Comments Add Comment

झिझियामा झुम्यो जनकपुर

७ कात्तिक, धनुषा ।

तोहरे भरोसे ब्रम्हबाबा झिझिया बनेलियै हो ।

ब्रम्हबाबा झिझिया पर होइयो ना सवार ।

यही लोक नृत्यसहितको प्रस्तुतिले जनकपुरको जानकी मन्दिर मंगलबार साँझ गुन्जायमान बन्यो । मिथिला सँस्कृतिलाई झल्काउने रंगीबिरंगी पोशाक लगाएकाहरु टाउकोमा माटोको भाँडो र त्यो भाँडोभित्र बालिएको बत्तीलाई नचाउँदै कम्मर मर्काउन थाले । दर्शकहरु पनि मिथिला संस्कृति झल्काउने यो नाचबाट भरपुर मनोरञ्जन लिए । उनीहरु पनि माइकमा गुञ्जिइरहेको गीतमा आफ्नै शैलीबाट लय मिलाउन थाले–

चलचल गे डैनिया कदम तर,

तोरा बेटाके खैबौ बढमतर ।

तोहरे भरोसे ब्रम्हबाबा झिझिया बनेलियै हो ।

ब्रम्हबाबा झिझिया पर होइयो ना सबार ।

यो थियो झिझिया नाच । झिझिया मिथिलाको लोक नृत्य, कला, संस्कृति झल्काउने नाच हो । झिझिया नाच हराउँदै गएको भन्दै पछिल्लो पुस्ताका केही युवाले मंगलबार जनकपुरमा ‘झिझिया नाइट’ आयोजना गरेका थिए । जनकपुरको जानकी मन्दिर प्रांगणमा आयोजना गरिएको ‘झिझिया नाइट’मा ग्रामिण क्षेत्रबाट आएका बिभिन्न समूहहरुको उत्साहजनक उपस्थिति थियो ।

माटाको भाँडामा बालिएको आगो टाउकोमा राखेर नाच्नेहरुलाई हेर्न स्थानीयको ठूलो घुइँचो लागेको थियो ।

विजया दशमीको आगमनसँगै मिथिलाञ्चलको गाउँ टोलमा झिझिया नृत्य सुरु हुन्छ । मिथिला कला संस्कृतिमा यो नाचको छुट्टै मौलिकता छ । झिझिया नृत्य नै मिथिला कला नै यहाँको जीवनशैलीको यथार्थ भएको मिथिला संस्कृतिका जानकारहरु बताउँछन् । तर पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीयबासी बताउँछन् ।

यो नृत्य सातौंं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतका जानकारहरु बताउँछन् । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धुनसँगै झिझिया नृत्य सुरु हुन्छ । दशैंको आगमनसँगै बोक्सीलाई गाली गर्ने मिथिलाञ्चलको अनौठो तथा तान्त्रिक नृत्य झिझिया हो । यस नृत्यमा महिलाले टाउकोमा प्वालै प्वाल भएको घैंटोमा दियो बालेर ५ देखि १५ जनाको समूहमा झिझिया नाच्ने गर्दछन् । झिझिया नृत्यका लागि गाइने गीतको सुर र तालमा झुमी टाउकामा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दछन् । त्यो घैंटोको प्वाल बोक्सीले गन्न सफल भए नाच्ने महिलाको त्यहीं मृत्यु हुने जनविश्वास रहिआएको छ । सो गीतमा शक्ती देखिको आराधना र बोक्सीलाई गाली गरिन्छ । परापूर्वकालदेखि विशुद्ध तान्त्रिक विधिमा आधारित छ झिझिया गीत र नाच ।

नृत्य गर्ने महिलाको टाउकामा रहेको घैंटोको प्वाल बोक्सीले गन्ती गर्न सफल भयो भने ती महिलाको तत्काल मृत्यु हुने जनविश्वासका कारण घैंटो बोकी नाच्ने र गाउने महिला फनफनी नाचिरहेका हुन्छन् । झिझियामा गाइने गीतमा भगवतीको प्रार्थना, बोक्सीलाई गाली तथा सन्ततिको दीघायुको कामना गरिएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment