहरुमा नेपाली कामदारको माग केही घटेको छ । र, यो मन्दीसँगै यहाँ मेनपावर सप्लाई गर्ने नेपाली व्यवसायीहरु छटपटाउन र नयाँ कमाइको उपाय खोज्नतिर लागेका छन् ।

यसैवीच सरकारले अब कतारमा जीटुजीमार्फत कामदारहरु पठाउने तयारी गरिरहेको छ । फ्री भिसा र फ्री टिकेटको व्यवस्था पूर्णरुपमा कार्यान्वयन भयो भने म्यानपावर व्यवसायीहरु घाटामा जान सक्छन् र उनीहरुले पैसा कमाउने बैकल्पिक काटो खोज्न सक्छन् ।

कतारमा व्यवसाय गरिरहेकाहरु मात्रै होइन, रोजगारीमै संलग्न रहेका कामदारहरु पनि प्रतिव्यक्ति ५० ग्राम सुन नेपाल भित्र्याउन पाउने प्रावधानलाई प्रयोग गर्न लालायित देखिएका छन् । ५ तोला सुन बोकेर दोहा विमानस्थलबाट काठमाडौं उड्दा यहाँको प्रहरीले कुनै अवरोध गर्दैन र यसलाई सुन तस्करी मानिँदैन ।

तर, तोकिएको परिणाममा पारिवारिक उपयोगका लागि कसैले सुन बोकेर आउँदा छेकबार नलाग्ने भए तापनि विभिन्न व्यक्तिलाई बोकाएर बेच्ने हिसाबले नेपाल पठाएको सुन एकै व्यक्तिले संकलन गरेपछि काठमाडौंमा यसले कमाउ धन्दाको रुप लिने गरेको छ ।

एनआरएन नेता आरके शर्मा पक्राउ

यसैवीच कतारमा व्यवसायरत गैरआवासीय नेपाली संघ -एनआरएनए) का मध्यपूर्व संयोजक आरके शर्मालाई कतार प्रहरीले पक्राउ गरेको छ । शर्मालाई सुन तस्करी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको केही सञ्चार माध्यमले लेखेका छन् ।

केही सञ्चार माध्यमले चाहिँ प्रवासी नेपालीको नाटक प्रदर्शनमा श्रम शोषणबारे प्रस्तुती गरिएकोमा पक्राउ परेको हुन सक्ने एनआरएन प्रवक्तालाई उधृत गर्दै लेखेका छन् ।

शर्माको गिरफ्तारीबारे दोहास्थित नेपाली दूताबासलाई सोध्दा गिरफ्तारीको कारणबारे स्पष्ट नभएको जवाफ आयो । स्रोतले अनलाइनखबरसँग भन्यो- ‘हामीले पनि गिरफ्तारी गरियो भन्ने सुनेका हौं, तर, गिरफ्तारीको कारण खुलेको छैन, राजदूतज्यू अहिले नेपाल जानुभएको छ, भोलि फर्केपछि थप बुझ्न सकिएला ।’

एनआरएनका मध्यपूर्व अध्यक्ष शर्मा कतारका ठूला म्यानपावर व्यवसायी हुन् । उनी ‘पिजन इञ्जिनियरिङ प्रोजेक्ट ट्रेनिङ एण्ड जनरल सर्भिस’ नामक म्यानपावर कम्पनीका म्यानेजिङ डाइरेक्टर हुन् । कतार प्रहरीले उनलाई कार्यालय जाँदै गर्दा बाटैबाट समातेको स्रोतले बतायो ।

शर्माको कम्पनीले नेपालबाट युवाहरु कतारमा ल्याउने र कन्स्ट्रक्सन कम्पनीलाई सप्लाइ गर्ने काम गर्दै आएको छ । उनको कम्पनीमार्फात करिब १२ सय नेपाली युवाले काम गर्दै आएको स्रोतको दाबी छ ।

म्यानपावर व्यवसायी शर्मालाई कतारमा पैसावाल नेपालीका रुपमा समेत चिन्ने गरिएको छ । विगतमा रामु बस्याल माओवादीको कतार अध्यक्ष भएका बेला होली डे भिल्ला नामक फाइभ स्टार होटलमा माओवादी अध्यक्ष प्रचण्डलाई राखेको पैसा शर्माले नै तिरिदिएको चर्चा छ ।

त्यहाँ राखेर गरिएको कार्यक्रममा शर्माले एक्लै ५० हजार रियल अर्थात २० लाख बराबरको खर्च व्यहोरेका थिए । अहिले पनि कतारका अधिकांश प्रवासी नेपालीका संघ संस्थाहरु उनैको पैसामा बाँचेको सूत्रहरु बताउँछन् ।

पछिल्लो समयमा व्यापारिक मन्दीसँगै शर्माले पनि कतारबाट युवाहरुलाई सुन बोकाएर नेपाल पठाउने गरेको हुनसक्ने कतिपयको आशंका छ । शर्माको पिजन इन्टरनेशनलबाट हरेक दिन ४/५ जना नेपाली युवा छुट्टीमा नेपाल आउने गरेका छन् ।

एनआरएन नेता शर्माको गिरफ्तारीलाई केहीले सुन तस्करी नभएर ‘बाउन्स चेक’ का कारणले पनि हुन सक्ने आशंका गरेका छन् । कतारमा व्यवसाय गर्ने नेपालीहरु बाउन्स चेकको आरोपमा पक्राउ पर्ने र छुट्ने क्रम बाक्लै हुने गरेको त्यहाँ कार्यरत नेपालीहरुको भनाइ छ ।

त्यसरी पक्राउ पर्ने नेपाली व्यवसायीहरु केही दिन जेलमा बस्छन् र पैसा तिरेर छुट्छन् । कतिपय व्यवसायीचाहिँ आर्थिक व्यवहार डुबेर आउने समस्याले गर्दा पनि जेल पर्ने गरेका छन् । तर, शर्माको गिरफ्तारीको कारणबारे अहिलेसम्म नेपाली दूताबाससमेत बेखबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment